भर्खरै :

प्रतिक्रियावादी षड्यन्त्रलाई असफल पार्न कार्यकर्ता सधैँ चनाखो हुन जरुरी

प्रतिक्रियावादी षड्यन्त्रलाई असफल पार्न कार्यकर्ता सधैँ चनाखो हुन जरुरी

भक्तपुर, १६ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा भक्तपुर काण्ड (२०४५ साल भदौ ९) को विरोध तथा भत्र्सना गर्दै आइतबार किसान भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाले पञ्चायती निर्वाचनलाई उपयोग गरी देश र जनताको सेवा गरेको, मोहियानी हक, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन तथा भ्रष्टाचारविरोधी आन्दोलनमा नेमकिपाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
भारतीय विस्तारवादले नेपाली भूमि सुस्तामा गरेको अतिक्रमणको विरोध गरेको उल्लेख गर्दै उहाँले देश र जनताको निःस्वार्थपूर्वक गरेको सेवा पञ्चायतलाई असह्य भई नेमकिपालाई समाप्त गर्ने उद्देश्यले नेमकिपाविरुद्ध भारत प्रवास र देशभित्र प्रतिक्रियावादीहरूले षड्यन्त्र गरेको बताउनुभयो ।
प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न पार्टी कार्यकर्ताहरू सधैँ चनाखो भएर बस्नु जरुरी भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “प्रतिक्रियावादीहरूले तत्कालीन राजालाई नेमकिपा भारतीय विस्तारवाद समर्थक भनी झूटा रिपोर्ट सुझाएका थिए । जबकि भारतीय विस्तारवादले नेपालको सुस्ता क्षेत्रको अतिक्रमणको विरोधमा सबभन्दा पहिले नेमकिपाले विरोध जुलुस गरेको थियो ।”
२००७ सालयता भारतीय विस्तारवाद र एकाधिकार पुँजीले राजा, राणा र काङ्ग्रेस र अन्य सरकारमा गएका पार्टीहरूलाई आफ्नो दलाल बनाउँदै गएको स्पष्ट पार्दै सचिव सुवालले नेमकिपाले जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित बनाउने कामलाई प्राथमिकतामा राखी आन्दोलन एवं गतिविधि गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले, माओवादी, एस. कम्युनिस्ट भएको भए मजदुर किसानलाई स्वदेशमा रोजगारी र विद्यालय एवं कलेजमा अध्ययन गराउने व्यवस्था गर्नुपथ्र्यो । तर, सरकारमा गएर ती पार्टीहरूले देश र जनताको हितमा काम गरेनन् । पुँजीवादी सरकारमा गएकाहरू नाममा कम्युनिस्ट भए पनि यथार्थमा कम्युनिस्ट होइनन् ।”
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु, अन्याय अत्याचारविरुद्ध सङ्घर्ष गर्नु र देशको सार्वभौमिकता रक्षार्थ आन्दोलित हुनु नै पञ्चायती शासकहरूको लागि नेमकिपा असह्य र आँखाको धुलो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफ्नो मनपरी गर्न बाधक भएको सम्झेर पञ्चायतले नेमकिपा र नेमकिपाका नेता र कार्यकर्ताहरूलाई पटकपटक षड्यन्त्र रची समूल नष्ट गर्न खोजेको थियो ।”
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि लक्ष्मीभक्त लासिवाले भन्नुभयो, “राजतन्त्रको ठाउँमा गणतन्त्र आयो† देश र जनताको समस्या झन्झन् विकराल हुँदै गयो, काङ्ग्रेस कम्युनिस्ट नेताहरू शासन सत्तामा रहेर देश र जनताको भावनाविपरीत देशघाती, जनघाती सन्धि र सम्झौताहरू गरी भारतीय शासक सामु लम्पसार पर्नुले शासक दलका नेता–कार्यकर्ताहरू विदेशी दलाल भएको स्पष्ट हुन्छ ।”
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा हरिराम सुवाल, पूर्णगोपाल राजचल, पूर्णभक्त सुवाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *