भर्खरै :

कैलालीमा भक्तपुर काण्डको भत्र्सना

कैलालीमा भक्तपुर काण्डको भत्र्सना

कैलाली, ५ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीको आयोजनामा भक्तपुर काण्ड (कालो दिन) को विरोध एवं भत्र्सना गर्दै लम्कीमा प्रशिक्षण कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भक्तपुर काण्ड नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायतले रचेको षड्यन्त्र हो भन्नुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीले भक्तपुरका जनताको निःस्वार्थरूपमा गरेको सेवा पञ्चायतको लागि चुनौती भएको बताउनुभयो ।
उहाँले जनताको मन जित्ने गरी गरेको कामले जनता पञ्चायतको विरोधमा उठ्ने डरले भक्तपुर काण्ड रचेको स्पष्ट पार्दै पार्टी कार्यकर्ताहरू हरेक षड्यन्त्रबाट जोगिनुपर्छ भन्नुभयो । पञ्चायती दमनको कारण पञ्चायत आफै अन्त्य भएको उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गई जनताको सेवा गर्ने उद्देश्यले पञ्चायती निर्वाचनलाई पार्टीले उपयोग गरेको थियो भन्नुभयो । पार्टीका जनप्रतिनिधिले गरेको उदाहरणीय कामबाट तर्सेर पञ्चायती शासकहरूले नेमकिपालाई शत्रुको रूपमा हेरेको धारणा उहाँले राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टीलाई समाप्त पार्न ह्योजुलाई पञ्चायतले बलिको बोका बनाएको उहाँले प्रस्ट पार्नुभयो ।
नेमकिपालाई समाप्त पार्न पञ्चायतले रचेको षड्यन्त्रजस्तै सरकारकै मान्छेले जर्मनीको संसद् भवन राइखस्टागमा नाजीद्वारा आगो लगाई दोष कम्युनिस्टलाई दिएको स्मरण पनि उहाँले उल्लेख गर्नुभयो ।
सभापतिको आसनबाट लक्ष्मी पुनले भक्तपुर काण्डमा जेल परेका पार्टी अग्रज, नेता र कार्यकर्ताको रिहाइ गर्न सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा गुप्तबहादुर शाही, तारा तिरुवा, हरिकला विष्ट, देवीसरा अधिकारी, कृष्णाकला शाही, राधिका अधिकारी र जानकी शाहीले पनि भक्तपुर काण्डको विरोध एवं भत्र्सना गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *