भर्खरै :

न्यायपूर्ण शासन गर्नु राज्यको दायित्व

न्यायपूर्ण शासन गर्नु राज्यको दायित्व

न्याय हरेक व्यक्तिको बाँच्ने आधारशिला हो । न्याय जनताको सारभूत अधिकार हो । न्याय हराएको समाज न सुरक्षित हुन्छ न त त्यस्तो समाजमा जनविश्वास नै रहन्छ । राज्यको एउटा गन्तव्य न्यायपूर्ण समाजको निर्माण गर्नु हो; न्यायपूर्ण शासन सञ्चालन गर्नु हो । न्याय पाएन भने अन्यौल हुन्छ । भनिन्छ, राज्य, कानुन र शासकीय संरचनाको महत्वपूर्ण गन्तव्य भनेकै न्याय हो । स्वतन्त्र, निष्पक्ष, सक्षम र विश्वसनीय न्याय प्रणाली विकास गर्नु सरकारको दायित्व हो । न्याय प्रशासनलाई छिटोछरितो, निष्पक्ष, प्रभावकारी, पारदर्शी बनाई सबैका लागि न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राज्यको हो । तर, राज्यले न्याय दिन सकिरहेको छैन; अपराधीमाथि कारबाही गर्न सकिरहेको छैन । राज्यमाथिको विश्वास गुम्दो र गिर्दो छ । यसबारे आस्थाको पत्रकारिता गर्ने पत्रिकाले आफ्नो जिम्मेवारी पालना गरिरहेको छ । आस्थाको पत्रकारिताले समाज या जनताको समस्याबारे लेख्ने काम गरिरहेको छ । तर, नाफा या व्यवसायको रूपमा प्रकाशन गरेको मिडिया या पत्रिकाले सामाजिक मूल्य र मान्यताभित्र रहेर काम गरिरहेको छैन, कति पत्रिकाले अतिरञ्जित ढङ्गले प्रकाशन र प्रसारण गरेर समाजमा झूटको खेती गरिरहेको छ । यसले समाज वर्गमा विभाजित भएको हुँदा पत्रकारिता पनि विभाजित रहेछ भन्ने थाहा हुन्छ ।
समाजमा व्याप्त अन्धविश्वास र कुरीति सुधार्ने, भ्रष्टाचार, अनियमितता, कमिसन, आपराधिक क्रियाकलाप, चोरी, डकैती, हिंसात्मक गतिविधिको विरोध गर्ने या खबरदारी गर्ने काम आस्थाको पत्रकारिताले गरिरहेकोमा शङ्का छैन । आदर्शोन्मुख समाज निर्माण गर्नको निम्ति, न्यायपूर्ण समाज बनाउनको निम्ति सच्चा राजनीति गर्ने कार्यकर्ता, सामाजिक कार्यकर्ताझैँ आस्थाको पत्रकारिता गर्नु आवश्यक छ । गिरीबन्धु टी स्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी, बालुवाटार जग्गा प्रकरण, वाइडबडी, सुनकाण्डको आवाज उठाएर राज्यलाई खबरदारी गर्ने र जनतामाझ सुसूचित पार्ने काममा पत्रकारिताको महत्वपूर्ण योगदान छ । यसको आधारमा पत्रकारिताको महत्व बढ्दै गएकोमा शङ्का छैन । सम्भवतः यही भएर पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको हुनुपर्छ ।
मुलुक दिनप्रतिदिन आर्थिकरूपमा कमजोर बनिरहेको छ । नेपाली जनतामा खासै उत्साह छैन । युवा पुस्ता मुलुकमा बसेर काम गर्ने मनस्थितिमा छैन । जताततै निराशा नै निराशा छ । त्यसको कारण हो, सरकारले युवाहरूलाई काम दिन सकेको छैन† राज्यको विभिन्न तहमा भ्रष्टाचार छ, पक्षपात र असमानता छ । जनतालाई सुशासनको प्रत्याभूति दिलाउने कुरा कागज र भाषणमा सीमित छ । राज्यले जनताको विश्वास जित्ने खालको के काम गरेको छ ? शासकहरू सिंहदरबार गाउँ गाउँ र नगर–नगरमा पुगेको कुरा फुक्छन् । तर, स्थानीय तहको अन्तिम तह वडा कार्यालयसम्म सिंहदरबार पुगेको कुरा जनताले महसुस गरेका छैनन् । जनताका यावत समस्याबारे लेखेर जनतामाझ पु¥याउने, सरकारको ध्यानाकर्षण गर्ने क्षेत्रमा राजनीतिक कार्यकर्ताको मात्र होइन सञ्चारकर्मीको पनि महत्वपूर्ण देन हुन्छ ।
सङ्घीय गणतान्त्रिक व्यवस्था जनताको अन्तिम इच्छा होइन । अहिलेको सङ्घीय राज्य व्यवस्थालाई उपयोग गर्दै देशमा समाजवादी गणतन्त्र स्थापना गर्न देशका कम्युनिस्ट पार्टीहरू लाग्नुपर्छ; कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याउनुपर्छ । सिद्धान्त र विचार पु¥याउने काम कम्युनिस्ट नेता र कार्यकर्ताहरूले मात्र होइन आस्थाको पत्रकारिताले पनि विभिन्न लेख रचना प्रकाशित गर्नुपर्छ । वामपन्थी पक्षधर हरेक पत्रिका या सञ्चारकर्मीले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ । पैसा कमाउनकै या पैसाकै निम्ति पत्रकारिता गर्ने होइन, पत्रिकाले विचार पनि प्रवाह गर्नुपर्छ । पैसा पाएपछि जनताको विचार छोड्ने, कलुषित व्यक्तिहरूको प्रचार गर्ने काम सच्चा सञ्चारकर्मीको होइन, सच्चा पत्रकारिता होइन । देशभक्त तथा क्रान्तिकारीहरूको विचार सञ्चार जगत्मा छिर्नुपर्छ । देशमा परिवर्तन ल्याउनु छ; सामन्त, जमिनदार, पुँजीपति, जालीफटाहाहरूले प्रतिनिधित्व गरिरहेको सरकार फाल्नु छ, त्यो विचार जनतामाझ पु¥याउनु छ भने कम्युनिस्ट पक्षधर पत्रिकाले प्रचार गर्नुपर्छ । पत्रकारिता जनताको समस्या जनतामाझ पु¥याउने भरपर्दो आधार हो; त्यो काम सञ्चारकर्मीले पूरा गर्नुपर्छ ।
लोकतन्त्रको उद्देश्य जनताको हितमा जनताको निम्ति शासन गर्ने हो भने त्यो व्यवहारमा देखिनुपर्छ । लोकतन्त्रको स्वाद भुइँ तहसम्म पुग्दैन, जनताले उपयोग गर्न पाउँदैनन् भने त्यो नाउँमात्रको लोकतन्त्र हुन्छ । लोकतन्त्रमा सबैको सहभागिता सुनिश्चित हुन्छ । तर, यहाँ गाउँ गाउँमा सिंहदरबार भन्दै विकासको योजनालाई आम्दानी गर्ने माध्यम बनाइरहेको छ । सत्तामा बसेर सत्ताको लाभ उठाइरहेको छ । यसको विरोध पत्रिकाले गर्नुपर्छ । पुँजीपतिवर्गको प्रतिनिधित्व गरिरहेको पत्रिका या सञ्चारकर्मीले त्यो काम गर्दैन । उनीहरूले समाज परिवर्तनको आवश्यकता देख्दैनन् । अतः यस कार्यमा आस्थाको पत्रकारिता गर्ने मिडिया या सञ्चारकर्मीहरू नै अघि बढ्नुपर्छ, अभ्यस्त हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *