रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
‘जो जो मिल्छ, सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो, थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो… यही चालासित कल्प कल्प कहिल्यै खाई अघाउन्न त्यो ।’
– कवि शिरोमणि लेखनाथ पौडेल ‘कालमहिमा’ कविताबाट
हामीले अति भ्रष्ट मान्ने गरेको राणा शासनको बेला ‘उनका खानदान’ बाहेक भ्रष्टाचार गर्ने तथा घुस लिनेलाई कडा सजाय हुन्थ्यो । बेइज्जत गरिन्थ्यो । राणा शासकले मनोमानी गरे पनि मुलुकमा अरुका निम्ति कडा दण्डनीति लागू गरेका थिए । राणाकालमा कुनै कर्मचारीले घुस खाएको उजुरीमा छानबिन गर्दा सत्य देखिएमा कठोर सजाय दिइन्थ्यो । आठपहरिया खटाई घुस्याहाको कपाल काटी, कोक्रामा हाली, नेल हत्कडी टोकी वा हरियो बाँसमा बाँधेर मुद्दा चलाइन्थ्यो । राणाकालमा भ्रष्टाचार गरेको रकमबाट तेब्बर असुली गरिन्थ्यो र जेलमा हालिन्थ्यो ।
दुनियाँदारका लागि कडा दण्डनीति भए पनि ‘श्री ३ राणाका निजी धन र राष्ट्रिय ढुकुटी’ छुट्याउने रेखा थिएन । मुलुकको धनमा श्री ३ राणाहरूको तजबिजी चल्थ्यो । राणाहरूका विशाल दरबार र उनका विलासी जीवनशैलीका लागि ‘तजबिजी’ शैलीमा खर्च हुन्थे । राणाका आलीशान दरबार बनेका थिए– मुलुककै ढुकुटीबाट । दरबारभित्र आन्तरिक सजावट निम्ति युरोप र बाहिरी मुलुकबाट महँगा सामान झिकाइन्थे र राणा दरबारले युरोपेली शान दिन्थे । एसियाकै विख्यात मानिएका सेतो दरबार, सिंहदरबार राणा शासकले आफ्ना मस्तीका निम्ति निर्माण गरेका थिए । राणा शासकहरूले मुलुककै ढुकुटीबाट १ सय दरबार बनाएको अनुमान इतिहासविद्हरूको छ । केही दरबार राष्ट्रियकरण भए पनि धेरैजसो राणाका निजी सम्पत्ति सीमितमै रहे ।
इतिहासविद् ज्ञानमणि नेपालले विदेशी लेखकको पुस्तक उद्धृत् गरी लेखेको ‘नेपाल निरूक्त’ पुस्तकमा पहिलो राणा शासक जङ्गबहादुर राणाले एउटा वेश्यासँग एक रात बिताउँदा राज्यको ढुकुटीबाट उतिबेला २ लाख ५० हजार पाउन्ड खर्च गरेका थिए । जङ्गबहादुर बेलायत जाँदा लुरावेल नामकी केटीसँग रात बिताएका थिए । वेलफास्टको एउटा दोकानमा सहायक थिई । ऊ पछि लण्डनकी प्रसिद्ध वेश्या भई । वि.सं. १९०७ मा ‘प्राइम मिनिस्टर महाराज’ जङ्गबहादुरसँग एकरातको २ लाख २५ हजार पाउन्ड लिएकी थिई ।
वृद्ध चन्द्र शमशेरको शासनकालको अन्त्यतिर नेपाल–तिब्बत लडाइँ हुनसक्ने सम्भावना देखापरेको थियो । लडाइँका निम्ति भनी मुलुकको ढुकुटी कसिएको थियो । भीमशमशेर श्री ३ बनेपछि तिब्बतसँगको लडाइँ टरेको थियो । तिब्बतसँग लड्न भनी मुलुकी खानामा रकम जम्मा गरिएको थियो । चन्द्र शमशेरले आफ्नो २८ वर्षको रजाईमा पुग नपुग आठ–नौ करोड रूपैयाँ कमाएका थिए । उनका उत्तराधिकारी भीम शमशेरले तीन करोड रूपैयाँ एकै दिनमा कमाए । १९८६ सालतिरको तीन करोड अहिलेको दरभाउमा अथाह कम हुन्छ । रातारात मुलुकीखानाबाट भीम शमशेरको दरबार टङ्गालमा गाडाका गाडा चाँदीका रूपैयाँका तोडा ओसारियो ।
राणा तथा राणासँग सम्बन्ध जोड्नेहरू शक्तिको आडमा भ्रष्टाचार या राज्य ढुकुटी मनमानी प्रयोग गर्थे । त्यतिबेला कर्मचारीले भ्रष्टाचार गर्नसक्ने अवस्था थिएन, किनकि त्यस्ता घुस खाने या भ्रष्टाचारमा संलग्न हुनेमाथि कडा सजाय हुन्थ्यो । कर्मचारी नियक्ति, अदली, बदली, हुँदाखेरि घुस रिसवत खाने छैन भनी शालिग्राम, तामा, तुलसी शिरमा राखी शपथ ख्याइन्थ्यो । कर्मचारीले घुस नखानू, दुनियाँको काम तदारूकतासाथ गरी दिनू भन्ने बहाली पुर्जीमा जनिन्थ्यो ।
‘घुस, रीसवत नखाई आफ्नु बिरानु नछुट्याई, निसाफ ग¥या लेखियाको कुरा छोडी जानी जानी अधर्म गरी जो पछि निसाफ गर्ला यहाँ राजदण्डमा पर्ला, म¥यापछि ज्यामराज दण्डमा पर्ला’ श्री ५ सुरेन्द्रको पालामा १९१० बनेको मुलुकी ऐनमा कर्मचारीले घुस खायो भन्ने कुराको उजुरी अपिल सुन्न अड्डामा ठाडै दर्ता हुने व्यवस्था थियो । हाकिमले घुस खायो भन्ने नालिश उजुरीको लगत ६/६ महिनामा झिकाई अपिल सुन्ने अड्डाले पजनीको कागज जाहेर गर्ने कुरा ‘हाकिमका नाउँमा कराउनेको महल’ मा व्यवस्था गरिएको पाइन्छ । उतिबेला निर्णयकर्ता हाकिमबाट हुने भ्रष्टाचारजस्ता काम कारबाही नियन्त्रण गर्न सकिने ठाउँ थियो ।
राणाकालमा सामान्य घुस लिने/दिने छुट दिएको पनि देखिन्छ । इमानदारीसाथ जनताको छिटो काम गरेबापत दिएको डाली, पान सुपारी, कोट र सौगातलाई घुस ठहरिँदैनथ्यो । अड्डाका कर्मचारीलाई कोट लगाउनुहोस् भनी ८/१० रूपैयाँ दिने चलन थियो । जनतालाई अक्करमा पारेर ढिला सुस्ती गरेर, राजस्व मारेर, लगत इस्टिमेट तानतुन पारेर, काम बिगारेर, बदनियत र अख्तियारको दुरुपयोग गरेर थैलाका थैला घुस खाने, ख्वाउने चलन नेपालमा त्यसबेला छँदै थिएन । पाएको महिनावारीले सबैजसो कर्मचारीलाई एक पेट मनग्य खान पुग्थ्यो । रसरङ्ग, भड्किला, खर्चिला चाल–चलन औकात नाघेर लगाउने, खाने बानी र महँगी त्यसबेला उस्तो नहुँदा निजामती कर्मचारीको सेवाको हद नतोकिएकोले कर्मचारी प्रायः कहिले पनि मुक्त हुँदैनथे । कर्मचारीहरू काम बिग्रेला र नाम जाला भनेर खुब डराउने हुँदा घुस्याहा प्रवृत्ति उनीहरूमा कम थियो । घुस भनेको माथिल्लो स्तरका व्यक्तिले खान सुरु गरेपछि मात्र अनि तल्ला तहका कर्मचारीले पनि आँटेर देखासिकी गर्ने एक प्रकारको वृणित रोग हो । त्यस्तो चलन नेपालको प्रशासनमा त्यसबेला थिएन । आफूले गरेको काम बिग्रेला, बाबु बाजेदेखि कमाएको नाम र इज्जत जाला र पजनी खोलिएला भनेर कर्मचारीहरू सदा थर्कमान हुन्थे । घुस खाएको शङ्का लागेका कर्मचारीहरू प्रायः पजनीमा खोसिन्थे । घुस दिने पोकामा काला मोहर घुसाएर कताकति सिंहदरबारका आठपहरियाले थैलीसहित थलैमा घुस्याहाहरूलाई समात्ने चलन थियो । श्री ३ जुद्धका एकाध छोराले अरुसँग मिली परोक्ष किसिमबाट व्यापार गरे भन्ने गोप्य रिपोर्ट पर्दा उनले छोरालाई ठुलो नसिहत दिएथे । रोलवाला सत्र भाइले कुनै घुसपेस खायो, व्यापार गर्यो भने १९७७ सालमा भाकेको धर्मपुत्रले पोल्छ र घुस खाएको कतैबाट साबित भयो भने रोलबाट हटिन्छ भन्ने डर र जगजगी मान्थे । माथिल्लो तहमा बसी सरकारी काम गर्ने रोलवाला सत्र भाइमा घुस खाने चलन नहुँदा उनीहरूको मातहतमा बसी काम गर्ने अरु कुनै हाकिम, कारिन्दाहरूको घुस खाने र ख्वाउने हिम्मत त्यसबेला हुँदैनथ्यो । अरु आयस्रोत बलियो हुँदा, राणाजी सत्र भाइलाई घुस खान पर्ने बाध्यता पनि थिएन ।
राणाकालअघि राज्य सञ्चालनमा रहेकाले सरकारी रकम खर्चको हिसाब–किताब कुमारी चोकमा बुझाउने चलन थियो । त्यतिबेला वास्तविक किसिमले हिसाबकिताब नबुझाए बापत कारबाही भएका किंवदन्ती अझै चलन चल्तीमा आउने गर्छन् । राजसहायक बहादुर शाह, मुख्तियार भीमसेन थापा, आदिकवि भानुभक्त आचार्यजस्ता व्यक्तिले कुमारी चोकमा हिसाब–किताब फछ्र्याेट नगर्दा सजाय भोगेका थिए ।
मुलुक एकीकरण गर्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशले पनि त्यतिबेलाको समाजमा घुसखोरीले प्रवेश गरेको सङ्केत मिल्छ र कडा सजाय दिन अभिप्रेरित गरेको पाइन्छ । ‘निया निसाफ बिगान्र्या भन्याको घुस दिन्या र खान्या राजाका महाशतुर हुन् । यिनले न्याय बिर्गाछन् यिनको सर्वस्व हरण गरी यिनलाई मृत्युदण्ड दिया पनि पाप लाग्न्या छैन’ श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहको कथन थियो ।
पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको हत्या मुलुकको ढुकुटी हिनामिनासम्बन्धी कचहरीका बखत भएको थियो । फिरङ्गीलाई कोठी (अङ्ग्रेजलाई पसल) सञ्चालन र १८ हजार सरकारी रकम मासिएको विषयमा कहचरी भइरहेको थियो । कहचरीका बेला स्वामी महाराज रणबहादुर शाहले त्यसमा दोषी देखिएका त्रिभुवन प्रधानलाई काटिदिने आदेश दिएका थिए । त्यसपछि प्रधानलाई काट्न विष्णुमतितिर लग्दा उनले बाटामा यसमा अरु पनि संलग्न छन् भनी एउटा कागज रणबहादुर शाहकहाँ पठाए । त्यस अभियोगमा सरकार लागेको त्रिभुवन प्रधानको घरमा कचहरीसभा बोलाइएको थियो । घटना १८६३ वैशाख १० गते रातिको हो ।
त्यतिबेला रणबहादुर शाहका ८ वर्षीय छोरा गीर्वाणयुद्ध विक्रम शाह राजा थिए भने रणबहादुर मुख्तियार थिए । सरकारी ढुकुटीको १८ हजार रकम प्रयोग गरी आफूलाई कासी धपाउन खर्च भएको र कीर्तिपुरमा अङ्ग्रेजलाई कोठी खोल्न दिएकोमा रणबहादुर शाह रिसाएका थिए । कचहरीका बेला हताश चौतरिया शेरबहादुर शाहले ‘यो बात मलाई लाग्यो कि लागेन’ भनी प्रश्न गरे । रणबहादुर शाहले ‘तलाई पनि बात लाग्यो’ भने । त्यसको केही क्षणपछि शेरबहादुर शाहले आफूले बोकेको तरबारले रणबहादुर शाहको हत्या गरेका थिए ।
पत्नी कान्तमतिको देहान्तपछि छोरालाई राजपाठ सुम्पेर स्वामी भई वनारस गएका रणबहादुर शाहलाई काठमाडौँ फर्काउने व्यक्तिमा चौतरिया शेरबहादुर शाह थिए । कचहरीका बेला आफूमाथि मुख्तियारबाट ‘बात’ आदेशपछि शेरबहादुर हताश थिए । उनले पानी खान जान्छु भनी निम्के । त्यसपछि आफूले केही बिराएको छैन भनी माफी मागे । त्यतिबेला रणबहादुर शाहले ‘नातिको मुख सुक्यो’ भने । फेरि पानी पिउन गएका शेरबहादुर फर्केर आएपछि म्यानबाट तरबार झिकी रणबहादुरको हत्या गरेका थिए । तत्काल जङ्गबहादुरका पिता बालनरसिंह कुँवरले शेरबहादुरलाई मारेका थिए । यो घटनामा ९३ जना मारिएका थिए ।
राणाकाल र त्योभन्दा अघिको नेपाली समाजमा भ्रष्टाचार गर्यो या घुस खायो भने ‘पाप’ लाग्छ भन्ने धार्मिक डर थियो । घुसको पैसा–परालको आगो, पिसावको न्यानो र असतको धन जस्तो ठहरिने हुँदा त्यो धेरैबेर टिक्दैन भन्ने त्यसबखत आममान्यता थियो । पाप गरे नर्क पुगिने डरले पनि त्यतिबेला खासै आर्थिक अपराध हुँदैनथ्यो । तर, अहिलेको भौतिकवादी युगमा पाप–धर्मका कुराले समाज नियन्त्रण हुन सक्दैन । अहिले नियन्त्रणको उपाय भनेको कानुनी कठोर सजाय हो ।
नेपाली इतिहासमा शासक तथा तिनका शक्तिसम्पन्न भारदारहरूले मुलुक सोसेर अकुत सम्पत्ति जोड्ने परम्परा स्थापित भएको छ । शासकहरूमाथि त्यति कारबाही भएको पाइँदैन । कालान्तरमा मुलुक सोसेको सम्पत्तिबाट ‘कुलीनवर्ग’ मा स्थापित हुने प्रचलन छ । इतिहासमात्र नभएर वर्तमानमा पनि त्यही नियतिहरू दोहोरिरहेछन् – शासन–सत्ता दुरूपयोग र भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउने र ‘कुलीन’ बन्ने ।
Leave a Reply