सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
नेपालमा राजनीतिक सरगरमी केही सेलाएको छ । माओवादी नेता प्रचण्डको बहुमतको सरकार एमालेको समर्थन फिर्तासँगै ढल्यो । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । ओली सरकार गठनको पहिलो बैठकको पहिलो निर्णय नै ख्वप विश्वविद्यालयलगायत ३ अन्य विधेयक फिर्ता गर्ने रह्यो । ख्वप विश्वविद्यालयको विधेयक यसरी फिर्ता भएको यो दोस्रोपटक हो । भक्तपुरलाई शैक्षिक ज्ञान विज्ञानको केन्द्र तथा शैक्षिक हबको रूपमा विकास गर्ने भक्तपुरका जनताको आकाङ्क्षामाथि असर परेको छ ।
नेपालको राजनीतिक इतिहासमा देशको आमूल परिवर्तनको उद्देश्य बोकेको कम्युनिस्ट भनिने पार्टीहरूले २०४६ सालपछि पटकपटक सरकार सञ्चालन गरे । अझ आमूल परिवर्तनकै लागि भनी बन्दुक उठाउँदा १७ हजारको ज्यान गयो । तर, प्रचण्ड सरकारले पनि सत्ताको भोग गर्नेबाहेक सिन्को भाँचेन । केपी ओलीको पहिलो भाषणमा सबै नगरपालिकाहरूमा ऋत्भ्ख्त् अन्तर्गतको प्राविधिक स्कुलहरू खोल्ने विषयमा जोड दिइएको थियो । अर्कोतिर, सरकारले तिलगङ्गा आँखा, ख्वप विश्वविद्यालयको टेबुल हुनै लागेको विधेयक फिर्ता लिने पहिलो निर्णय गर्यो । यो भक्तपुरवासीको लागि दुःखद खबर बन्यो । रास्वपाको तर्फबाट शिक्षामन्त्री बनेका सुमना श्रेष्ठले मन्त्रालय सम्हाल्दा केही मानिस उत्साहित भएका थिए । तर, त्यो उहाँको सत्ताबाट बहिर्गमनसँगै पानीको फोका साबित भयो ।
केही दिन पहिले पुष्पलालको जन्मशताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा कसैले नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको, सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने कामसमेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरूले गरेको टिप्पणी सो सभाका वक्ताहरूले गरे ।
केही समयपहिले माओवादी नेता प्रचण्डकै सामुन्ने डा. दीक्षित, डा. सङ्ग्रौलाले नेपालका ‘कम्युनिस्टहरू’ को नाकामीको खिल्ली उडाए । तर, पनि नेपालका कम्युनिस्ट नेताहरूलाई किन लाज लाग्दैन ? सायद यही कारणले गर्दा कामरेड रोहितले नेपालका अन्य कम्युनिस्टहरू भाइकाङ्ग्रेस नै हो भन्नुभएको होला । केपी ओलीको अघिल्लो प्रधानमन्त्रीको कार्यकालमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिइएको थियो । तर, उहाँको समृद्ध नेपाल त झापाको भ्युटावरबाट हेर्दा पनि कहीँ कतै भेटिएन । ओलीले खोजेको समृद्ध नेपालको सपना के शैक्षिक विकासबिना सम्भव छ ? छैन । विभिन्न देशको विकासको इतिहास पढ्ने हो भने पनि शिक्षामा प्रचुर लगानीपछि मात्र सम्भव भएको हामी देख्छौँ । क्युवा, उत्तर कोरिया तथा चीनको विकास आर्थिक–शैक्षिक क्षेत्रमा प्रचुर मात्रामा लगानी गरेपछिको प्रतिफल नै होभन्दा फरक नपर्ला । आइतबार देश जल उत्पन्न प्रकोपले आक्रान्त छ । हामी नेपालीहरूले यसबाट मुक्ति पाउन सकेका छैनन् । यसको सही समाधानको उपाय पत्ता लगाउने भनेकै विश्वविद्यालयका डाक्टर, प्रोफेसर र इन्जिनियरहरूको काम हो । भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत इन्जिनियरहरूबाटै हुनुपर्ने होइन र ? यसको लागि देशमा भएको विश्वविद्यालयहरूलाई नै परिचालन गर्नुपर्ने थियो । पञ्चायतकालमा त्रिभुवन विश्वविद्यालयमा विभिन्न अनुसन्धान कार्यहरू गर्नका लागि अनुसन्धान केन्द्रहरू खोलिएका छन् । तर, पहिलो जनआन्दोलनका सरकारहरूले सत्ताबाहेक अरू कुनै पनि काममा ध्यान दिएनन् । अहिलेसम्मका सरकारहरूले आफ्नो कार्यकर्ताको व्यवस्थापनमा मात्र ध्यान दिइराखेका छन् । कम्युनिस्ट भन्ने सरकारहरूले सबभन्दा पहिले स्वास्थ्य र शैक्षिक विकासमा नै पहिले ध्यान दिनुपर्ने हो । देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्नको लागि योजनाबद्धरूपमा थप विश्वविद्यालयहरू खोल्दै जानुपर्ने हुन्छ । यस्तोमा सरकारले किन के कति कारणले तिलगङ्गा र ख्वप विश्वविद्यालयको विधेयक फिर्ता लिएको हो ? जनतालाई जवाफ दिनुपर्छ । के भक्तपुरले २०४६ सालको जनआन्दोलन र २०६२ सालको जनआन्दोलनमा दिएको योगदानको मूल्याङ्कन यसैलाई मान्नुपर्ने भयो त अब ?
नेमकिपा र भक्तपुरले पञ्चायत कालदेखि नै शिक्षा र स्वास्थ्यमा काम गर्दै आएको थियो । त्यतिबेला महिलाहरूको शैक्षिक स्तर उठाउनका लागि रात्रि प्रौढ कक्षाहरू सञ्चालन गरिएको थियो । स्वास्थ्यमा पनि त्यतिबेलादेखि नै काम गरिएको थियो । पञ्चायत कालमा सरकारले निःशुल्क शिक्षा प्रणाली लागु गर्न नसकेको बेला भक्तपुर नपाले निम्न माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरेको थियो । २०४६ सालको जनआन्दोलनपछिको सरकारले माध्यमिक शिक्षा निःशुल्क गर्यो र सो प्रावधानलाई २०७२ सालपछिको गणतान्त्रिक संविधानमै उल्लेख गरियो । यो भक्तपुरवासीको लागि गर्वको कुरा हो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा भक्तपुरको यो प्रयास चालु नै रहनेछ । भक्तपुर नगरपालिकाले हालसम्म सञ्चालन गरिरहेका कलेजहरूको स्वीकृति पनि सानो सङ्घर्षको प्रतिफल हो । अहिलेसम्म भक्तपुर नगरपालिकाले सञ्चालन गरेका कलेजहरूले प्रदान गर्दै आएको सस्तो र गुणस्तरीय शिक्षाबाट नेपालको ७७ जिल्लामध्ये ७५ जिल्ला लाभान्वित भइरहेका छन् । यसै सिलसिलामा सस्तो र गुणस्तरीय मेडिकल शिक्षा दिन ख्वप विश्वविद्यालय खोल्नका लागि विधेयक स्वीकृतिको माग गर्नु के अपराध हो ? भक्तपुरबाट निर्वाचित सांसद प्रेम सुवालले संसद्मा प्रस्तुत हुन आउने शिक्षासम्बन्धी कुनै पनि विधेयकको सुझावसहित समर्थन गरेकै छ तर ख्वप विश्वविद्यालयको विधेयकदेखि नेपालका कम्युनिस्ट भनाउँदा शासक वर्ग किन यतिविघ्न डराएको होला ?
भक्तपुरले ख्वप विश्वविद्यालय माग्नु मेडिकल स्कुल खोल्नकै लागि मात्र होइन । भक्तपुरले देशको लागि अत्यावश्यक शैक्षिक जनशक्ति उत्पादन गर्नु नै यसको प्रमुख उद्देश्य हो । नेपालका विश्वविद्यालयहरू यतिसम्म निकृष्ट छन् कि अलि बढी विद्यार्थीले माग गरेका बीबीए/एमबीएजस्तो कोर्स कुनै पनि हालतमा आफ्नै मान्छेहरूले सञ्चालन गरेका निजी कलेजलाई बाहेक अरू कलेजहरूलाई सम्बन्धन नै दिँदैनन् । ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेजले वर्षौँदेखि केही नयाँ कार्यक्रम थप गर्ने आवेदन TU/PU मा पेस गरेकोमा अहिलेसम्म सम्बन्धन प्राप्त गर्न सकेको छैन, मानौँ कि त्यो कार्यक्रम उनीहरूकै निजी हो । त्यस्तै ४/५ वर्षमा पूरा हुने कोर्स विश्वविद्यालयको अव्यवस्थितिकै कारणले ५/६/७ वर्षमा पनि पूरा नभएका धेरै उदारहणहरू छन् ।
यसकारण, यी र यस्तै समस्याहरूको समाधानकै लागि ख्वप विश्वविद्यालय विधेयक छिटोभन्दा छिटो स्वीकृति होस् भन्ने भक्तपुरका जनताको चाहना हो । देश र जनताको निःस्वार्थ सेवाबाहेक भक्तपुरको अरू कुनै पनि स्वार्थ छैन । राणा शासनको कालमा मात्र शिक्षामा लगानी नै गरिएन । पद्म शमशेरमात्र शिक्षाप्रति अलि उदार देखिएको थियो । जनताको शिक्षा हासिल गर्ने चाहनालाई थेग्न नसकेर बाध्यताबस खोल्न दिएको त्रिचन्द्र कलेजको शिलान्यास गरेको बेला आफ्नो खुट्टामा आफैले बन्चरोले हानेको चन्द्र शमशेरले दिएको अभिव्यक्ति चर्चाको विषय बनेको थियो । नेपालका कम्युनिस्ट सरकार चन्द्र शमशेरको अर्को अवतार त होइन होला नि ? त्यसैले सरकार मेडिकल माफिया, शैक्षिक बिचौलियाहरूको घेरामा परेर विधेयक स्वीकृति नदिएको भन्ने आरोप लागिरहेको बेलामा ख्वप विश्वविद्यालयको विधेयक पारित गरी उपरोक्त आरोपबाट मुक्त हुने सुअवसर नगुमाउन सल्लाह छ ।
अन्त्यमा केही मननयोग्य उक्तिहरू
१. कुनै देश ध्वस्त पार्न बम नै खसाल्नु पर्दैन, त्यो देशको संस्कृति र शिक्षा व्यवस्थालाई ध्वस्त पारिदिए पुग्छ ।
२. तिमी १ वर्षको लागि सोच्छौ भने व्यापार गर, १० वर्षको लागि सोच्छौ भने रुख रोप, १०० वर्षको लागि सोच्छौ भने शिक्षामा लगानी गर ।
हो, भक्तपुरका जनताले त्यहीँ काम गर्न खोजेका हुन् ।
Leave a Reply