भर्खरै :

संस्कृति विषय र ख्वप कलेज/ख्वप मा. वि.

संस्कृति विषय र ख्वप कलेज/ख्वप मा. वि.

संस्कृति शब्दको सामान्य अर्थ हो – कुनै पनि वस्तुलाई परिमार्जन गरी चम्किलो, निखुर, राम्रो बनाउनु । त्यसैले जुन गुण, व्यवहार र शैली अनुकरण गरेर मानव सभ्य हुन सकिन्छ त्यसैलाई संस्कृति भनिन्छ । ल्याटिन भाषाको Cultura भन्ने शब्दले उमार्ने (Growing) भन्ने अर्थ दिन्छ । त्यही Cultura बाट अङ्ग्रेजी शब्द Culture को निर्माण भयो जसलाई नेपाली भाषामा संस्कृति भनिन्छ । आजकल संस्कृति शब्दको अर्थ निकै व्यापक र विशाल छ । मानवले आफ्नो सामाजिक परम्परा, सामूहिक जीवनशैलीबाट सिकेका, आर्जन गरेका विश्वास, परम्परा, मूल्य र मान्यता, धर्म, दर्शन, चिन्तन, रचनात्मक आन्दोलन, आस्था, सीप, कलाकृति, सङ्गीत, मृत्यु, चाडपर्व, आध्यात्मिक साधना, पूजा, बानीव्यहोरा, प्रत्येक मानवीय क्रियाकलाप आदि सबैलाई समष्टीरूपमा संस्कृति भनिन्छ भनी विद्वान्हरूले लेखेका छन् । कुनै पनि नराम्रो क्रियाकलाप गर्न वा हुनबाट रोकी मानवलाई जङ्गली प्राणी हुनबाट जोगाउँदै सामाजिक प्राणी संस्कृतिले नै बनाउँदछ । यसले नै मानिसमा नैतिक बल र बौद्धिक क्षमता विकास गर्नमा सघाउँदछ । संस्कृतिले नै मानिसहरूलाई अनुचित विभेद, शोषण, उत्पीडनको विरोध गर्न सिकाउँछ र मानिसलाई सर्वोत्कृष्ट प्राणी बन्न मद्दत गर्दछ ।
संस्कृति हजारौँ वर्षदेखि विकसित हुँदै अहिलेको अवस्थामा आएको हो । मानिसको आफ्नो वातावरण, भूगोल, प्रकृतिअनुसारको फरक फरक किसिमको संस्कृति हुनसक्छ । एउटा छुट्टै विषयका रूपमा संस्कृतिबारे अध्ययन–अध्यापन युरोपमा अठारौँ शताब्दीमा सुरु भयो । नेपालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि र भक्तपुरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा. वि. र ख्वप कलेज स्थापना भएपछि संस्कृति विषयले प्रवेश पायो । भक्तपुर नगर मूर्त तथा अमूर्त संस्कृति सम्पदाहरूले सुसज्जित नगर हो जहाँ टोल–टोल, वडा–वडामा कतै दरबारहरू, कतै मन्दिरहरू, मूर्तिहरू, चैत्यहरू, बिहारहरू, मठहरू, मस्जीद, पाटी, सत्तल, ढुङ्गेधाराबाट यस नगरको सांस्कृतिक एवम् ऐतिहासिक गौरवलाई स्पष्ट पार्दै आएको छ । यहाँको तलेजुको प्रवेशद्वार अर्थात् सुनको ढोकाको कलात्मकताले विश्वलाई लोभ्याएको छ । यहाँको दैनिक जीवनमा प्रयोग हुने कालो टोपी, जुजु धौ, हाकुपटासी, सम्येबजी, गीत, सङ्गीत, नृत्य, भजनजस्ता सांस्कृतिक गतिविधिहरूले यहाँको जीवनलाई जीवन्त पार्दै आएको छ । जात्रा, चाडपर्व र उत्सवहरूले यहाँको जीवनशैलीलाई उल्लासमय पारेको छ । परम्परागत गीत, सङ्गीत वाद्यवादनका वस्तुहरू नृत्य आदि सिक्ने प्रशिक्षार्थीहरू सिकाउने गुरुहरूलाई विभिन्न अवसरहरूमा मूल्याङ्कन गर्दै सहयोग गर्ने, पुरस्कृत गर्ने, कदरपत्र प्रदान गर्नेमात्र हैन आर्थिक सहयोगसमेत गर्दै आएको छ भक्तपुर नगरपालिकाले । जनता पनि यस कार्यमा नगरपालिकालाई साथ दिन उत्तिकै लागिपरेको छ । मल्लकालदेखि अथवा त्योभन्दा अगाडिदेखि अहिलेसम्मकै यहाँको सांस्कृतिक गतिविधि प्रायः सञ्चालनमा नै रहेका छन् । जसको कदर स्वदेशमा मात्र होइन विदेशबाट प्रशंसा र सम्मान गरिंदै आएको छ । भक्तपुरको सांस्कृतिक गतिविधिहरू, ऐतिहासिक एवम् पुरातात्विक स्थलहरू मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूले यहाँको मात्र होइन देशकै पर्यटन उद्योगलाई टेवा पु¥याउँदै आएको छ । यस क्षेत्रमा यहाँको नगरपालिका तथा जनताको सहभागिता उपलब्धिमूलक नै छ ।
यस्तो महत्वपूर्ण संस्कृति विषयले ख्वप मा. वि. तथा ख्वप कलेजमा मानविकी सङ्कायअन्तर्गतको एक विषयको रूपमा प्रवेश पाएपछि यस पङ्क्तिकारले पनि संस्कृति विषयको विद्यार्थीको रूपमा कक्षा एघार, बा¥ह तथा स्नातक तह अध्ययन गरी उत्तीर्ण भएको थिएँ । त्यो पनि संस्कृति विषय लिएबापत मैले छात्रवृत्तिको सुविधासमेत पाएको थिएँ । त्यो उपयुक्त एवम् उल्लेखनीय अवस्था थियो । यसरी ख्वप मा. वि. तथा ख्वप कलेजमा संस्कृति विषयको अध्ययन–अध्यापन (छात्रवृत्तिसहित) हुँदै आएकोमा, २–३ वर्ष जति भयो होला मानविकीतर्फको स्नातक तहको प्रथम वर्षमा संस्कृति विषयमा पढाइ नै नभएको, विद्यार्थी नै भर्ना हुन नआएको व्यहोरा थाहा पाउँदा मलाई सा¥है दुःख लाग्यो । आश्चर्य पनि भयो । किनभने, यस्तो सांस्कृतिक गतिविधिहरूले भरिएको नगरमा संस्कृति विषय पढ्ने विद्यार्थी छैन भन्ने थाहा पाउँदा कुनै पनि सांस्कृतिक गतिविधिको पछाडि वा त्यसभित्र एउटा सिद्धान्त, एउटा दर्शन, एउटा उद्देश्य आदि लुकेको हुन्छ । त्यसलाई ऊजागर पार्ने काम प्राज्ञिकताले गर्दछ, सैद्धान्तिक पक्षले गर्दछ । त्यसको लागि अध्ययन, अध्यापन तथा अनुसन्धान आदि कार्य निरन्तररूपमा चलिरहनुपर्दछ । त्यसो भएन भने ती संस्कृति गतिविधिहरूको आधार अन्धविश्वासले भरिएको परम्परामा मात्र सीमित हुन पुग्दछ जसमा कुनै वैज्ञानिकता र उपयोगिता हुँदैन । त्यसैले यहाँ संस्कृति विषयको अध्ययन, अध्यापन तथा अनुसन्धान कार्य स्नातक तहमा मात्र होइन त्योभन्दा माथिल्लो तहसम्मै विस्तार गर्दै लानुपर्दछ । संस्कृति विषयमा विद्यार्थी छैन, पढाइ पनि छैन, भन्ने सुन्न पाउँदा दुःख पनि लाग्छ आश्चर्य पनि लाग्छ ।
ख्वप मा. वि. तथा ख्वप कलेजका व्यवस्थापन पक्ष, प्रशासन पक्ष तथा शिक्षक÷प्राध्यापक सबैको संयुक्त प्रयासमा संस्कृति विषयतर्फ विद्यार्थीहरूलाई आकर्षित पार्न सकिन्छ । ख्वप मा. वि. मा संस्कृति विषयमा सञ्चालन भइरहेको छ । त्यहाँको प्रशासनले विशेष प्रयास गरिरहेको छ यस क्षेत्रमा । विद्यार्थीहरू आकर्षित भइरहेका छन् संस्कृति विषयतर्फ । कलेज प्राङ्गणमा विभिन्न सङ्काय र विषयको जानकारीमूलक बोर्डहरू जताततै सजाइएको छ जुन प्रशंसनीय कार्य हो । मानविकीसम्बन्धी बोर्डमा स्नातक तहमा संस्कृति विषयको पनि उल्लेख भएको भए अति राम्रो हुन्थ्यो । तर, कतै देखिएन । स्नातक तहमा अब उप्रान्त संस्कृति विषय पढाइ नै नहुने, पढाइ नै नगरिने हाम्रो अवस्था हो, बाध्यता हो भने मलाई भन्नु केही छैन । हुनसक्छ, भने जति कसैले पनि जहिले पनि पाउँदैन । यदि त्यसो हैन भने संस्कृतिजस्तो महत्वपूर्ण विषय ख्वप कलेजमा स्नातक तह र स्नातकोत्तर तहसम्म अध्ययन, अध्यापन तथा अनुसन्धान हुने व्यवस्था गरिनु आवश्यक छ । यो हाम्रो लागि गौरवको विषय हुने छ ।
प्रशासन भनेको कुनै पनि निकायको लागि घरको संरक्षक÷आमाबुबा जस्तै हो । अलि कमजोर, बिरामी बच्चालाई आमाबुबाले जसरी विशेष ध्यान पु¥याएको हुन्छ र त्यसलाई हुर्काउन माया गरेको हुन्छ । त्यस्तै, थोरै व्यवहार कलेज प्रशासनले पनि विद्यार्थी भर्नाको समयमा देखाएर विद्यार्थीहरूलाई आकर्षित गर्ने प्रयास गरेमा उचित होला कि सम्बन्धित विषयका शिक्षक÷प्राध्यापकहरूले पनि यस कार्यमा प्रशासनलाई सघाउनुपर्ला कि ? भन्ने विचार पनि आउन सक्छ । किनभने, हाम्रो काम भनेको त शिक्षकद्वारा परम्परागत खराबीहरू समाप्त पारी प्रगतिशील समाज निर्माण गर्नु हो भन्छु म त ।
त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागसँग भक्तपुर नगरपालिकाको राम्रो सम्बन्ध छ । चीनलगायतका विभिन्न देशहरूसित हाम्रो सांस्कृतिक सम्बन्ध छ । यहाँको विभिन्न सांस्कृतिक गतिविधि र चाडपर्वहरूलाई नगरपालिकाले त्यत्तिकै संरक्षण र प्रोत्साहन दिँदै आएको छ । भक्तपुरलाई सांस्कृतिक नगर भनी प्रचार गरिँदै आएको छ । यो राम्रो पक्ष हो । यस्तो परिवेशमा ख्वप कलेजमा उच्च तहसम्मै अध्ययन तथा अनुसन्धान संस्कृति विषयमा गर्न पाए हामी सबैको लागि गौरवको कुरा हुन्थ्यो । यसो भनिरहँदा कुरा उठ्न सक्ला, विद्यार्थीहरूले नै चाहेनन्, भर्ना नै हुन आउँदैनन् के गर्ने ? हामी शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्दछ भनिरहेका छौँ । यहाँका विभिन्न नाचगान, बाजागाजा, नाटक, ख्याल, दाफाभजन, कलाकृति, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको प्राज्ञिक ढङ्गले अध्ययन तथा अनुसन्धान गर्दै प्राप्त जानकारी विषयवस्तुहरूबाट लिपिबद्ध गरौँ । तिनीहरू श्रव्य दृश्य (Audio-video) बनाई रेकर्ड राखौँ । त्यस कार्यमा खटिएका प्राध्यापक÷विद्यार्थीहरूलाई केही आर्थिक अनुदान दिने व्यवस्था गरौँ । नगरपालिका वा कलेज प्रशासनबाट पछि ती नृत्य, गीत, सङ्गीत, ख्याल र नाच जे पनि छ त्यसलाई हेर्न इच्छुक नेपाली तथा विदेशीहरूसमेतलाई प्रदर्शन गरी त्यसबापत विभिन्न शुल्कहरू उठाउन सकिन्छ । सुरु सुरुमा केही गा¥हो होला । तर, सम्भव छ, सकिन्छ । यही सन्दर्भमा यस विषयको पक्षमा पनि विभिन्न तर्क दिन सकिन्छ । विपक्षमा पनि तर्कहरू दिन सकिन्छ । संस्कृति विषयको उच्च शिक्षामा पढाइ सञ्चालन अहिलेलाई सम्भव छैन भन्न सकिन्छ । मलाई लाग्छ, कुरा इच्छाशक्ति, नियत र विवेकको हो । हामी यसतर्फ प्रयास गर्दै गएमा नगरपालिका एवम् कलेजको सांस्कृतिक सम्पत्तिमा वृद्धि भई आयआर्जनको एउटा गतिलो स्रोत हुन जान्छ । राम्रो उद्देश्यले गरे चाहे जे पनि हुन्छ । भक्तपुर नगरभित्रका नगरपालिकाद्वारा सञ्चालित विभिन्न शिक्षण एवम् स्वास्थ्य संस्थाहरू त्यसको प्रमाण हो ।
त्यसैले संस्कृति विषयको अध्ययन तथा अध्यापन कलेज तहसम्मै गर्नु आवश्यक छ । विद्यार्थी सङ्ख्या जतिसुकै भए पनि अपव्यय जस्तो देखिए पनि माथि उल्लेख गरेजस्तै हामीले क्रियाकलापहरू गर्दै जाँदा विद्यार्थीहरू यस विषयतर्फ आकर्षित हुने नै छन् । हामीले देखेका छौँ दूध पिउने पसलमा भन्दा रक्सी पिउने पसलमा मानिस वा ग्राहकको सङ्ख्या बढी होला तर दूध पिउने र रक्सी पिउने मानिसको भविष्य कस्तो होला, हामी अनुमान लगाउन सक्छौँ । यसो भनिरहँदा मैले अन्य सङ्काय र विषयलाई रक्सीसँग तुलना गरेको होइन । हामीलाई थाहा छ, सबै सङ्कायका सबै विषयहरू उत्तिकै महत्वपूर्ण छन् । मात्र सङ्ख्याको भरमा थोरै भनेर अवमूल्यन गर्नु हुँदैन भन्न खोजेको हो ।
नेपाल सरकारलाई लिपि, पुरातत्व, सम्पदा, सङ्ग्रहालय आदि विषयमा दक्ष जनशक्ति आवश्यकता रहेको छ । पर्यटन उद्योग प्रवद्र्धनका लागि यस विषयका विशेषज्ञहरू आवश्यक रहन्छ । यस विषयले स्वरोजगार (पर्यटन क्षेत्रमा) प्रदान गर्न सक्ने सम्भावनाहरू छन् । यी सबै आवश्यकता र सम्भावनाहरू पूर्ति संस्कृति विषयको उच्च शिक्षा अध्ययन, अध्यापन र अनुसन्धानले मात्र गर्न सक्दछ । त्यसैले यस विषयको भविष्य छैन, क्षेत्र÷महत्व छैन भनी बुझ्नु पक्कै पनि गल्ती हो ।
कला, संस्कृति र सांस्कृतिक गतिविधिहरूद्वारा भविष्यमा भक्तपुरलाई कसरी सिङ्गार्न सकिन्छ भनी नारायणमान बिजुक्छँे (रोहित) ले आफ्नो पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ नामको महत्वपूर्ण ग्रन्थमा कल्पना गर्नु भएअनुसारको स्थितिमा भक्तपुरलाई पु¥याउन ख्वप कलेजमा संस्कृति विषयमा अध्ययन, अध्यापन र अनुसन्धानमूलक क्रियाकलापले प्राज्ञिकरूपमा मात्र होइन व्यवहारिकरूपमा पनि ठुलो मद्दत पु¥याउँदछ । भक्तपुर नगरपालिकाले मान्दै आएको ‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति’ भन्ने नारालाई प्राज्ञिक र विकसितरूपमा स्थापित गर्न सघाउँछ ।
त्यसैले भक्तपुर नगरपालिका, ख्वप मा. वि. तथा ख्वप कलेजको व्यवस्थापन समिति, यस मा. वि. तथा कलेजको प्रशासन सम्बन्धित विषयका शिक्षक एवम् प्राध्यापक र अरु सहयोगी महानुभावहरू सबैले एक मनले प्रयास गरेमा ख्वप कलेजमा संस्कृति विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धान विषयको भविष्य निश्चित छ । सांस्कृतिक पर्यटन र पर्यटन उद्योग हाम्रो देश र हाम्रो नगरको आयआर्जनको आफ्नो मौलिक गतिलो स्रोत हो । यतिमात्रै होइन, हाम्रा मूर्त तथा अमूर्त सम्पदाहरू र हाम्रा सांस्कृतिक गतिविधिहरू हाम्रो पहिचान र गौरव पनि हो । त्यसैले यो संस्कृत विषयलाई कम मूल्याङ्कन गर्नु पक्कै पनि उचित होइन ।
अन्तमा, यतिमात्र भनौँ कि अहिलेलाई संस्कृति विषयलाई ख्वप कलेजले अध्ययन, अध्यापन र अनुसन्धानमूलकरूपमा अघि बढाउने कार्यक्रम छैन, अघि बढाउने अवस्था छैन भने मेरो भन्नु केही छैन । ख्वप कलेजमा संस्कृति विषयको अध्ययन अध्यापनलाई अघि बढाउने निरन्तरता दिने कार्यसँग सम्बन्धित सबै निकाय तथा आदरणीय व्यक्तित्वहरूसम्म आ–आफ्नो महत्वपूर्ण ध्यान र चासो पु¥याउन होला भनी सविनय अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *