भर्खरै :

पुँजीवादी सरकारले मजदुर किसान र कामदारवर्गको सेवा नगर्ने

पुँजीवादी सरकारले मजदुर किसान र कामदारवर्गको सेवा नगर्ने

भक्तपुर, २० भदौ । नेपाल मजदुर किसान पार्टी वडा नं. ४ वडा समितिको आयोजनामा बिहीबार ‘भक्तपुर काण्ड’को विरोध एवं भत्र्सना कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाको लक्ष्य देश र जनताको सेवा गर्नु हो भन्दै कम्युनिस्टहरू पुँजीवादी सरकारमा नजाने र पुँजीवादी सरकारले मजदुर, किसान र कामदारवर्गको सेवा नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिक्रियावादीहरू र पार्टीभित्र घुसेका शत्रुहरूले नेमकिपाविरूद्ध देशभित्र र भारत प्रवासमा षड्यन्त्र गरेका थिए । पार्टीका नेता र कार्यकर्ताहरूले सत्यको पक्षमा दृढ अडान लिएर सङ्घर्ष गरेको हुँदा प्रतिक्रियावादीहरूको षड्यन्त्र विफल भएको हो ।”
“नयाँ पुस्तालाई देशभक्त बनाउन संसारका क्रान्तिकारीहरूको जीवनी अध्ययन गराउनु उपयुक्त हुनेछ । अमेरिकी साम्राज्यवादले इजरायलीहरूलाई हतियार पठाएर प्यालेस्टिनी जनताको नरसंहार गर्ने र भूमि कब्जा गर्ने काम गर्दै छ भने युक्रेनलाई हतियार दिएर रूसविरूद्ध आक्रमण गराउँदै छ । नेमकिपाले साम्राज्यवादी आक्रमणको विरोध गरिरहेको छ । भारतले नेपालको सुस्ता कब्जा गरेको विरोधमा नेमकिपाका अग्रजहरूले २०२५ सालमै भक्तपुरमा जुलुस र सभा गर्नुभएको थियो”, सचिव सुवालले बताउनुभयो ।
साम्राज्यवादीहरूले २०१५ सालको चुनावदेखि पैसा र अन्य आवश्यक सहयोग गरी शासक दलहरूलाई बहुमत दिलाएको एक एक गरी खुलिरहेको बारे उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपाका सदस्य र समर्थकहरूले पार्टीको सिद्धान्त अध्ययन गरी आफूलाई राजनीतिक र सांस्कृतिकरूपले सचेत पार्नु जरुरी रहेको औँल्याउँदै उहाँले भन्नुभयो, “नेमकिपाले उठाएको समाजवादमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा विद्यालय–कलेज जाने, खेलकुद र अन्य सामाजिक काममा लाग्ने बन्दोबस्त हुन्छ । सरकारमा गएका दलहरूले आ–आफूलाई समाजवादी दाबी गरे पनि देश र जनताका निम्ति काम गरेनन् ।”
रामसुन्दर खाताखोको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्रामसङ्घ नगर समिति भक्तपुरका अध्यक्ष रामेश्वरी कोजुले शत्रुको अगाडि झुकेर होइन लडेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै शत्रुको षड्यन्त्रदेखि हरबेला सचेत हुनुपर्छ भन्नुभयो ।
‘भक्तपुर काण्ड’ को बेला महिलाहरूले गरेको योगदान स्मरणीय रहेको चर्चा गर्दै उहाँले जनता सचेत र सङ्गठित हुनुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा स्थानीय कृष्णगोपाल चगुठी, रामकृष्ण त्वायना, सुनिता अवाल र राजु अवालले पनि ‘भक्तपुर काण्ड’बारे आ–आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *