भर्खरै :

‘भ्रष्टाचारविरोधी अभियानमा विद्यार्थीहरूको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

‘भ्रष्टाचारविरोधी अभियानमा विद्यार्थीहरूको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिका वडा नं ५ को आयोजनामा शुक्रबार ‘भ्रष्टाचारविरोधी अभियानमा विद्यार्थीहरूको भूमिका’ विषयक माध्यामिक तहस्तरीय (कक्षा ९ देखि १२) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।
सो कार्यक्रमका सभापति एवं वडा ५ का वडाअध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नगरपालिका ‘सदाचारको टापुको’ अथवा भ्रष्टाचाररहित संस्थाको रूपमा परिचित हुँदै आएको चर्चा गर्नुभयो ।
यस्तो हुनुमा नेपाल मजदुर किसान पार्टीको भ्रष्टाचारप्रतिको शून्य सहनशीलता र आजभन्दा करिब ५०/६० वर्ष पहिलेदेखि नै भ्रष्टाचारविरोधी आन्दोलनको सुरुवातको परम्पराको ठुलो भूमिका रहेको तथ्य उहाँले बताउनुभयो ।
कार्यक्रममा आर्दशआजाद माविका प्रधानाध्यापक श्रीकृष्ण किसिले सामान्यरूपमा विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने भाष्य गतल भएको बताउँदै खराब, भ्रष्टाचारी र जनताविरोधी नेता र पार्टीको पछि लाग्नु गलत हो तर देश र जनताको पक्षका लाग्न कसैले नरोक्ने बताउनुभयो ।
उक्त प्रतियोगितामा बासु माविका प्रतिक्षा शाही (कक्षा १०) प्रथम, वागीश्वरी माविका आस्था गुमाजु (कक्षा ११) द्वितीय, एभरेष्ट माविका सिल्भिया खड्का (कक्षा ९) तृतीय र सैनिक माविका उत्सव आचार्य (कक्षा १२) ले सान्त्वना पुरस्कार पाउने घोषणा निर्णायक मण्डलका तर्फबाट आशाकुमार चिकंबन्जारले गर्नुभयो ।
निर्णायक मण्डलका अन्य सदस्यहरूमा बिमल प्रधान र रुपकेशरी उलक हुनुहुन्थ्यो ।
कार्यक्रमका लागि सहयोग गर्ने सबै पक्ष निर्णायक मण्डल, स्थान उपलब्ध गराउने आदर्श आजाद स्कूल, वडा कार्यालयका सबै कर्मचारीहरूलगायत सबैलाई धन्यवाद दिँदै जनप्रतिनिधि नारायणप्रसाद त्वाताबासुले पुरस्कार वितरण कार्यक्रम केही दिनपछि हुने जानकारी गराउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि कृष्णप्यारी भूजु एवं रीता फसिकवा पनि उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन लक्ष्मीसुन्दर सुवालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *