भर्खरै :

कैलालीमा षड्यन्त्रको विरोध एवम् भत्र्सना कार्यक्रम

कैलालीमा षड्यन्त्रको विरोध एवम् भत्र्सना कार्यक्रम

कैलाली, १० भदौ । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा निरङ्कुश पञ्चायतले नेमकिपालाई समूल नष्ट पार्न रचेको षड्यन्त्रको विरोध एवं भत्र्सना कार्यक्रम लम्कीमा गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भक्तपुर काण्डलाई कालो दिनको रूपमा स्मरण गरिरहेको बताउनुभयो । राजनीतिमा लागेका पार्टी कार्यकर्ताले विरोधीका जालझेल, षड्यन्त्र र बाधाहरू पार गरेर कामदारवर्गको हितमा समाजवादी व्यवस्था ल्याउन सकिने विचार व्यक्त गर्दै उहाँले राजनीति गर्नु भनेको चुच्चे ढुङ्गा बगरको यात्रा हो, काँडा नै काँडाको कठिन बाटो हो भन्नुभयो ।
जसले कठिनभन्दा कठिन काम गर्न सक्छ उसैले परिवर्तन गर्न सक्नेमा उहाँले जोड दिनुभयो । कार्यकर्ताले जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सक्यो भने कामदार जनताले सुख पाउने समाजवादी व्यवस्था स्थापना गर्न सकिन्छ, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले पञ्चायतले भक्तपुर काण्ड रचेर नेपाल मजदुर किसान पार्टीलाई समाप्त पार्न खोज्दा आफैँ समाप्त भएको स्मरण गराउनुभयो । भक्तपुरका कामदार महिलाले भक्तपुर काण्डमा धेरै दुःख पाएको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका पूर्वअध्यक्ष धनबहादुर थापामगरले २०४५ साल भदौ ५ गते गएको भूकम्प पीडितका लागि राहत वितरण गर्ने नाउँमा सरकारले राहत वितरणमा पक्षपात गरेको बताउनुभयो ।
रमेशकुमार रावलको सभापतित्वमा भएको कार्यक्रममा गुप्तबहादुर शाही भक्तिप्रसाद जैसी, जानकी शाही, प्रेमबहादुर सिजापति, हरिकला विष्ट र जानकी सिजापतिले भक्तपुर काण्डको विरोध एवं भत्र्सना गर्दै नेमकिपालाई समूल नष्ट पार्न रचिएको षड्यन्त्रको विरोध गरिरहनुपर्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *