भर्खरै :

शासकवर्गको अजिङ्गर खान्की

शासकवर्गको अजिङ्गर खान्की

‘जो जो मिल्छ, सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो, थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो… यही चालासित कल्प कल्प कहिल्यै खाई अघाउन्न त्यो ।’
– कवि शिरोमणि लेखनाथ पौडेल ‘कालमहिमा’ कविताबाट

हामीले अति भ्रष्ट मान्ने गरेको राणा शासनको बेला ‘उनका खानदान’ बाहेक भ्रष्टाचार गर्ने तथा घुस लिनेलाई कडा सजाय हुन्थ्यो । बेइज्जत गरिन्थ्यो । राणा शासकले मनोमानी गरे पनि मुलुकमा अरुका निम्ति कडा दण्डनीति लागू गरेका थिए । राणाकालमा कुनै कर्मचारीले घुस खाएको उजुरीमा छानबिन गर्दा सत्य देखिएमा कठोर सजाय दिइन्थ्यो । आठपहरिया खटाई घुस्याहाको कपाल काटी, कोक्रामा हाली, नेल हत्कडी टोकी वा हरियो बाँसमा बाँधेर मुद्दा चलाइन्थ्यो । राणाकालमा भ्रष्टाचार गरेको रकमबाट तेब्बर असुली गरिन्थ्यो र जेलमा हालिन्थ्यो ।
दुनियाँदारका लागि कडा दण्डनीति भए पनि ‘श्री ३ राणाका निजी धन र राष्ट्रिय ढुकुटी’ छुट्याउने रेखा थिएन । मुलुकको धनमा श्री ३ राणाहरूको तजबिजी चल्थ्यो । राणाहरूका विशाल दरबार र उनका विलासी जीवनशैलीका लागि ‘तजबिजी’ शैलीमा खर्च हुन्थे । राणाका आलीशान दरबार बनेका थिए– मुलुककै ढुकुटीबाट । दरबारभित्र आन्तरिक सजावट निम्ति युरोप र बाहिरी मुलुकबाट महँगा सामान झिकाइन्थे र राणा दरबारले युरोपेली शान दिन्थे । एसियाकै विख्यात मानिएका सेतो दरबार, सिंहदरबार राणा शासकले आफ्ना मस्तीका निम्ति निर्माण गरेका थिए । राणा शासकहरूले मुलुककै ढुकुटीबाट १ सय दरबार बनाएको अनुमान इतिहासविद्हरूको छ । केही दरबार राष्ट्रियकरण भए पनि धेरैजसो राणाका निजी सम्पत्ति सीमितमै रहे ।
इतिहासविद् ज्ञानमणि नेपालले विदेशी लेखकको पुस्तक उद्धृत् गरी लेखेको ‘नेपाल निरूक्त’ पुस्तकमा पहिलो राणा शासक जङ्गबहादुर राणाले एउटा वेश्यासँग एक रात बिताउँदा राज्यको ढुकुटीबाट उतिबेला २ लाख ५० हजार पाउन्ड खर्च गरेका थिए । जङ्गबहादुर बेलायत जाँदा लुरावेल नामकी केटीसँग रात बिताएका थिए । वेलफास्टको एउटा दोकानमा सहायक थिई । ऊ पछि लण्डनकी प्रसिद्ध वेश्या भई । वि.सं. १९०७ मा ‘प्राइम मिनिस्टर महाराज’ जङ्गबहादुरसँग एकरातको २ लाख २५ हजार पाउन्ड लिएकी थिई ।
वृद्ध चन्द्र शमशेरको शासनकालको अन्त्यतिर नेपाल–तिब्बत लडाइँ हुनसक्ने सम्भावना देखापरेको थियो । लडाइँका निम्ति भनी मुलुकको ढुकुटी कसिएको थियो । भीमशमशेर श्री ३ बनेपछि तिब्बतसँगको लडाइँ टरेको थियो । तिब्बतसँग लड्न भनी मुलुकी खानामा रकम जम्मा गरिएको थियो । चन्द्र शमशेरले आफ्नो २८ वर्षको रजाईमा पुग नपुग आठ–नौ करोड रूपैयाँ कमाएका थिए । उनका उत्तराधिकारी भीम शमशेरले तीन करोड रूपैयाँ एकै दिनमा कमाए । १९८६ सालतिरको तीन करोड अहिलेको दरभाउमा अथाह कम हुन्छ । रातारात मुलुकीखानाबाट भीम शमशेरको दरबार टङ्गालमा गाडाका गाडा चाँदीका रूपैयाँका तोडा ओसारियो ।
राणा तथा राणासँग सम्बन्ध जोड्नेहरू शक्तिको आडमा भ्रष्टाचार या राज्य ढुकुटी मनमानी प्रयोग गर्थे । त्यतिबेला कर्मचारीले भ्रष्टाचार गर्नसक्ने अवस्था थिएन, किनकि त्यस्ता घुस खाने या भ्रष्टाचारमा संलग्न हुनेमाथि कडा सजाय हुन्थ्यो । कर्मचारी नियक्ति, अदली, बदली, हुँदाखेरि घुस रिसवत खाने छैन भनी शालिग्राम, तामा, तुलसी शिरमा राखी शपथ ख्याइन्थ्यो । कर्मचारीले घुस नखानू, दुनियाँको काम तदारूकतासाथ गरी दिनू भन्ने बहाली पुर्जीमा जनिन्थ्यो ।
‘घुस, रीसवत नखाई आफ्नु बिरानु नछुट्याई, निसाफ ग¥या लेखियाको कुरा छोडी जानी जानी अधर्म गरी जो पछि निसाफ गर्ला यहाँ राजदण्डमा पर्ला, म¥यापछि ज्यामराज दण्डमा पर्ला’ श्री ५ सुरेन्द्रको पालामा १९१० बनेको मुलुकी ऐनमा कर्मचारीले घुस खायो भन्ने कुराको उजुरी अपिल सुन्न अड्डामा ठाडै दर्ता हुने व्यवस्था थियो । हाकिमले घुस खायो भन्ने नालिश उजुरीको लगत ६/६ महिनामा झिकाई अपिल सुन्ने अड्डाले पजनीको कागज जाहेर गर्ने कुरा ‘हाकिमका नाउँमा कराउनेको महल’ मा व्यवस्था गरिएको पाइन्छ । उतिबेला निर्णयकर्ता हाकिमबाट हुने भ्रष्टाचारजस्ता काम कारबाही नियन्त्रण गर्न सकिने ठाउँ थियो ।
राणाकालमा सामान्य घुस लिने/दिने छुट दिएको पनि देखिन्छ । इमानदारीसाथ जनताको छिटो काम गरेबापत दिएको डाली, पान सुपारी, कोट र सौगातलाई घुस ठहरिँदैनथ्यो । अड्डाका कर्मचारीलाई कोट लगाउनुहोस् भनी ८/१० रूपैयाँ दिने चलन थियो । जनतालाई अक्करमा पारेर ढिला सुस्ती गरेर, राजस्व मारेर, लगत इस्टिमेट तानतुन पारेर, काम बिगारेर, बदनियत र अख्तियारको दुरुपयोग गरेर थैलाका थैला घुस खाने, ख्वाउने चलन नेपालमा त्यसबेला छँदै थिएन । पाएको महिनावारीले सबैजसो कर्मचारीलाई एक पेट मनग्य खान पुग्थ्यो । रसरङ्ग, भड्किला, खर्चिला चाल–चलन औकात नाघेर लगाउने, खाने बानी र महँगी त्यसबेला उस्तो नहुँदा निजामती कर्मचारीको सेवाको हद नतोकिएकोले कर्मचारी प्रायः कहिले पनि मुक्त हुँदैनथे । कर्मचारीहरू काम बिग्रेला र नाम जाला भनेर खुब डराउने हुँदा घुस्याहा प्रवृत्ति उनीहरूमा कम थियो । घुस भनेको माथिल्लो स्तरका व्यक्तिले खान सुरु गरेपछि मात्र अनि तल्ला तहका कर्मचारीले पनि आँटेर देखासिकी गर्ने एक प्रकारको वृणित रोग हो । त्यस्तो चलन नेपालको प्रशासनमा त्यसबेला थिएन । आफूले गरेको काम बिग्रेला, बाबु बाजेदेखि कमाएको नाम र इज्जत जाला र पजनी खोलिएला भनेर कर्मचारीहरू सदा थर्कमान हुन्थे । घुस खाएको शङ्का लागेका कर्मचारीहरू प्रायः पजनीमा खोसिन्थे । घुस दिने पोकामा काला मोहर घुसाएर कताकति सिंहदरबारका आठपहरियाले थैलीसहित थलैमा घुस्याहाहरूलाई समात्ने चलन थियो । श्री ३ जुद्धका एकाध छोराले अरुसँग मिली परोक्ष किसिमबाट व्यापार गरे भन्ने गोप्य रिपोर्ट पर्दा उनले छोरालाई ठुलो नसिहत दिएथे । रोलवाला सत्र भाइले कुनै घुसपेस खायो, व्यापार गर्यो भने १९७७ सालमा भाकेको धर्मपुत्रले पोल्छ र घुस खाएको कतैबाट साबित भयो भने रोलबाट हटिन्छ भन्ने डर र जगजगी मान्थे । माथिल्लो तहमा बसी सरकारी काम गर्ने रोलवाला सत्र भाइमा घुस खाने चलन नहुँदा उनीहरूको मातहतमा बसी काम गर्ने अरु कुनै हाकिम, कारिन्दाहरूको घुस खाने र ख्वाउने हिम्मत त्यसबेला हुँदैनथ्यो । अरु आयस्रोत बलियो हुँदा, राणाजी सत्र भाइलाई घुस खान पर्ने बाध्यता पनि थिएन ।
राणाकालअघि राज्य सञ्चालनमा रहेकाले सरकारी रकम खर्चको हिसाब–किताब कुमारी चोकमा बुझाउने चलन थियो । त्यतिबेला वास्तविक किसिमले हिसाबकिताब नबुझाए बापत कारबाही भएका किंवदन्ती अझै चलन चल्तीमा आउने गर्छन् । राजसहायक बहादुर शाह, मुख्तियार भीमसेन थापा, आदिकवि भानुभक्त आचार्यजस्ता व्यक्तिले कुमारी चोकमा हिसाब–किताब फछ्र्याेट नगर्दा सजाय भोगेका थिए ।
मुलुक एकीकरण गर्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशले पनि त्यतिबेलाको समाजमा घुसखोरीले प्रवेश गरेको सङ्केत मिल्छ र कडा सजाय दिन अभिप्रेरित गरेको पाइन्छ । ‘निया निसाफ बिगान्र्या भन्याको घुस दिन्या र खान्या राजाका महाशतुर हुन् । यिनले न्याय बिर्गाछन् यिनको सर्वस्व हरण गरी यिनलाई मृत्युदण्ड दिया पनि पाप लाग्न्या छैन’ श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहको कथन थियो ।
पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको हत्या मुलुकको ढुकुटी हिनामिनासम्बन्धी कचहरीका बखत भएको थियो । फिरङ्गीलाई कोठी (अङ्ग्रेजलाई पसल) सञ्चालन र १८ हजार सरकारी रकम मासिएको विषयमा कहचरी भइरहेको थियो । कहचरीका बेला स्वामी महाराज रणबहादुर शाहले त्यसमा दोषी देखिएका त्रिभुवन प्रधानलाई काटिदिने आदेश दिएका थिए । त्यसपछि प्रधानलाई काट्न विष्णुमतितिर लग्दा उनले बाटामा यसमा अरु पनि संलग्न छन् भनी एउटा कागज रणबहादुर शाहकहाँ पठाए । त्यस अभियोगमा सरकार लागेको त्रिभुवन प्रधानको घरमा कचहरीसभा बोलाइएको थियो । घटना १८६३ वैशाख १० गते रातिको हो ।
त्यतिबेला रणबहादुर शाहका ८ वर्षीय छोरा गीर्वाणयुद्ध विक्रम शाह राजा थिए भने रणबहादुर मुख्तियार थिए । सरकारी ढुकुटीको १८ हजार रकम प्रयोग गरी आफूलाई कासी धपाउन खर्च भएको र कीर्तिपुरमा अङ्ग्रेजलाई कोठी खोल्न दिएकोमा रणबहादुर शाह रिसाएका थिए । कचहरीका बेला हताश चौतरिया शेरबहादुर शाहले ‘यो बात मलाई लाग्यो कि लागेन’ भनी प्रश्न गरे । रणबहादुर शाहले ‘तलाई पनि बात लाग्यो’ भने । त्यसको केही क्षणपछि शेरबहादुर शाहले आफूले बोकेको तरबारले रणबहादुर शाहको हत्या गरेका थिए ।
पत्नी कान्तमतिको देहान्तपछि छोरालाई राजपाठ सुम्पेर स्वामी भई वनारस गएका रणबहादुर शाहलाई काठमाडौँ फर्काउने व्यक्तिमा चौतरिया शेरबहादुर शाह थिए । कचहरीका बेला आफूमाथि मुख्तियारबाट ‘बात’ आदेशपछि शेरबहादुर हताश थिए । उनले पानी खान जान्छु भनी निम्के । त्यसपछि आफूले केही बिराएको छैन भनी माफी मागे । त्यतिबेला रणबहादुर शाहले ‘नातिको मुख सुक्यो’ भने । फेरि पानी पिउन गएका शेरबहादुर फर्केर आएपछि म्यानबाट तरबार झिकी रणबहादुरको हत्या गरेका थिए । तत्काल जङ्गबहादुरका पिता बालनरसिंह कुँवरले शेरबहादुरलाई मारेका थिए । यो घटनामा ९३ जना मारिएका थिए ।
राणाकाल र त्योभन्दा अघिको नेपाली समाजमा भ्रष्टाचार गर्यो या घुस खायो भने ‘पाप’ लाग्छ भन्ने धार्मिक डर थियो । घुसको पैसा–परालको आगो, पिसावको न्यानो र असतको धन जस्तो ठहरिने हुँदा त्यो धेरैबेर टिक्दैन भन्ने त्यसबखत आममान्यता थियो । पाप गरे नर्क पुगिने डरले पनि त्यतिबेला खासै आर्थिक अपराध हुँदैनथ्यो । तर, अहिलेको भौतिकवादी युगमा पाप–धर्मका कुराले समाज नियन्त्रण हुन सक्दैन । अहिले नियन्त्रणको उपाय भनेको कानुनी कठोर सजाय हो ।
नेपाली इतिहासमा शासक तथा तिनका शक्तिसम्पन्न भारदारहरूले मुलुक सोसेर अकुत सम्पत्ति जोड्ने परम्परा स्थापित भएको छ । शासकहरूमाथि त्यति कारबाही भएको पाइँदैन । कालान्तरमा मुलुक सोसेको सम्पत्तिबाट ‘कुलीनवर्ग’ मा स्थापित हुने प्रचलन छ । इतिहासमात्र नभएर वर्तमानमा पनि त्यही नियतिहरू दोहोरिरहेछन् – शासन–सत्ता दुरूपयोग र भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउने र ‘कुलीन’ बन्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *