भर्खरै :

रामबिन्दु श्रेष्ठको “सोभियत सम्झनाहरू” हेर्दा

रामबिन्दु श्रेष्ठको “सोभियत सम्झनाहरू” हेर्दा

एक–दुई वर्षदेखि कहिलेकाहीँ पूर्व सोभियत सङ्घ र अन्तर्राष्ट्रिय विषयमा लेख्ने रामबिन्दु श्रेष्ठका २०७९ कार्तिकमा प्रकाशित ‘मेरा सोभियत सम्झनाहरू’ ले पनि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा नाटो देशहरूले युक्रेनको वर्तमान सरकारको काँधमा बन्दुक बिसाएर १५ टुक्रामा विभाजित गराइएका पूर्वसोभियत सङ्घको रुसी महासङ्घमाथि गरेको आक्रमणको विरोधमा रुसले गरेको प्रत्याक्रमणपछि पुनः एकचोटि पूर्व सोभियत सङ्घ र त्यसका टुक्रिएका गणराज्यहरूबारे चर्चा हुँदै छ ।
२५२ पृष्ठको आफ्नो ‘सोभियत सम्झनाहरू’ ४२ शीर्षकमा विभाजित छ । ७ सेप्टेम्बर १९८५ मा रुसमा अध्ययनको निम्ति प्रस्थान गरे तथा १३ सेप्टेम्बर १९८५ मा रुसी भाषाको कक्षामा बसे । यो ३९ वर्ष पहिलेको विद्यार्थी कालको सोभियत सङ्घमा इन्जिनियरिङ अध्ययनको बेलाका दैनिकीभन्दा विस्तृतरूपले हरेक वर्षका अनुभवहरू हुन् । त्यस अनुभवमा सोभियत सङ्घको सोभियत शिक्षा, प्राध्यापकहरूको आ–आफ्ना विषयप्रतिको गहिराइ र विद्यार्थीहरूप्रतिको सद्भावना र शिक्षण कलाबारे पर्याप्त बयान गरिएको छ ।
रुसी भाषाका कक्षाहरूमा बस्दाको बयानमा लेखक श्रेष्ठले रुसी र नेपाली भाषा लेखेर रुसी भाषाका शब्दहरूबारे जानकारी दिएर सा¥है रमाइलो बनाए – पुस्तकलाई ! लेखकले सोभियत सङ्घकै अनेक गणतन्त्रहरूको भ्रमण, छिमेकी समाजवादी देशहरू समाजवादी जर्मनी (पूर्वी जर्मनी) चेकोस्लाभिया, अल्बानिया, युगोस्लाभिया, युक्रेन, बेलारुस, इस्टोनिया, पोल्यान्ड र पुँजीवादी पूर्वी युरोपेली देशहरू पश्चिम जर्मनी, फ्रान्स, बेलायत आदिका भ्रमण र समाजवादी समाज र पुँजीवादी समाजको भिन्नतालाई ठाउँठाउँ र अनेक विषयमा तुलना गरेका छन् । १७ जून, १९९१ अर्थात् ६ वर्षपछि ‘थेसिस लेख्ने’ ‘डिप्लो डिफेन्स’ वा रुसी भाषामा ‘डिप्लोम्नाया राबोता’ मा राम्रो परिणाम आउँदा विद्यार्थी साथीहरूमाझ खुसी उत्साहपूर्वक मनाएको उल्लेख छ ।
सम्झनाहरूमा लेखकले टोल, छिमेक र जिल्लाका नातागोताको नाम, सोभियत सङ्घमा बस्दाका ठाउँठाउँका र भ्रमणमा गएका नेपाली साथीहरूको नामहरू उल्लेख गरेर साँच्चै सम्झनाका सूची लेखेर युवा साथीहरूको याद राख्ने एक मेसो बनाउनु राम्रो काम हो । पुस्तकका अनेक शीर्षक र विषयमा बयान गर्दा रुसी भाषाको अर्थ र नेपाली भाषासँग दाँज्नु पनि रमाइलै विषय हो । आफू गएका सोभियत नगर, विश्वविद्यालय, विदेश भ्रमण, कक्षाकोठा, सामूहिक गतिविधिका बारेमा सोभियत वीरहरू, प्राध्यापक र साथीहरूका तस्बिरहरू स–साना आकारको राखे पनि सान्दर्भिक छ । बिचबिचमा लेखकले कवितामा आफ्ना भावना पोख्नु पनि युवा अवस्थाको एक सुन्दर लक्षण नै मान्नुपर्छ । मायाभस्की, टलस्टाए, ओस्ट्रोवस्की र अन्य लेखक, कवि र कलाकारहरूबारे बयान गरेर पाठकहरूलाई जानकारी दिनु सन्तोष लाग्ने विषय हो । रुसको मेट्रोको बन्दोबस्तबारे गरिएको बयान अत्यन्त उपयुक्त हो ।
सम्झनाको बिचबिचमा सोभियत सङ्घका उत्सवहरू नयाँ प्रविधिहरूको प्रयोग औद्योगिक प्रगति, १९३० मै गहँु काट्ने, खोस्टा फाल्ने र गहुँ अर्कै ट्याक्टरमा गएर खस्ने प्रविधिको प्रयोगजस्ता प्रगति समाजवादी क्रान्तिको १३ वर्षपछि नै देखिएको उल्लेख छ । (नेपालमा समाजवादी मानिने नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टी भनिने – एमाले, एमाओवादी आदिले बारम्बार सरकारको नेतृत्व गरेर के गरे भन्ने सम्झना पाठकहरूलाई पुस्तकले दियो !) ८ डिसेम्बर, १९९१ मा सोभियत सङ्घका गणतन्त्र टुक्राउन सुरु भयो र २६ डिसेम्बर १९९१ मा सोभियत सङ्घ समाप्त भएको वा समाजवादको अन्त भएको घोषणा भएको थियो । त्यसपछि रूस एक शक्तिशाली देशको सुरुको बर्बादी वर्णन पुस्तकमा छ ।
२८ वर्षपछि अर्थात् २०१९ अक्टोबरमा लेखक पुनः रुसको भ्रमणमा जाँदा ३३– ३४ वर्ष अगाडिको रूसको तुलना गर्दा लेखक स्तब्ध देखिए ।
तर, लेखकमा युवा अवस्थामा सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्शेविक) को इतिहास समाजवादी क्रान्तिहरू, संशोधनवाद, समाजवादको पुनः स्थापना आदिबारे सैद्धान्तिक जानकारी भएको भए अझ धेरै सोभियत सङ्घको पतन र समाजवादको अस्थायी हारबारे उनले लेख्ने थिए । धेरै विद्यार्थी र बुद्धिजीवीहरूले सोभियत सङ्घको भ्रमण र अध्ययन गरेको हेर्दा १०० जना मध्ये २ जनाले पनि सोभियत सङ्घको बारेमा पुस्तक लेखेको वा आफ्ना अनुभवहरू लेखेको देखिएन । यस अर्थमा रामबिन्दु श्रेष्ठलाई जरुरै धन्यवाद दिनुपर्छ । नेपाली साहित्यमा एउटा पुस्तक भए पनि प्रदान गरेर उनले पाठकहरूलाई पढ्ने सामग्री जुटाइदिने काम गरे ।
तर, पढ्दै जाँदा यदाकदा ‘सानदार दन्त्यकथा’, ‘तोड–मरोड, नजरअन्दाज, लुगलुग कम्पायो, अनदेखि’, ‘मस्तीले मस्को टहलीए पछि’ जस्ता शब्द र वाक्यांश पढ्दा लेखकलाई कुन भाषाले बढी प्रभाव पार्यो भन्न गा¥हो देखिन्छ । त्यस्तै, हरेक देश र ठाउँका खाना र परिकारबारेको बयानले विदेश नगएका हामी नेपालीहरूलाई एकातिर जानकारी प्राप्त हुनेछ भने प्रौढहरू र विदेश आवतजावत गर्नेहरूलाई नौलो विषय लाग्ने छैन ।
एक दुई वर्षदेखि रामबिन्दु श्रेष्ठले रुस र अन्तर्राष्ट्रिय मामिलाका बारे कलम चलाइरहनु स्वयं एक सहराहनीय विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *