भर्खरै :

नेपाली राजनीतिलाई विकृत होइन शुद्ध बनाउने हो

निरङ्कुश व्यवस्था ढालेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि तद्नुसारको सोच र व्यवहारमा परिवर्तन भएन । सामन्ती राजतन्त्र ढले पनि सामन्ती सोच अझै बाँकी छ । राजनीतिलाई जीवनपद्धतिको रूपमा विकास गर्न नसक्दा नेपाली राजनीति विकृत बन्दै गएको हो । मन्त्री बन्न पनि पैसा तिर्नुपर्ने राजीव गुरूङ (दीपक मनाङे) को अभिव्यक्तिले नेपालको राजनीति कति बिग्रिसकेको रहेछ भन्ने दृष्टान्त हो । मन्त्री बन्ने योग्यता, क्षमता होइन पैसा रहेछ । आफूलाई मन नपरे पैसा लिएर पनि मन्त्री पद छोड्न मिल्ने रहेछ । त्यसको निम्ति पशुपन्छीको झैँ मोलतोल हुँदोरहेछ । मन्त्री पद बिक्रीका लागि राखेको भन्ने अभिव्यक्तिको अडियो सामाजिक सञ्जालमा भाइरल भयो । के यो विकृत राजनीतिको नग्न रूप होइन ?
आन्दोलनले नेपालमा राजनीतिक परिर्वतन आएको हो । राजनीतिकरूपमा प्राप्त यी अधिकार वा उपलब्धिलाई जनताको जीवन र व्यवहारसँग जोडेर सरकार या सत्तासीन दलका नेताहरू अघि बढ्नुपर्ने हो । नेपाली राजनीतिलाई विकृत बनाउने होइन एकपछि अर्को शुद्ध बनाउँदै जाने हो । तर, विडम्बना ! देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्ने राजनीतिलाई शासक दलका नेताहरूले फोहरीको खेल बनाए । सत्ता राजनीतिको खेल लामो समयदेखि चल्दै आयो । यसको असर सर्वसाधारण नागरिकदेखि उच्चपदस्थ कर्मचारी, नेता, मन्त्री, सांसदमा पनि प¥यो । तर, राजनीति फोहरी खेल होइन । यो त राज्यको नीति निर्माण र कार्यान्वयनसँग जोडिएको नियमित प्रक्रिया हो । राजनीतिलाई सीमित वर्गको धन्दाको रूपमा अघि बढाउने यत्न पनि यहाँ नभएको होइन । यो पुँजीपति वर्गको चरित्र हो । यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाले श्रमजीवी वर्गको हित गर्दैन । अतः श्रमजीवीवर्गको हित हुने व्यवस्था मिलाउन समाजवादी व्यवस्था आवश्यक छ । देशका हरेक कम्युनिस्ट पार्टीहरू समाजवादी व्यवस्थाको निम्ति लाग्नुपर्छ; लागिरहेको हुन्छ ।
नेपालमा अराजकता र वितण्डा मच्चाउने, विदेशी शक्ति केन्द्रको उठबसमा बस्ने राजनीतिक दलहरूको अकर्मण्यताले पनि देशको राजनीति बिग्रिएकोमा शङ्का छैन । सत्ता पाएर पनि सत्ताको राम्रो उपयोग नगर्ने शासकहरू किंकर्तव्यविमूढ भएको हुँदा न देश विकास भयो न त गणतन्त्रलाई संस्थागत गर्न नै सक्यो । सत्ताको निम्ति ढाँट्ने, छल्ने काम भएको हुँदा सत्तारूढ दलप्रति विश्वास गुमेको हो र सरकार अस्थिर रहेको हो । विस्तारवादी देश भारत र साम्राज्यवादी देश अमेरिकाले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको समर्थन गर्दैन बरू कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको विरोधमात्र होइन कम्युनिस्ट पार्टी कमजोर बनाउन, कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको देशमा अराजकता फैलाउन, अस्थिरता ल्याउन, आन्तरिक द्वन्द्व चर्काएर देशको अर्थ व्यवस्थामा सङ्कट ल्याउन अनेक षड्यन्त्र बुन्छन्; चलखेल गर्छन्; पैसाको खोलो बगाउँछन्; राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्रयोग गर्छन्; गुप्तचरहरू खेलाउँछन् । तर, विडम्बना ! नेपालका ठुला भनिने सत्तामा जान मरिहत्ते गर्ने कम्युनिस्टहरू ती नै शक्तिको पछि लाग्छन्; तिनीहरूकै प्रशंसा गर्छन् ।
सरकार भ्रष्टाचार अन्त्य गर्न चाहँदैन भन्ने एउटा दृष्टान्त भ्रष्टाचारबारे ल्याइएको हदम्यादको प्रस्ताव पनि हो । सोको सबै तर्फबाट विरोध भयो र फिर्ता लिन बाध्य भयो ।
गणतन्त्र स्थापनाको अनुभूति जनताले अझै पाएका छैनन् । आफ्नो देशमा स्थापित कलेजहरू बन्द हुन्छ; डुब्छ । विदेशीले खोलेका कलेज विस्तार हुन्छ र राम्ररी चल्छ । निजी विद्यालय र कलेजमा विदेशी इतिहास पढाइएको हुन्छ । तर पनि सरकार मौन रहन्छ । सरकार आफै परराष्ट्र नीति पालना गर्दैन या उल्लङ्घन गर्छ । नेका, एमाले र माओवादी कहिले मित्र सम्झेर मिल्छन्; कहिले धोका दियो भनेर विरोध गर्छन् । एउटै दल एकै समयमा कहिले मित्र र शत्रु कसरी भयो ? के यो सिद्धान्त र विचारमा अडान नभएको सङ्केत होइन । अडान नभएको दललाई जनताले कसरी विश्वास गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *