भर्खरै :

चिली घटना विवरण १९७०–७३

चिली घटना विवरण १९७०–७३

सन् १९७०
मार्च २५
संरा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का निर्देशक हेनरी किसिङ्गरको नेतृत्वमा चिलीमा एयेन्डेलाई राष्ट्रपति नबनाउने अथवा कदाचित बनिहाले त्यसलाई असफल बनाउन राष्ट्रपति कार्यालयले एउटा समिति गठन गरेको थियो । त्यो समिति ‘कमिटी अफ ४०’ नामले चिनिन्थ्यो । त्यसको मुख्य लक्ष्य कदाचित एयेन्डे राष्ट्रपति बनिहाले सैनिक विद्रोहबाट नफालिएसम्म चिलीमा अस्थिरता कायम राख्ने थियो । मार्च २५ मा ‘कमिटी अफ ४०’ को बैठक बसी एयेन्डेको पपुलर युनिटी कोलेसनविरुद्ध ‘बिगार्ने कारबाही’ को लागि १ लाख २५ हजार अमेरिकी डलर बराबरको बजेट विनियोजन ग¥यो ।
जून – ‘कमिटी अफ ४०’ को बैठकमा किसिङ्गरले चिलीको चुनावमा कदाचित एयेन्डे जिते ‘कुनै देशका जनताको गैरजिम्मेवारीका कारण त्यो देश कम्युनिस्टको पोल्टामा परेको हामीलाई टुलुटुलु हेरिरहन के खाँचो’ भनी बोले । चिलीमा एयेन्डेको विजय हुने सम्भावनाबारे अन्तर्राष्ट्रिय टेलिफोन तथा टेलिग्राफ बोर्ड (आईटीटी) का निर्देशकहरूको बैठकसम्म पुगिसकेको थियो । अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) का पूर्वप्रमुख, त्यतिबेला सीआईएका सल्लाहकार तथा आईटीटीका निर्देशक जोन मेकोनले चिलीको विषयमा सीआईएका निर्देशक रिचर्ड हेम्ससँगबश कुराकानी गरेका थिए । सन् १९७० को हेम्सको नोटमा चिलीमा आर्थिक सङ्कुचनले त्यहाँको अर्थतन्त्र ‘आहत’ मा पुग्ने उल्लेख थियो ।
जून २७ – ‘कमिटी अफ ४०’ ले एयेन्डेविरोधी प्रचारबाजीको लागि थप ३ लाख अमेरिकी डलरको बजेट निकासा ग¥यो ।
जुलाई १६ – जोन मेकोनले सीआईएका विलियम ब्रोइ र आईटीटीका हेरोल्ड जिनिनबिच भेटवार्ताको प्रबन्ध मिलाए । भेटमा ब्रोइले जिनिनलाई सीआईएले आईटीटीको बजेट खर्च गर्न नमिल्ने बरू आईटीटीसँग भएको पैसा कसरी खर्च गर्ने भन्ने विषयमा सल्लाह दिन सक्ने बताए । पछि आईटीटीले ३ लाख ५० हजार अमेरिकी डलर एयेन्डेका प्रमुख राजनीतिक विपक्षी उम्मेदवार जोर्ज एलेसान्द्रीको प्रचार अभियानमा एउटा बिचको माध्यममार्फत प्रदान गर्यो ।
अगस्ट १८ – संरा अमेरिकाको राष्ट्रिय सुरक्षा अध्ययनपत्र (एनएसएसएम) ९७ को अन्तरविभागीय समूहले समीक्षा गर्यो । त्यसमा एयेन्डेसँग सौहार्दपूर्ण सम्बन्ध विकास गर्नेदेखि उनको विरोधमा उभिने सम्मका विकल्पबारे उल्लेख थियो ।
सेप्टेम्बर ४ – चिलीमा पपुलर युनिटीका राष्ट्रपति उम्मेदवार साल्भाडोर एयेन्डेले ३६.३ प्रतिशत मत पाएर चुनाव जिते । नेसनल पार्टीका उम्मेदवार एलेसान्द्रीले ३४.९ प्रतिशत, क्रिस्चियन डेमोक्रेट राडोमिरो टोमिकले २७.८ प्रतिशत मत प्राप्त गरे । अक्टोबर २४ मा कङ्ग्रेसमा हुने एयेन्डे र उनका प्रमुख प्रतिद्वन्द्वी एलेसान्द्रीबिचको मतदानले अन्तिम टुङ्गो लगाउने थियो । कङ्ग्रेसमा जुन उम्मेदवारले बढी मत देखाउन सक्थ्यो, उसले चुनाव जित्थ्यो ।
सेप्टेम्बर ८ र १५ – ‘कमिटी अफ ४०’ ले अक्टोबर २४ मा कङ्ग्रेसमा हुने मतदान प्रभावित गर्न संरा अमेरिकी राजदूत कोरीमार्फत २ लाख ५० हजार बराबरको अमेरिकी डलर निकासा ग¥यो ।
सेप्टेम्बर ९ – आईटीटीका प्रमुख कार्यकारी अधिकारी हेरोल्ड जिनिनले आईटीटीको निर्देशक समितिको न्यु योर्कमा बसेको बैठकमा जोन मेकोनलाई चिलीको राष्ट्रपति ऐलेन्डे हुन रोक्न चिली कङ्ग्रेसका मोर्चाबन्दीको लागि संरा अमेरिकी सरकारले बनाउने कुनै पनि योजनाको लागि १० लाख अमेरिकी डलर सहयोग गर्न तयार रहेको बताए । मेकोनले उनको सो कुरा वासिङ्टनका माथिल्ला अधिकारीसमक्ष पु¥याउने र केही दिनभित्रै हेनरी किसिङ्गर र रिचर्ड हेम्ससँग भेट्ने निधो गरे ।
सेप्टेम्बर १५ – संरा अमेरिकी राष्ट्रपति निक्सनले सीआईएका निर्देशक हेम्सलाई चिलीको राष्ट्रपति पदमा एयेन्डेको आरोहण रोक्न निर्देशन दिए । पछि सीआईए चिलीको सैनिक विद्रोहमा प्रत्यक्ष संलग्न भयो । उसको संलग्नतालाई ट्रयाक २ नाम दिइएको थियो । वर्षौँपछि हेम्सले संरा अमेरिकाको सिनेटसमक्ष सीआईएले स्वदेश र विदेशमा नक्कली आवरणमा गरिरहेका गतिविधिबारे झूट बोलेको स्वीकारे ।
सेप्टेम्बर १६ – अमेरिकी राष्ट्रपति कार्यालयमा आयोजित कुनै रेकर्ड नराखिएको पत्रकार भेटघाटमा हेनरी किसिङ्गरले निर्वाचनमा एयेन्डे निर्वाचित भए उनको शासन स्थायी हुन सक्ने र त्यस उदाहरण दक्षिण अमेरिकाका नाटो सहयोगी देशहरूमा समेत फैलिन सक्ने बताए । उनले एयेन्डे निर्वाचित भएपछि अर्को निष्पक्ष चुनाव हुन सक्नेमा नै आशङ्का व्यक्त गरे । (किसिङ्गरका एक जना पूर्व सहयोगीले पछि भने, “ल्याटिन अमेरिकामा एयेन्डेले नेतृत्व गर्नसके संरा अमेरिकाविरोधी आन्दोलन फिडेल क्यास्ट्रोले नेतृत्व गरेको आन्दोलनभन्दा प्रभावकारी हुन सक्ने हेनरीको मत थियो किनभने एयेन्डे प्रजातान्त्रिक तरिकाबाट सत्तासीन भएका थिए ।”)
सेप्टेम्बर २९ – रिचर्ड हेम्सको निर्देशनमा सीआईएका एक अधिकारीले आईटीटीका एक प्रतिनिधिसँग भेटे । सीआईए अधिकारीले चिलीमा आर्थिक विषमता फैलाउने योजनाको प्रस्ताव गरे । आईटीटीले सीआईएको सो प्रस्ताव अस्वीकार गर्यो ।
अक्टोबर – संरा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको एउटा बैठकपछि सीआईएले चिलीका सैनिक षड्यन्त्रकारीहरूसँग भेट्यो । सीआईएले अवकाश प्राप्त जनरल भक्सले अघि सारेको षड्यन्त्र निस्क्रिय बनाउन प्रयास गर्यो । तर, त्यसो गर्नुको मूल ध्येय पनि सैनिक विद्रोहबाट एयेन्डेलाई सत्ताच्युत गर्न थप दबाब सिर्जना गर्नु नै थियो । सीआईएले षड्यन्त्रमा लागेका अधिकारीहरूलाई अश्रुग्यासका ग्रिनेड र तीन वटा सब मेसिनगन प्रदान गर्यो । आईटीटीले ह्वाइट हाउससमक्ष एयेन्डेको सरकार ६ महिनाभन्दा बढी नटिकोस् भनेर १८ बुँदे योजनाको प्रस्ताव पेस ग¥यो ।
अक्टोबर ९ – चिलीको कङ्ग्रेसमा संविधान संशोधन प्रस्ताव पेस गरियो । एयेन्डेलाई राष्ट्रपतिको मान्यता दिन सो प्रस्ताव पारित गर्नुपर्ने सर्त राखियो । पछि सो प्रस्ताव पारित गरियो । संविधानको सो संशोधन प्रस्तावले राजनीतिक दल, शिक्षा, ‘स्वतन्त्र प्रेस’ र सेनामा सरकारी नियन्त्रण सीमित गरियो । सेनाको सेनापति नियुक्तिमा एयेन्डेको अधिकार कटौती गरियो । तथापि, सेना र सशस्त्र प्रहरीका अधिकारीहरूको बढुवा गर्न सक्ने अधिकार भने कायम राखियो । एयेन्डेलाई अघिका सबै सरकारका निकायमा काम गर्ने कर्मचारी निकाल्न नपाउने गरी बन्देज लगाइयो ।
अक्टोबर १४ – ‘कमिटी अफ ४०’ ले रेडियो स्टेसन खरिद गर्ने संरा अमेरिकी राजदूत कोरीको प्रस्ताव कार्यान्वयनको लागि ६० हजार अमेरिकी डलर प्रदान ग¥यो । तर, त्यो पैसा कहिल्यै त्यसको निम्ति खर्च गरिएन ।
अक्टोबर १६ – सीआईएको मुख्यालयबाट सान्टियागोस्थित आफ्नो चौकीमा पठाएको गोप्य पत्राचार (जो पछि सार्वजनिक भयो) ले अर्को आवरणमा बुनिएको षड्यन्त्रमाथि किसिङ्गरको भनाइमा आधारित ‘कार्यमूलक निर्देशिका’ समावेश थियो । परिपत्रमा लेखिएको थियो, “एयेन्डेलाई कुनै सत्ताविप्लवमार्फत पदच्युत गर्ने दृढ र अविछिन्न नीति हो ।”
अक्टोबर २२ – अक्टोबर १९ र २० मा चिली सेनाका प्रधानसेनापति रेने स्वनिडरको अपहरण गर्ने प्रयास भएको थियो । तर, त्यतिबेला दुवैपटक प्रयास सफल भएन । अक्टोबर २२ को दिन त्यस्तै एउटा प्रयासको सिलसिलामा उनको हत्या नै गरियो । एयेन्डेविरूद्ध सैनिक कारबाही गर्न असफल भएको भन्दै दक्षिणपन्थी शक्तिले उनीमाथि रिस पोखेको भनी प्रचार गरियो ।
अक्टोबर २४ – चिलीको कङ्ग्रेसमा भएको मतदानमा एलेसान्द्रीमाथि एयेन्डेले विजय हासिल गरे । एयेन्डेको पक्षमा १५३ मत खस्यो भने एलेसान्द्रीको पक्षमा ३५ मत खस्यो ।
नोभेम्बर ३ – एयेन्डे औपचारिकरूपमा चिलीका राष्ट्रपति बने ।
नोभेम्बर १२ – एयेन्डेले क्युवासँगको कूटनीतिक, व्यापारिक र सांस्कृतिक सम्बन्ध पुनः स्थापना गर्ने घोषणा गरे ।
नोभेम्बर १३ – क्रिस्चियन डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूलाई ‘कमिटी अफ ४०’ ले २५ हजार अमेरिकी डलर दियो ।
नोभेम्बर १९ – ‘कमिटी अफ ४०’ ले चिलीमा गोप्य कारबाही सञ्चालनको लागि ७ लाख २५ हजार अमेरिकी डलर बराबरको बजेट स्वीकृत गर्यो । सन् १९७१ को जनवरी २८ मा सो स्वीकृति फिर्ता गरेर त्योभन्दा दोब्बर रकमको बजेट स्वीकृत गर्ने निर्णय गर्यो ।
डिसेम्बर २१ – राष्ट्रपति एयेन्डेले चिलीमा भएका सबै ठुलठुला खानीमाथि राज्यको नियन्त्रण गर्ने र सबै विदेशी कम्पनीका सम्पत्ति पनि राज्यले लिने प्रस्तावसहितको संविधान संशोधन प्रस्ताव गरे । चुनावी अभियानमा एयेन्डे र क्रिस्चियन डेमोक्रेटिक पार्टीका उम्मेदवार टोमिक दुवैले चिलीका सबै तामाखानी राष्ट्रियकरण गर्ने जनतालाई आश्वासन दिएका थिए ।
डिसेम्बर ३० – राष्ट्रपति एयेन्डेले ‘साना तथा मध्यम आकारका व्यापार व्यवसायलाई थप ऋण प्रदान गर्न’ चिलीका सबै निजी बैङ्कको राष्ट्रियकरण गर्न संसद्मा विधेयक प्रस्तुत गर्ने घोषणा गरे ।
सन् १९७१
जनवरी ५ – चिलीले जनवादी गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्धको स्थापना गर्यो ।
जनवरी २८ – ‘कमिटी अफ ४०’ ले रेडियो स्टेसन तथा अखबार खरिद गर्न र स्थानीय पालिका चुनावमा एयेन्डेविरोधी पार्टीहरूका उम्मेदवार एवम् तिनका गतिविधिको लागि खर्च गर्न १२ लाख ४० हजार अमेरिकी डलर बजेट स्वीकृत गर्यो ।
फेब्रुअरी १२ – चिली र चीनबिच २ करोड अमेरिकी डलर बराबरको व्यापार सम्झौता भयो ।
फेब्रुअरी २७ – संरा अमेरिकी रक्षा विभागले ‘इन्टरप्राइज’ नामको आणविक हतियार बोक्ने अमेरिकी पानी जहाज चिलीमा लाने पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्यो । त्यसअघि एयेन्डेले सो भ्रमणको स्वागत गरेका थिए । चिलीका सबै राजनीतिक दलले रक्षा विभागको सो निर्णयले चिलीका जनताको अपमान भएको बताए ।
मार्च २२ – ‘कमिटी अफ ४०’ ले क्रिस्चियन डेमोक्रेटिक पार्टीलाई थप १ लाख ८५ हजार अमेरिकी डलर बराबरको सहयोग गर्यो ।
अप्रिल ४ – एयेन्डेको पपुलर युनिटी कोलेसनले २८० वटा स्थानीय पालिकामा भएको निर्वाचनमा ४९.७ प्रतिशत मत हासिल ग¥यो । चिलीको इतिहासमा पहिलोपटक १८ देखि २१ वर्षका युवाले पनि मतदान गरे । यो उमेर समूहका युवाको समर्थनको कारण पपुलर युनिटीले भारी मतान्तरका साथ विजय हासिल गरेको थियो । सीआईएको पैसाले चालेको फासीवादी समूह ‘होमल्यान्ड एन्ड लिबर्टी’ ले चिलीलाई आर्थिकरूपमा कमजोर बनाउन कलकारखाना बन्द गराउने खालका गतिविधि बढायो ।
मे १० – ‘कमिटी अफ ४०’ ले क्रिस्चियन डेमोक्रेटिक पार्टीको पत्रिका चलाउन प्रेस किन्न ७७ हजार अमेरिकी डलर प्रदान गयो । त्यो पैसाबाट प्रेस त स्थापना भएन । पत्रिका सञ्चालनको निम्ति त्यो पैसा भने खर्च गरियो ।
मे २० – ‘कमिटी अफ ४०’ ले क्रिस्चियन डेमोक्रेटिक पार्टीको अल्पकालीन ऋण चुक्ता गर्न आपत्कालीन सहायता स्वरूप १ लाख अमेरिकी डलर प्रदान गयो ।
मे २६ – ‘कमिटी अफ ४०’ ले क्रिस्चियन डेमोक्रेटिक पार्टीको ऋण चुक्ता गर्न थप १ लाख ५० हजार अमेरिकी डलर सहायता प्रदान गर्यो ।
जून ३० – संरा अमेरिकी विदेश विभागले सैनिक सामग्री खरिदको लागि चिलीको सशस्त्र बललाई ५० लाख अमेरिकी डलर ऋण सहायता घोषणा गर्यो ।
जुलाई ६ – ‘कमिटी अफ ४०’ ले चिलीको एउटा मध्यावधि निर्वाचनको लागि विपक्षी दललाई १ लाख ५० हजार अमेरिकी डलर सहायता प्रदान गर्यो ।
जुलाई ११ – चिलीको संसद्को संयुक्त बैठकले तामाका खानी र विदेशी मुद्राको चार खण्डको तीन खण्ड राष्ट्रियकरण गर्ने प्रस्तावसहितको संविधान संशोधन प्रस्ताव एकमतले पारित गर्यो । संविधान संशोधनले तामा कम्पनीहरूलाई तीस वर्षभित्र कम्तीमा ३ प्रतिशतले नबढ्ने गरी क्षतिपूर्ति दिने घोषणा गर्यो । तामा, फलाम, इस्पात र नाइट्रेटका खानी पनि राष्ट्रियकरण गरियो ।
अगस्ट ११ – चिलीले २ करोड १० लाख अमेरिकी डलर ऋण दिन र चिलीको राष्ट्रिय एलएएन–चिली विमानसेवाको लागि तीन वटा जेट विमान खरिदको लागि ऋण जमानी बन्न द एक्सपोर्ट–इन्पोर्ट बैङ्कलाई गरेको आग्रह अस्वीकार गरियो ।
सेप्टेम्बर – चिलीका प्रमुख विदेशी कम्पनीहरू जस्तैः– एनाकोन्डा कपर, फोर्ड मोटर कम्पनी, फस्र्ट नेसनल सिटी बैङ्क, बैङ्क अफ अमेरिका, रालस्टोन पुरिना र आईटीटीका प्रमुखहरूले संरा अमेरिकाका विदेश सचिव विलियम रोजर्ससँग भेटे । सो भेटघाटमा चिलीमाथि आर्थिक नाकाबन्दी थोपर्ने निर्णय भयो । चिलीको राजधानी सान्टियागोस्थित संरा अमेरिकी राजदूतावासमा सीआईएले ‘सत्ताविप्लवको तयारी गर्ने टीम’ गठन गयो । अमेरिकाले चिलीका दक्षिणपन्थी समूह, अखबार, रेडियो स्टेसन र राजनीतिक नेताहरूलाई लाखौँ लाख डलर खर्च गर्यो । चिलीमा अस्थिरता फैलाउने नै उनीहरूको मूल ध्येय थियो ।
सेप्टेम्बर ९ – ‘कमिटी अफ ४०’ ले सान्टियागोको प्रमुख अखबार ‘इल मर्करिओ’ लाई ७ लाख अमेरिकी डलर बराबरको सहायता दिएको थियो । चिली सरकारविरूद्ध काम गराउन नै त्यो पत्रिकालाई उक्त सहयोग गरेको थियो । सैनिक सत्ताविप्लवमा सहयोग गर्ने सर्तमा ‘इल मर्करिओ’ लाई त्यो सहयोग गरिएको थियो ।
सेप्टेम्बर १० – राष्ट्रपति एयेन्डेले संरा अमेरिका र ल्याटिन अमेरिकाका अरू धेरै देशहरूसँग संयुक्त सैन्य अभ्यासमा चिली सहभागी बन्ने निर्णय गरे ।
सेप्टेम्बर २८ – राष्ट्रियकरण गर्नुअघि चिलीका तामा कम्पनीहरूले पछिल्ला पन्ध्र वर्षमा कमाएका ७७ करोड ४० लाख अमेरिकी डलर मुनाफा तिनलाई राष्ट्रियकरण गरेबापतको क्षतिपूर्तिमा कट्टा गरेर दिने घोषणा राष्ट्रपति एयेन्डेले गरे । यसअघि सोभियत र फ्रान्सेली प्राविधिक र अर्थशास्त्रीहरूले विदेशी तामा कम्पनीहरूले गरेका विभिन्न घोटालाबारे खुलासा गरेका थिए । अक्टोबर महिनाको मध्यतिर एयेन्डेको क्षतिपूर्ति नीतिप्रति विपक्षी क्रिस्चियन डेमोक्रेटिक पार्टी र नेसनल पार्टीले समर्थन गरेका थिए ।
सेप्टेम्बर २९ – चिली सरकारले चिली टेलिफोन कम्पनीको काम पुनः सुचारू गर्यो । सन् १९३० देखि सो कम्पनीबाट आईटीटीले ७० प्रतिशत ब्याज उठाउँदै आएको थियो ।
सेप्टेम्बर २९ – चिलीको लागि संरा अमेरिकी राजदूतमा एड्वार्ड कोरीको ठाउँमा नथानिएल डेभिस नियुक्त भइन् ।
नोभेम्बर ५ – ‘कमिटी अफ ४०’ ले पपुलर युनिटी कोलेसनमा विभाजन ल्याउन र विपक्षी दलहरूलाई सहयोग गर्न ८ लाख १५ हजार अमेरिकी डलर बजेट निकासा ग¥यो ।
नोभेम्बर १० – डिसेम्बर ४ फिडेल क्यास्ट्रोले चिलीको सद्भावना भ्रमण गरे ।
नोभेम्बर ३० – ल्याटिन अमेरिकाको भ्रमणपश्चात् ह्वाइट हाउसका सञ्चार निर्देशक हर्बट जी. क्लिनले पत्रकारहरूसमक्ष आफू र राष्ट्रपतिका सल्लाहकार रोबर्ट एच. फिन्चलाई एयेन्डेको सरकार ‘लामो समय नरहने’ ‘अनुभूति’ भएको बताए ।
डिसेम्बर १ – क्रिस्चियन डेमोक्रेटिक पार्टी र नेसनल पार्टीसम्बद्ध महिलाहरूले खाद्य पदार्थको अभाव तथा फिडेल क्यास्ट्रोको चिली भ्रमणको विरोधमा ‘रित्तो भाँडो जुलुस’ गरे ।
डिसेम्बर १५ – ‘कमिटी अफ ४०’ ले सन् १९७२ को जनवरीमा हुने मध्यावधि निर्वाचनमा विपक्षी दलका उम्मेदवारहरूलाई सहयोग गर्न १ लाख ६० हजार अमेरिकी डलर सहायता ग¥यो ।

स्रोत : चिलीमा फासीवादको प्रतिरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *