भर्खरै :

नेपालभाषा साहित्य तमुंज्याको तयारीस्वरूप चिः मुंज्या सम्पन्न

नेपालभाषा साहित्य तमुंज्याको तयारीस्वरूप चिः मुंज्या सम्पन्न

भक्तपुर, भदौ २९ । यही आउँदो असोज २८ र २९ गते हुने दुईदिने चवालिसौँ नेपालभाषा साहित्य सम्मेलनको तयारी स्वरूप शनिबार चिःमुंज्या (साहित्य सम्मेलन) सम्पन्न भयो ।
नेमकिपा जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले तःमुंज्या भाषिक, साहित्यिक मात्र होइन राजनीतिक मञ्च पनि हो, मञ्चमा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाबारेमा पनि साहित्य लेख्नुपर्छ भन्नुभयो । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुने भएकाले स्वाधीन सार्वभौम देशमा भइरहेको अमेरिकी साम्राज्यवादको विरोध गर्नु अन्तर्राष्ट्रिय कर्तव्य हो भन्नुभयो ।
एमसीसी सम्झौताको विरोध गर्ने कुनै पनि दलालको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विश्वमा कामदार जनताको सेवाको निम्ति साहित्य लेख्नुपर्छ भन्नुभयो ।
जनकवि चन्द्रबहादुर उलकले वाचित कविताको समीक्षा गर्दै जनताको हितको निम्ति लेख्ने हो† साहित्यमार्फत समाजवादी विचार प्रचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका सल्लाहकार ज्ञानसागर प्रजापतिले चिः मुंज्याबाट नयाँ पुस्तालाई साहित्य क्षेत्रमा प्रेरित गर्नु आवश्यक कदम चाल्नुपर्ने बताउँदै कथा तथा निबन्धमा मौलिक विषयवस्तु र उचित भाषाको प्रयोग गर्न उत्साहित गर्नुभयो ।
युवाकवि दामोदर सुवालले बहुमत जनताको विचार प्रतिनिधित्व हुने विषयवस्तुलाई प्राथमिकता राखी उपमा र प्रतीकको प्रयोगलाई ध्यान दिनुपर्ने बताउँदै देशकाल परिस्थितिअनुसार साहित्यिक अनुप्रास, रस र अलङ्कारसहितको कविता रचना गर्न सुझाव दिनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले कथा लेखनमा पात्र चयन र विषयवस्तुकेन्द्रित गर्न सुझाव दिँदै साहित्य अध्ययन गरेका नयाँ पुस्ताले व्यवहारमा प्रयोग नगरेको गुनासो गर्नुभयो ।
चवालिसौँ नेपालभाषा तःमुंज्याका अध्यक्ष तथा चिःमुंज्याका सभापति कृष्णभक्त लवजूले जनताको भावना जनताले बुझ्ने गरी स्तरीय साहित्य सिर्जनाको लागि कार्यक्रम भएको बताउँदै दुईदिने तःमुंज्यालाई सफल बनाउन विभिन्न समिति तथा उपसमितिबाट भएको गतिविधिको बारेमा जानकारी दिनुभयो ।
गोष्ठीमा साहित्यिक समितिका संयोजक रामेश्वरी कोजुले स्वागत मन्तव्य र आयोजक समितिका सचिव सञ्जय मानन्धरले कार्यक्रमको उपादेयताबारे चर्चा गर्नुभयो ।
उक्त सम्मेलनमा भक्तपुर, टोखा, कीर्तिपुर तथा बनेपाका साहित्यकारहरूले कथा र कविता वाचन गरेका थिए ।

नृत्यकर्मी कलाकारहरूको भेला
चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा नृत्यकर्मी कलाकारहरूको भेला शनिबार सम्पन्न भयो ।
भेलामा अध्यक्ष कृष्णभक्त लवजुले भक्तपुर सफा नगर हुनुमा तःमुंज्याको पनि योगदान रहेको बताउँदै शिक्षा उत्थान र स्वास्थ्यमा सुधार आएको बताउनुभयो । उहाँले तःमुंज्या देश तथा विदेशबाट अवलोकन हुने भएकोले प्रस्तुतिहरू स्तरीय बनाउन हामी सबै लाग्नुपर्नेमा जोड दिँदै तःमुंज्या अन्तर्राष्ट्रवादी भएकोले यसपालिको स्वागत गानमा प्यालेस्टिनबारे आवाज उठाएको बताउनुभयो ।
कार्यक्रममा सांस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले यसपालिको तःमुंज्याको आवाज स्वागत गानमा नृत्य र अरु गीतहरूमा कलाकारहरूको छनोट गर्ने बताउनुभयो ।
कार्यक्रममा कलाकारहरूले नृत्य स्तरीय बनाउन विभिन्न सुझावहरू दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *