अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
हरेक देश स्वाधीन र सार्वभौम हुन्छ र हुनुपर्छ । तर, स्वाधीन र सार्वभौम देशलाई साम्राज्यवादी र विस्तारवादी देशहरूले आफ्नो उपनिवेश बनाइराखेका हुन्छन्; आफ्नो अनुकूल चलाइराखेका हुन्छन् । आफ्नो देश अरुको उपनिवेश बन्नुको अर्थ दासता स्वीकार्नु हो । दास मानसिकता रहेसम्म, मुलुक दासी भइरहेसम्म त्यो देशले विकास गर्न सक्दैन; आत्मनिर्भर बनाउन सक्दैन । दासता अन्त्य गर्न सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष गर्न क्रान्तिकारी पार्टीको आवश्यकता हुन्छ । क्रान्तिकारी पार्टी जनतामाझ भिज्नुपर्छ । सच्चा क्रान्तिकारीहरू लोभ र लालचमा फस्दैनन्; फस्नुहुन्न । फेरि क्रान्तिको बाटो सोझो र सजिलो छैन । क्रान्तिकारीहरू पद र पैसाका भोका हुँदैनन् । तिनीहरू जनताका आँखाका नानी हुन् । यस अर्थमा देश र जनताको सेवा गर्ने दलका नेता तथा कार्यकर्ताहरू जनताका प्रिय हुन्छन्; जनताका दुःखसुख बुझ्छन्, दुःखसुख बुझ्न जनतामाझ भिज्छन् । समाज परिवर्तनको निम्ति अघि सरेका कार्यकर्ताहरू व्यक्तिगत र दलगत स्वार्थमा भुल्दैनन् । क्रान्तिकारीहरू आफ्नो मातृभूमिलाई माया गर्छन्; आफ्ना जनताप्रति बफादार हुन्छन् । क्रान्तिकारीहरूको निम्ति व्यक्तिगत स्वार्थ तुच्छ हुन्छ । जो स्वार्थी हुन्छ त्यो क्रान्तिकारी हुनसक्दैन; जो क्रान्तिकारी हुन्छ, त्यो स्वार्थी हुँदैन ।
साधारण जनता आफ्नो कष्टपूर्ण जीवन र दुःखलाई आफ्नो भाग्य सम्झन्छन् । गरिब वा कामदार जनताको शोषण र अन्याय अत्याचारको कारण भाग्य होइन बरु त्यो साम्राज्यवाद, सामन्तवाद र पुँजीवादजस्तो अत्याचारी व्यवस्थाको कारण हुन्छ । क्रान्तिकारीहरू अन्याय, अत्याचारको कारण भनिएको त्यस भाग्यलाई सङ्घर्ष गरेर मेटाउन चाहन्छन् । कम्युनिस्टहरू क्रान्तिकारी हुन्छन्; देशभक्त हुन्छन् । उनीहरू गणतान्त्रिक समाजवादी पक्षधरका हुन्छन् । समाजवादी व्यवस्थामा निःशुल्क स्वास्थ्य र शिक्षाको बन्दोबस्त हुन्छ । गाँस, बास र कपडाको प्रत्याभूति हुन्छ । कम्युनिस्टहरू समाजमा व्याप्त कुसंस्कार, रङ्गभेद र जातिभेदको अन्त्य गरी स्वस्थ र सुसंस्कृत समाज निर्माण गर्न, समाजमा सबैलाई समान अवसर दिन, क्रान्तिकारी भूमिसुधार लागु गर्न, बहुमत मजदुर र किसानको हितमा काम गर्न अघि सर्छन् । परिवर्तन चाहने व्यक्तिहरू चुप लागेर बस्नुको अर्थ समाजलाई अझ पछि पार्नु हो; समाज पछि पर्नुको अर्थ जनताले फेरि दुःख पाइरहनु हो । यसकारण, कम्युनिस्टहरू जहाँ गए पनि जहाँ बसे पनि जनतालाई सुसूचित पार्ने काम गरिरहन्छन्; समाजमा देखिएका समस्या समाधानमा खटिरहन्छन् । शिक्षितहरू क्रियाशील नभएसम्म सुसूचित पार्ने काममा नलागेसम्म समाज पछि परिरहन्छ; जनताले दुःख पाइरहन्छन् । विशेषतः यस कार्यमा कम्युनिस्ट पार्टीका कार्यकर्ता, शिक्षक, सामाजिक कार्यकर्ताहरू अग्रसर भइरहेका हुन्छन् या हुनुपर्छ ।
कार्यकर्ताहरू बिजुली बराबरको काम गर्ने क्षमता हुनुपर्छ । वर्गीय शत्रु र मित्रबारे जनतालाई प्रशिक्षित पार्नुपर्छ । शत्रुले के कस्ता षड्यन्त्र गरिरहेको हुन्छ† कार्यकर्तालाई फसाउन, लोभ्याउन र बिगार्न के कस्ता जाल बुनिरहेको हुन्छ; त्यसबारे जहिल्यै चनाखो भइरहनुपर्छ । शत्रुको जालसाजीपूर्ण कार्यलाई जनतामाझ उदाङ्ग्याउनुपर्छ† अनिमात्र जनतामा राजनीतिक चेतना र सांस्कृतिकस्तर विकास गर्न सकिन्छ । जनतालाई सचेत र सङ्गठित गर्न वैचारिक लडाइँ या द्वन्द्वको आवश्यकता हुन्छ । शत्रुले गर्ने जालासाजीको भण्डाफोर गर्न र हरेक विषयमा कार्यकर्ता र जनतालाई जिम्मेवारीबोध बनाउन हरपल, हरसमय जनताको घर आँगनमा पुग्नुपर्ने शिक्षक, कार्यकर्ता र प्राध्यापकहरू होटेल पसेर, चिया गफमा भुलेर मस्किरहे भने हामीले कसरी आदर्शोन्मुख समाज स्थापना गर्न सकिन्छ ? परिवर्तनकामी शिक्षक र प्राध्यापकहरू विद्यालय र कलेजबाट क्याँट लिएर ह्वीस्कीमा भुलेर, घुमफिर गरेर आनन्दसँग जीवन बिताएर समाज कसरी परिवर्तन हुन्छ ? के मोटो रकम पाउनु नै जीवनको उद्देश्य हो ? के आफ्नो जीवन बनेपछि जनताको जीवनको वास्ता गर्नुपर्दैन ? म खाउँ मै मोज गरुँ अरु दुर्वलहरू सबै मरुन् भन्ने विचार सामन्तवादी विचार हो† त्यसको विरोध गर्नुपर्छ, त्यो घेराबाट मुक्त हुनुपर्छ ।
देश र जनताको इमानदारीपूर्वक सेवा नगर्ने, शोषण, दमन, अन्याय, अत्याचार, हस्तक्षेप, आक्रमणको विरोध नगर्ने, भ्रष्टाचार, अनियमितता गरे पनि मौन बस्ने व्यक्तिहरू परिवर्तनकारी हुनसक्दैनन्† समाजका प्रबुद्ध वर्गमा पर्दैनन् । उच्च शिक्षा हासिल गरेर जनतालाई नबुझाउने दराजभित्र पुस्तक थन्काएर विद्वता छाँट्ने शिक्षक र प्राध्यापकहरू कसरी सचेत वर्गमा पर्छन् ? सरकारको नेतृत्व गर्न पाएपछि, सरकारमा जान पाएपछि कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोड्ने या बेवास्ता गर्ने कम्युनिस्टहरू भनिने पार्टीका नेता, मन्त्री, सांसदहरू र जनताको सेवामा नभिज्ने उच्च शिक्षा हासिल गरेर बुद्धिजीवी र विद्वान ठानेका पढेलेखेकाहरूमा के फरक ? चाकडी चुकडी गरेर बढुवा हुने, ठाउँमा पुगेपछि आफ्ना नजिकका नातेदारहरूलाई काम दिने कार्यले कसरी जनताको सेवा हुन्छ ? हरेक सङ्घ–संस्थामा आफ्नो नातेदार होइन योग्य व्यक्ति छान्नुपर्छ; राख्नुपर्छ । अनि उसले संस्थाको उद्देश्यअनुसार काम गर्छ र जनताको सेवा हुन्छ । जमाना प्रतिस्पर्धाको छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्छ । अतः हामी जहाँ पनि जहिले पनि प्रतिस्पर्धा गर्न सकिने गरी उभिनुपर्छ ।
Leave a Reply