भर्खरै :

भोलाछेँ पाटी पुनः निर्माणको निम्ति शिलान्यास

भोलाछेँ पाटी पुनः निर्माणको निम्ति शिलान्यास

भक्तपुर, १० असोज । भक्तपुर नपा वडा नं. ६ स्थित भोलाछेँ पाटी पुनः निर्माण शिलान्यास कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई जगेर्ना र संरक्षण गर्न स्थानीय नगरवासीहरूको सल्लाह–सुझाव, साथ, समर्थन तथा सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत स्थानीय स्रोत, साधन, सीप, श्रमको सदुपयोग गरी नगरका मठ–मन्दिर, पाटी–पौवा, पोखरी, सडक तडारुकताका साथ निर्माण कार्यअघि बढिरहेको चर्चा गर्नुभयो ।
उहाँले ‘सय वर्षपछिको भक्तपुर’ र ‘एक घर एक स्नातक’ नारालाई सार्थक बनाउन शिशु स्याहार केन्द्रदेखि इन्जिनियरिङ, नर्सिङ, कानुन सङ्कायको अध्यापन भइरहेको बताउँदै ख्वप विश्वविद्यालय स्वीकृतिको लागि हाल सर्वेक्षण, निरीक्षण र अवलोकन कार्य अघि बढिरहेको छ भन्नुभयो । नाचगानको सहर भक्तपुरलाई सार्थक तुल्याउन विभिन्न चाँडपर्व, जात्रा, सांस्कृतिक प्रदर्शनीलाई हौसला प्रदान गर्दै सांस्कृतिक गुरुहरूलाई नपाले सम्मानित गरिरहेको उहाँले बताउनुभयो ।
भनपा ६ नं. वडाका वडाध्यक्ष हरिराम सुवालले वडाको पाटीपौवा, मठमन्दिर, द्योछेँ, पुनर्निर्माण र विकास कार्यमा स्थानीय वडावासीहरूको अतुलनीय योगदान रहेको चर्चा गर्दै आगामी दिनहरूमा पनि वडावासीहरूको सल्लाह सुझावमा विकास निर्माण कार्य अगाडि बढाउने विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका जिल्ला अध्यक्ष गोविन्द दुवालले पर्यटक शुल्कबाट नगरमा शिक्षा, स्वास्थ्य, मठमन्दिर र पाटीपौवा जिर्णाेद्वार तथा संरक्षण गर्न थप टेवा मिलेको चर्चा गर्दै नेमकिपाले गरेको किसान आन्दोलनले किसानहरूको राजनैतिक एवम् सांस्कृतिक स्तर उठेको छ भन्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले भक्तपुर नपाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको चर्चा गर्दै आर्थिक अवस्था कमजोर भएकाहरूलाई पाठेघर क्यान्सरलगायतका स्वास्थ्य शिविरहरू सञ्चालनले नगरवासीहरूको स्वास्थ्य लाभान्वित भएको छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भोलाछेँ पाटी पुनर्निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष कृष्णभक्त चाँगुभारीले वडा बजेटबाट व्यहोर्ने पाटी पुनर्निर्माण कार्य वडावासीहरूको साथ, सहयोगबाट उक्त पाटीको पुनर्निर्माण सम्पन्न गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा गोपीकृष्ण चाँगुभारी, सानुमाया बजिको र विकुनारायण चोकामीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *