भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजमा शैक्षिक प्रदर्शनी

ख्वप इन्जिनियरिङ कलेजमा शैक्षिक प्रदर्शनी

भक्तपुर, १० भदौ । ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा चौँथो वर्षका विद्यार्थीहरूको प्रोजेक्ट र पाँचौँ वर्षका विद्यार्थीहरूको थेसिसको एकदिने शैक्षिक प्रदर्शनी एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कलेजको बारेमा अरू वरिष्ठ व्यक्तित्वहरूबाट बौद्धिक र राजनैतिकरूपले मूल्याङ्कन भइरहेको बताउँदै विद्यार्थीहरूले कलेजको उचाइलाई अझ बढाउनु अनुशासित र लगनशील भएर आ–आफ्नो जिम्मेवारी पूरा गर्न लागिपर्न आग्रह गर्नुभयो ।
वास्तुकलाको केन्द्र भक्तपुरमा पढ्नेहरूको ज्ञान अझ स्तरीय बनाउनु आवश्यक भएको चर्चा गर्दै उहाँले काम गर्दा दुःखकष्ट हुन्छ भनेर चिन्ता लिनु हुन्न, मेहनतको फल पाइन्छ र आफ्नो स्वाभिमान जोगिन्छ भन्नुभयो ।
हेलाहोचो भएको भक्तपुर आज प्रतिष्ठाको केन्द्र बन्दै गएको बताउँदै अतिथि प्रजापतिले भ्रष्टाचारको हदबन्दी म्याद खारेज गर्नुपर्ने र देशको नतृत्व गर्ने व्यक्ति इमानदार र अनुशासित हुनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले शैक्षिक योग्यतालाई व्यवसायीकरण गर्न सिक्नुपर्ने बताउनुभयो । प्रविधि र नयाँ संरचनाबारे ध्यान दिनुपर्ने बताउँदै उहाँले उच्च शिक्षा हासिल गर्न विदेश गए पनि नेपालमा फर्केर आई काम गर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले रोजगारी सृजनामा सहयोग पु¥याउन एल्मुनाइहरूको ट्रेनिङ एण्ड प्लेसमेन सेल गठन गर्ने तयारी भइरहेको बताउँदै कलेजले ख्वप उद्यमशिलता कोष व्यवस्था गरी विद्यार्थीको उद्यमी सीप विकासमा टेवा दिइरहेको छ भन्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले समस्या तथा चुनौतीसँग सामना गर्नसक्ने दक्ष प्राविधिक बन्न सिक्नुपर्छ भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले विद्यार्थीहरू सामाजिक व्यक्ति बन्नुपर्छ, त्यसको लागि सामाजिक क्रियाकलाप र अतिरिक्त क्रियाकलापमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा आर्किटेक्चर युरिका राजवंसीले पनि बोल्नुभएको थियो । शैक्षिक प्रदर्शनीमा आर्किटेक्चरको ४१ वटा शोधपत्र, कम्प्युटर इन्जिनियरिङको ११ वटा प्रोजेक्ट, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङको १० वटा प्रोजेक्ट र विभिन्न प्रकारका नमुना तथा छपाइ राखिएको आयोजकले जनाएको छ ।
समापनमा शैक्षिक प्रदर्शनीमा संलग्न विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *