भर्खरै :

बाल दिवसको अवसरमा मेयरसँग बालबालिका अन्तरक्रिया कार्यक्रम

बाल दिवसको अवसरमा मेयरसँग बालबालिका अन्तरक्रिया कार्यक्रम

भक्तपुर, २९ भदौ । ६० औँ बाल दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा मेयरसँग बालबालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले बालबालिकामा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउँदै संविधानमा बाल अधिकारबारे महत्वपूर्ण व्यवस्था रहेकोले बालबालिकालाई सूसचित गराउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अनाथ बालबालिका हेर्ने जिम्मा सरकारको हो । समाजवादी देशहरूले बालबालिकाहरूमा लगाानी गर्छ । बालबालिकाको सर्वाङ्गीण विकासमा राज्यले प्राथमिकतामा राख्छ ।”
प्रमुख प्रजापतिले नगरपालिकाले बालबालिकालाई खेलकुद पूर्वाधार विकासअन्तर्गत कभर्ड हल निर्माण, शारीरिक व्यायामस्थल, खेलकुद प्रतियोगिता गरिँदै आएको चर्चा गर्दै स्तरीय पुस्तकालय बनाउने लक्ष्यअनुरुप भनपाले जनज्योति पुस्तकालय सञ्चालन, स–साना बालबालिकाको लागि शिशुस्याहार सञ्चालन, विद्यार्थीलाई शैक्षिक ऋणको ब्यवस्था, गरिब जेहेनदारलाई छात्रवृत्ति वितरण गरिदै आएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई आफूले अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्नुपर्ने र समाज परिवर्तनको आधार शिक्षा रहेकोले भनपाले सस्तो र गुणस्तरीय शिक्षामा जोड दिँदै देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आइरहको बताउनुभयो ।
उहाँले भ्रष्टाचारशून्य नगरपालिका बनाई पारदर्शिताको नमुनाको रुपमा भनपा उभिएको बताउँदै भक्तपुरले शिक्षाको जग हाली आज उत्कृष्ट कलेज सञ्चालन गरी उच्च शिक्षा प्रदान गर्दै आएको र अवसरवादी र स्वार्थबाट मुक्त भई विद्यार्थीहरूलाई समाज र देशको निम्ति काम गर्न उहाँले प्रेरित गर्नुभयो ।
भनपा ७ का वडा अध्यक्ष उकेश कवांले कुनै बेला भक्तपुर शैक्षिक क्षेत्रमा पछाडि परेको ठाउँ अहिले देशकै उत्कृष्ट बन्न सफल भएको र यसमा भक्तपुरका अग्रजहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले पारदर्शिता भक्तपुर नपाको अर्को विशेषता रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भनपा ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले भनपा सबैको साझा स्थानीय सरकार बताउँदै बालबालिकाहरूलाई आफ्नो नजिकको सरकारसँग नजिकमा राखेर विविध गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
शिक्षा शाखाका प्रमुख साधुराम फुयाँलले भक्तपुर नगरपालिकामा ३५ हजार १४२ जना बालबालिकाहरू अध्ययनरत रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले सम्पदा संरक्षण, हनुमन्ते खोला सुधार, खेलमैदान स्तरउन्नति, विद्यालय डुबान, समावेशी शिक्षा, स्थानीय पाठ्यपुस्तकका बारेमा प्रमुख प्रजापतिसँग जिज्ञासा राखेका थिए भने प्रमुख प्रजापतिले विद्यार्थीहरूबाट आएका प्रश्नको जवाफ दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *