भर्खरै :

ढुङ्गा छपाइ कार्यको सार्वजनिक परीक्षण कार्यक्रम

ढुङ्गा छपाइ कार्यको सार्वजनिक परीक्षण कार्यक्रम

भक्तपुर, २८ भदौ । भक्तपुर नगरपालिका वडा नं. ९ र १० मा पर्ने कमलविनायकदेखि नवदुर्गा मन्दिरसम्म ढुङ्गा छपाइ कार्य सम्पन्न भएपछि सो कामको सार्वजनिक परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिका हामी सबैको साझा संस्था हो, घोषणापत्रमा प्रतिबद्धता गरेअनुसार इमानदारीपूर्वक काम गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरलाई सफा, सुन्दर र शैक्षिक तथा पर्यटकीय गणतव्यको रूपमा विकास गर्न सम्पूर्ण जनताको साथ र सहयोगले मात्र जनप्रतिनिधिले कार्य गर्न सक्ने प्रस्ट पार्नुभयो ।
उहाँले ठेक्कामार्फत निर्माण भएका पूर्वाधारको गुणस्तर नभएको र उपभोक्ता समितिमार्फत काम गर्दा अपनत्व हुने, आर्थिक सहयोग तथा श्रमदानसमेत हुने हुँदा गुणस्तरीय पूर्वाधार निर्माण हुने बताउनुभयो ।
यस वर्षको चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्या पनि लामगालमा हुने भएकोले उपभोक्ता समितिमार्फत चौरको स्तरोन्नति कार्यअगाडि बढिरहेको जानकारी दिनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले बाटो सबैको साझा सम्पत्ति भएकोले सोको निर्माण तथा संरक्षण गर्ने कर्तव्य सबैको हो भन्नुभयो । उहाँले तःमुंज्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, सामाजिक र साहित्यिक विषयवस्तुमा धैरै महत्वपूर्ण विचार र जानकारी प्राप्त गर्न सक्ने दबु हो भन्नुभयो ।
ढुङ्गा छपाइ कार्य वडा नं. ९ र १० को संयुक्तरूपमा दुई–दुई चरण गरी कार्य सम्पन्न भएको थियो । जसमा ९ नं. वडातर्फको उपभोक्ता समितिका अध्यक्ष पशुपतिमान थकुले पहिलो चरणको कार्यको खर्च रु. १२,२९,३००।०० र दोस्रो चरणको कार्यको खर्च रु. ८,९७,३६४।०१ भएको जानकारी दिनुभयो । त्यस्तै, १० नं. वडातर्फको उपभोक्ता समितिका अध्यक्ष ज्ञानकुमार मगजुले पहिलो चरणको कार्यको खर्च रु. १२,२९,४९१।०० र दोस्रो चरणको कार्यको खर्च रु. ८,९५,८६४।०० भएको जानकारी दिनुभयो । कमलविनायकदेखि नवदुर्गा मन्दिरसम्म ढुङ्गा छपाइ कार्यको जम्मा खर्च रु. ४२,५२,०१९।०१ भएको छ ।
कार्यक्रमका सभापति एवम् नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले स्थानीय बासिन्दालाई बाटो निर्माण सम्पन्न भएको जानकारी दिन र सो कार्यको हिसाब किताब स्पष्ट पार्न यो कार्यक्रम भएको हो भन्नुभयो । उहाँले स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रमा हुने हरेक निर्माण कार्यहरूको चासो राख्नुपर्ने र समयमा सचेत गर्न सके निर्माण कार्य व्यवस्थित तरिकाले सफल र गुणस्तरीय हुने बताउनुभयो ।
उहाँले इमानदारीपूर्वक निःस्वार्थ भावनाले सहयोग गर्नुहुने उपभोक्ता समितिका पदाधिकारीहरू र समयसमयमा सुझाव तथा सहयोग गर्नुहुने स्थानीय बासिन्दालाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा लक्ष्मीप्रसाद चवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *