एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
रुपकेशरी उलक
आधुनिक नेपाली नाट्यलेखन परम्परामा पश्चिमी शैलीलाई भित्र्याएका नाटककार गोपालप्रसाद रिमाल सामाजिक यथार्थवादी नाटककार हुन् । उनका नाटकहरु मूलतः सामाजिक समस्यामा आधारित छन् । सङ्ख्याका हिसाबले उनीबाट थोरै नाट्य रचनाहरु रचिए तापनि उनका नाटकहरु नेपाली नाट्य इतिहासमा कोशेढुङ्गा सावित भएका छन्, जसको ऐतिहासिक महत्व रहेको छ । उनका तिनै नाटकहरु मध्येको यो प्रेम नाटकमाथि रहेर विभिन्न समालोचनात्मक मन्थनहरु भएका छन् । यसैक्रममा उल्लेखित नाटकभित्र गठित कथानक योजनाको चर्चा गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ ।
कथानक योजना सम्बन्धी सामान्य सैद्घान्तिक आधार
कथानक भनेको कथालाई शृङ्खलाबद्घ रुपमा अघि बढाएको घटनाको कार्य व्यापार हो । कथानकमा घटनाहरुलाई योजनाबद्घ रुपमा बुनोट गरी कुनै खास प्रभाव उत्पन्न गर्ने प्रयत्न गरिएको हुन्छ । कथानक आख्यान साहित्य वा आख्यान प्रधान साहित्यका विभिन्न विधामा पाइने साझा तत्त्व हो तर साहित्यका अलग अलग विधामा अभिव्यक्तिको ढाँचा भिन्न भिन्न हुने हुँदा कथानकको योजना पनि केही भिन्न हुन्छ । यसै आधारमा साहित्यमा नाटक, महाकाव्य, कथा, उपन्यास जस्ता विधा निर्माण हुन्छन् । नाटक साहित्यको दृश्य विधा भएको हुँदा यसमा कथानकको विकास संवादात्मक अन्तरक्रियाका माध्यमबाट अघि बढाइएको हुन्छ तर नाटकमा कथानकका कतिपय अंश दृश्य कार्य व्यापारका रूपमा र कतिपय अंश सूच्य कार्य व्यापारका रूपमा प्रस्तुत हुन पुगेका हुन्छन् ।
कथावस्तुलाई नाटकको स्थूल तत्त्व भनिन्छ र नाटकका अरू सबै तत्त्वहरु पात्र, भाषा,दृश्यविधानलआदि कथानकमा आश्रित हुन्छन् । यसैले पूर्वीय र पाश्चात्य नाट्यशास्त्रीहरूले नाटकको विधागत संरचनाको चर्चा गर्दा कथानकलाई बढी महत्त्व दिएका छन् । नेपाली नाट्यशास्त्रमा पनि कथानकको चर्चा गर्दा कथानकको स्रोत, कथानकको सङ्गठन र कथानक शिल्पलाई बढी महत्त्व दिनु आवश्यक मानिन्छ ।
“यो प्रेम” नाटकको कथावस्तु
नाटकको कथावस्तु नाटकका पात्रहरु शेखर, गंगा, शशी र सानोबाबुहरु बिचको प्रेम सम्बन्धमा आधारित छ । पूर्व घटनाहरुलाई संवादको माध्यमबाट ज्ञात गराउने शैली यसमा अपनाइएको छ । नाटककी प्रमुख पात्र गंगा आफ्नो पतीको निधनपछि सानो छोरोलाई लिएर माइत बस्न थालेको घटनादेखिको कथावस्तु नाटकमा दृश्य रुपमा देखाइएको छ । नाटकमा वर्णन गरिए अनुसार शेखर विवाहिता भए तापनि अविवाहित नारी गंगासित प्रेम गर्न थालेको हुन्छ । शेखरको व्यवहार तथा रुप देखेर गंगा पनि मोहित भएकी हुन्छे । शेखरले आफ्नी पत्नीलाई देखावटी रुपमा मात्र प्रेम गरेको हुन्छ तर दुःख भने दिएको हुँदैन । शेखर गंगासित बिहे गर्न चाहेको हुन्छ तर शेखरले माग्न नसकेको तथा गंगाको परिवारले पनि बोल्न नसकेको अवस्था हुन्छ । यस्तैमा गंगाको बिहे अर्कै व्यक्तिसँग हुन्छ तर उनीहरु बिचको वैवाहिक जीवन सुखी हुन सक्दैन । यता गंगाको लोग्नेको मृत्यु हुन्छ भने उता शेखरकी श्रीमती पनि मर्छे ,कारण गंगा र शेखरको मनमा लुकेर रहेको प्रेम सम्बन्ध नै हुन्छ ।
सङ्ख्याका हिसाबले उनीबाट थोरै नाट्य रचनाहरु रचिए तापनि उनका नाटकहरु नेपाली नाट्य इतिहासमा कोशेढुङ्गा सावित भएका छन्, जसको ऐतिहासिक महत्व रहेको छ ।
आफ्नो पति मरेपछि गंगा आफ्नो बच्चा लिएर माइत मै बसेकी हुन्छ । उनको मनमा भित्र भित्रै शेखरसित पुनः विहे गर्ने सोचाए पनि हुन्छ उता शेखर पनि गंगा माइत फर्केकोमा जिज्ञासु बनेको हुन्छ तर गंगासित विहे नै गर्छु भन्न पनि उसले सक्दैन । शेखरकी आमाले शेखरलाई विहे गर्न धेरै प्रस्ताव ल्याएकी हुन्छिन् । शेखरले त्यसलाई स्वीकार्न सक्दैन बरु विधुर बनेरै बस्ने इच्छा राख्छ । आफ्नी श्रीमतीलाई मन्द विष खुवाए जतिकै गंगासितको प्रेमका कारण छलको माया दिएर तड्पाइ तड्पाइ मारेकोमा उसमा पनि पश्चाताप हुन्छ अब पुनः विहे गरे पनि अर्कोलाई हृदयदेखि माया गर्न नसक्ने तर्क शेखरको हुन्छ । शेखरकी आमाले गंगा जस्तै रुपकी युवतीको तस्वीर देखाउँदा भने शेखर विहे गर्न तयार हुन्छ तर सानोबाबुले गंगा फर्केको खबर सुनाएपछि भने उसको मन फेरि फर्कन्छ ।
यता सानो बाबुले गंगाकी बहिनी शशीलाई मन पराएको हुन्छ । ऊ आफ्नी श्रीमतीदेखि सन्तुष्ट हुँदैन र शशीलाई विभिन्न कुरामा लोभ्याउन खोज्दै उनको मन जित्न खोजिरहन्छ । शशीका बाबुलाई जागिर लगाइदिने वाचा पनि गर्छ । आफ्नी श्रीमतीलाई जतिसुकै श्रृगांरका सामग्री र लुगाफाटा दिए पनि राम्री बन्न नजानेकी, यदि ती कुरा सबै शशीले पाए कति राम्री हुन्थी भन्ने सम्मनको कुरा गर्छ तर सिधा तिमीलाई बिहे गर्न चाहन्छु भन्न चाहिँ सक्दैन । सानोबाबु गंगाको बिहे शेखरसँग गराइ दिएर शशीलाई आफ्नो बनाउन चाहन्छ । त्यसैले ऊ शेखर र गंगा दुवै कहाँ गएर कुरा गरिरहन्छ र पुनः उनीहरुलाई मेल गराउन प्रयत्न गरिरहन्छ ।
नाटकको दोस्रो अंकमा शेखरको घरमा सानो बाबु गई गंगासित भेट्न उस्काइ रहेको दृश्य छ । बिहेको निधो गर्न जान लागेकी शेखरकी आमालाई विभिन्न बहाना लगाइ सानोबाबु रोक्न बस्छ । यता गंगालाई पनि शेखरले सझिरहेको र भेट्न चाहेको कुरा गर्छ । यस्तैमा गंगालाई शेखरले भेट्न जाने दिन पनि मिलाउँछ ।
शेखरले गंगालाई भेट्न आउने कुरा सुनेदेखि गंगामा एक किसिमको छट्पटाहट सुरु हुन्छ । ऊ आफ्नो छोरोको सामु जान पनि सक्दैन । छोरो ज्वरोले थला परिरहेको हुन्छ । आमा आमा भनि रोइरहन्छ तर गंगा उसको सामु जान सक्दैन । सपनामा मरिसकेको आफ्नो लोग्ने आएर चोर औँला ठड्याउँदै ठूल्ठूला आँखाले हेरेको डर लाग्दो कहानी शशीलाई सुनाउँछे । शशीले कति कर गर्दा पनि गंगा छोरोलाई दुध सम्म खुवाउन जाँदिनन् । गंगाको यस्तो निष्ठुरी व्यवहार देखेर शशी रिसाउँछे र बच्चा आफैँले पाल्ने गंगालाई हेर्नसम्म नदिने घुर्की सुनाउँछे । गंगालाई भित्रभित्रै शेखरसित बिहे गर्न बाधा आफ्नो बच्चा बन्ने डर हुन्छ अनि शशीले बच्चा सम्हाल्ने कुरा गर्दा ऊ दोहो¥याएर साँच्चै हो भनि प्रश्न पनि गर्छे तर दोमनमा रहेकी गंगाले बच्चा त्याग्न पनि सक्दिनन् ।
शेखर र आफ्नो प्रेम सम्बन्धको कुविचार कै कारण आफ्नो लोग्ने मरेको, अहिले पनि शेखरसँगको पुनः भेट र शेखरसँग बिहे गर्ने कुरा चिताएदेखि छोरो विरामी हुन थालेकोमा गंगा डराइरहेकी हुन्छ । आफ्नो खराब चिन्तनको छायाले छुँदासम्म पनि छोरोलाई असर पर्ने कल्पना उसले गर्छ । अन्तमा आफ्नो लोग्नेको कुलको रक्षक आफ्नो छोरोलाई जसरी पनि बचाउनु पर्छ भन्ने भावना उसमा जाग्छ र आफूमा रहेको कलुषित मनलाई नत्यागीकन छोरोको सामु नजाने निधो गर्छे र शेखरसितको प्रेम प्रेम नभएर जंगली प्रेम हो, उसलाई त्याग्नै पर्छ भनि शेखरसितका सबै सम्झनाका चिठीपत्र र फोटोहरु जलाएर मात्रै आफ्नो छोरोसामु जान्छे र छोरोलाई दुध खुवाउन थाल्छे । सानो बाबु र शेखरले भेट्न आउँदा पनि अबदेखि भेट्न नआउनु भनि फर्काइदिन्छे । यहाँनेर गंगाले मातृत्वलाई अँगालेर शेखरसितको प्रेमभावलाई त्यागेको हुन्छ ।
नाटकको अन्ततिर मात्रै शशीले पनि शेखरलाई प्रेम गर्ने गरेको थाहा हुन्छ । सानो बाबु र शेखर फर्केको देखेर शशी डाँको छोडेर रुन्छे त्यस्तैमा गंगाले शशीको कुरा बुझ्छे तर शशी र शेखरको प्रेम वास्तविक प्रेम नभएको कुरा गंगाले सम्झाउँछे र नाटक टुङ्गिन्छ ।
कथावस्तुका हिसाबले गंगा र शेखर, सानोबाबु र शशी तथा शशी र शेखरका बिच दबिएर रहेको प्रेमभावमा प्रस्तुत नाटक बनेको छ । कथावस्तु मध्यभागबाट सुरु भएको छ । आदि भागलाई पात्रहरुको संवादका माध्यमबाट बोध गर्नुपर्छ यद्यपी नाटकको घटनाक्रममा आदि ,मध्य र अन्त्यको क्रम सहज रहेको छ । सामाजिक विकृतिका रुपमा रहेको बहुबिवाहको नकारात्मक असरलाई यस नाटकले संकेत गरेको छ । मान्छेको नैसर्गिक स्वभावका रुपमा रहेको प्रेमभाव र त्यसमा समाजको हस्तक्षेपका कारण देखिने विकृति स्वरुपको चित्रण पनि प्रस्तुत नाटकमा देखिएको छ । गंगा र शेखर जस्ता पात्रको मनोचिन्तन र मनोचिन्तन कै आधारमा घटेका घटनाहरुको चित्रण पनि सांकेतिक रुपमा देखाइएका छन् । समग्रमा यसले प्रेमका नाममा बिवाहिता नरनारीहरु एकआपसमा लहसिँदाको प्रेम सम्बन्ध स्वच्छ सम्बन्ध नभइ जंगली र छाडा प्रेम हो भन्ने निष्कर्ष दिइएको छ ।
पात्र योजना
यो प्रेम नाटक सिमित पात्रहरुको क्रियाकलापमा आधारित नाटक हो । नाटकका सहभागी पात्रहरु निम्नानुसार छन् ः
पुरुष पात्रहरु
१) शेखर— गंगाको प्रेमी
२) सानोबाबु— शेखरको साथी÷शशीलाई मन पराउने पात्र
३) सानोबा— गंगा र शशीका बाबु
४)गंगाको पति
५) काले— नोकर पात्र
६) भाइ— गंगा र शशीको भाइ
७) छोरो— गंगाको बच्चा
स्त्री सहभागीहरु
१) गंगा
२) शशी
३) शेखरकी आमा
४)शेखरकी श्रीमती
५) सानो बाबुकी श्रीमती
यी पात्रहरु मध्य गंगा, शेखर, सानोबाबु ,शशी, शेखरकी आमा मात्रै दृश्य पात्रहरु हुन् अन्य पात्रहरु अदृश्य तथा गौण पात्र हुन् । नाटकका दृश्य पात्रहरुको चरित्रचित्रण निम्नानुसार गर्न सकिन्छ–
१) गंगा
गंगा नाटककी प्रमुख नारी पात्र हो । शेखरलाई प्रेम गर्ने पात्र तर प्रेम गरेकै व्यतिmसित विवाह गर्छु भनि समाज र परिवारसित लड्न नसक्ने पात्र हो । गंगा गतिशील पात्र हो । नाटकको सुरुमा शेखरसँगको प्रेममा डुबे पनि नाटकको अन्तमा मातृत्वमा आफ्नो जीवन उनले देखेकी छन् ।
२) शेखर
शेखर प्रमुख पुरुष पात्र हो । गंगालाई हृदयदेखि प्रेम गर्ने तर समाजसित लड्न नसक्ने पात्र हो । आफ्नी श्रीमतीलाई मनैदेखि प्रेम नगर्ने तर समाजमा लोग्नेले गर्नु पर्ने हरेक कर्तव्यको पालना गरी मर्यादित पुरुषका रुपमा बस्न सक्ने पात्र हो । शेखर बन्द पात्र हो । उसको मनको कुरालाई सहज ढंगले बुझ्न कठिन छ । आफ्नै निर्णय र चिन्तनमा हिँड्ने स्थिर पात्र हो ।
३)शशी
शशी गंगाकी बहिनी हो । शेखरलाई मनमनै मनपराउने तर व्यक्त नगर्ने अन्तर्मुखी स्वभाव उनमा छ । सानोबाबुले गरेको वर्णन अनुसार शशी रुपमा पनि सुन्दर छे । साना बच्चाहरुलाई माया गर्न र आमाले आफ्नो बच्चालाई बेवास्ता गरेकोमा रिस प्रकट पनि गरेकी छे ।
४) सानो बाबु
सानो बाबु यस नाटकको प्रमुख सहायक पात्रका रुपमा देखिएको छ । शेखरको साथीका रुपमा रहेको सानोबाबु शशीलाई मन पराउने र जसरी पनि शशीसित प्रेम गर्ने अभिलाषा राख्ने पात्र हो । आफ्नी श्रीमतीलाई हेला गर्ने र बहुबिवाहको मती राख्ने सानोबाबु बहिरमुखी पात्र हो ।
५) शेखरकी आमा
शेखरकी आमा नाटकको दोस्रो अंकमा मात्र प्रस्तुत हुने पात्र हो । छोरो शेखरको विवाह गराइ दिन चाहने र छोराले सामान्य जीवन जिओस् भन्ने मति राख्ने असल चरित्रकी आमा पात्र हो । गंगालाई राम्रो मान्ने तर विधवी भएकी गंगालाई बुहारी बनाएर भिœयाउन भने नचाहने परम्परागत चिन्तन उनमा रहेको छ ।
दृश्यविधान
“यो प्रेम” नाटकको परिवेश काठ्माडौको मध्यम वर्गीय परिवारमा आधारित छ । समयका आधारमा प्रस्तुत नाटक राणाकालीन समयताका चाकरी प्रथा रहँदाको समय यसमा प्रस्तुत छ । गंगाका बाबुलाई सानोबाबुले भनसुन र चाकरीको भरमा जागिर लगाइ दिने संवादलाई यसको आधार मान्न सकिन्छ । दुःख र अन्योलपूर्ण मानसिक अवस्थाको वर्णन यसमा गरिएको छ । बहुविवाहको मानसिकता तथा अप्रस्फुटित प्रेमाभााव र त्यसले निम्त्याएका यावत नकारात्मक सन्दर्भका कारण नाटक दुःखान्त बन्न पुगेको छ । तृतीय पुरुष दृष्टिविन्दुमा संरचित यस नाटक अन्तमा मातृत्वलाई महत्व दिलाइ असामाजिक प्रेमभाव जङ्गली प्रेम हो भन्ने निष्कर्षमा पुगेको छ । यो प्रेम नाटक जम्मा तीन अंकमा विभाजित नाटक हो । थोरै अंक र दृश्यमा आधारित रहेर यो नाटक निर्मित छ । पूर्वघटित घटनालाई पूर्वस्मृतिका रुपमा वर्णन गरेर कथावस्तु अघि बढाइएको हुँदा यसको वस्तु संरचना मध्य भागबाट सुरु भएको छ । परिवेशविधानका हिसाबले हेर्दा यसमा शशीको कोठा र शेखरको कोठाको मात्रै प्रस्तुति रहेको छ । यस आधारमा नाटक प्रस्तुतिका दृष्टिले यो सहज नाटक हो ।
द्वन्द्व
यसमा मानसिक द्वन्द्व प्रबल छ । गंगा र शेखरका बिच विवाह हुन नसक्दा देखिन आएका सम्पुर्ण घटनाहरु मानसिक द्वन्द्वका उपज हुन् । शेखर र उनकी श्रीमती बिचको अव्यक्त द्वन्द्वभाव, गंगा र उनका पतिका बिचको अव्यक्त द्वन्द्वभावका साथै गंगाले मरिसकेको लोग्नेलाई सपनामा देखेको जुन घटना छ त्यसले नाटकको मनोद्वन्द्वको पक्षलाई अझ बढी स्पष्ट पारेको छ । गंगा र शेखरका बिच विवाह हुन नसक्नुमा समाज पनि कारक बनेको छ र अस्पष्ट रुपमा गंगा र शेखरको समाज र परम्परासितको द्वन्द्व पनि नाटकले बोकेको छ । बाह्य रुपमा हेर्ने हो भने गंगाले आफ्नो छोरालाई बेवास्ता गर्दा शशी र गंगाका बिचको द्वन्द्व तथा शेखर र सानोबाबुलाई कोठामा नभित्र्याउँदाको द्वन्द्व नाटकमा सशक्त छ ।
भाषाशैली
यो प्रेम नाटक सामान्य बोलिचालीको भाषामा लेखिएको छ । काठ्माडौँको नेवार परिवेशमा आधारित भएर लेखिएको हुँदा केहि कथनहरु नेवार भाषामा आधारित छन् । समग्रमा सरल सहज तथा मानक नेपाली भाषाको प्रयोग यस नाटकमा भएको छ ।
निष्कर्ष
सामाजिक समस्यालाई उल्लेख गरिएको “यो प्रेम” सामाजिक नाटक हो । समाज र परम्पराभन्दा भिन्न भई स्वतन्त्र जीवन जिउन चाहने पात्रहरुको मानसिकता प्रस्तुत नाटकमा देखाइएको छ । यो नाटक मनोविज्ञानमा पनि आधारित छ । यसमा घटेका सम्पूर्ण घटनाहरु पात्रहरुको मानसिकता कै कारण बनेका छन् । घरमा श्रीमती हुँदा हुँदै पनि गंगासित लहसिने शेखर, विवाह भइसकेर पनि आफ्नो पुरानो प्रेमी शेखरलाई बिर्सन नसक्ने गंगा र आफ्नो परिवारलाई घृणा गर्ने प्रवृत्ति आदिका कारण दुर्घटनाहरु भएको वर्णन नाटकमा छ । समाजमा बहुविवाहका कारण धेरै पारिवारिक तथा सामाजिक समस्याहरु देखिएका छन् । स्वतन्त्रताका नाममा देखिएका असामाजिक क्रियाकलापलाई नाटकमा जंगली प्रेमको रुपमा उल्लेख गरिएको छ । समग्रमा भन्नुपर्दा प्रस्तुत नाटकको सामग्र कथावस्तुले प्रेमभन्दा विवाह र विवाहभन्दा मातृत्वलाई माथि राखेको छ ।

लेखिका उलक नेपाली भाषा साहित्यका अध्येता हुनुहुन्छ । उहाँको पानीमा आगो लगाउने मान्छे कविता संग्रह प्रकाशित छ
Thank you so much
Amazing 😄😍
Thank you 😊