भर्खरै :

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरूहरूको सम्मान नयाँ पुस्तालाई सांस्कृतिक अतिक्रमणबारे सजग गराउनुपर्ने

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरूहरूको सम्मान  नयाँ पुस्तालाई सांस्कृतिक अतिक्रमणबारे सजग गराउनुपर्ने

भक्तपुर, ११ असोज । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा गुन्हीपुन्ही सापारू – २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरूहरूको सम्मान तथा पर्यटन सम्बद्व सङ्घ संस्था, व्यवसायी र सहयोगीहरूलाई सम्मान कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा सम्मानित संस्कृतिकर्मी र सांस्कृतिक गुरूहरूलाई बधाई दिँदै सांसद सुवालले भक्तपुरलाई सफा, स्वच्छ र पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न नगरबासीहरूलाई लागिरहेका छन् र अझ लाग्न जरुरी छ भन्नुभयो ।
भनपाबाट सञ्चालित कलेजहरूमा देशभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय शिक्षा लिने अवसर पाइरहेको र ख्वप विश्वविद्यालय सञ्चालनले सस्तोमा मेडिकल शिक्षासमेत पाउने उहाँले बताउनुभयो ।
डेङ्गु सङ्क्रमण अहिले बढिरहेको बताउँदै सांसद सुवालले नागरिकलाई स्वस्थ राख्न सरसफाइ र खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले नयाँ पुस्तालाई सांस्कृतिक अतिक्रमणबारे सजग गराउनु जरुरी छ भन्नुभयो ।
“भनपाले सञ्चालन गरेको छिकोङ व्यायाम श्वासप्रश्वाससँग सम्बन्धित शारीरिक व्यायाम भएको र यो व्यायाम सम्पूर्ण उमेर समूहको लागि फलदायी भएको छ”, उहाँले भन्नुभयो ।
“संस्कृति भनेको सभ्यताको विकास हो र यहाँको कला, संस्कृति, सम्पदाको संरक्षणले नयाँ पुस्ताको सेवा हुनेछ । काठमाडौँ केन्द्रित विकासले उपत्यकाको जनसङ्ख्या अत्यधिक बढेको र धेरै समस्याहरू पनि निम्तिएकोले पश्चिम नेपालको विकास गर्न नेपालको राजधानी दाङमा सार्नुपर्छ”, सांसद सुवालले भन्नुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा पुरस्कृत हुने सबैमा बधाई एवम् धन्यवाद ज्ञापन गर्नुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न भक्तपुर नपाले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर काम गर्दै आएको चर्चा गर्दै भनपामा गत वर्ष १ लाख ४६ हजार विदेशी पर्यटकहरूले भक्तपुर भ्रमण गरेको जानकारी दिनुभयो ।
भक्तपुर नपाले २०८१ मंसिर २८ देखि पुस २ गतेसम्म ५ दिने भक्तपुर महोत्सव गर्ने तयारी गरिरहेको जानकारी गराउँदै प्रमुख प्रजापतिले भक्तपुर महोत्सव भव्य रूपमा सम्पन्न गर्न सबैको साथ र सहयोग रहने आशा व्यक्त गर्नुभयो ।
भक्तपुरका मूर्त अमूर्त सम्पदाहरू यहाँका सम्पत्ति हुन् भन्दै उहाँले ती सम्पत्ति लोप हुनु भनेको राज्यको निम्ति ठुलो क्षति हुने भएकोले सबै जाति, धर्म र संस्कृति रक्षा गर्नु राज्यको जिम्मेवारी र कर्तव्य भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले पर्यटन प्रवद्र्धनको निम्ति शान्ति र सुरक्षा हुनु अपरिहार्य भएको धारणा राख्दै सांस्कृतिक, साहित्यिक, सामाजिक र राजनीतिक गतिविधिलाई सँगसँगै अगाडि बढाउन सके जनताको चेतनास्तर अभिवृद्धिमा टेवा पुग्ने बताउनुभयो ।
प्रगतिशील साहित्य, राजनीति र सङ्गठन भनेको सभ्य जातिको कला, संस्कृति संरक्षण गर्ने सशक्त माध्यम हो, भक्तपुर नगर सांस्कृतिक नायक र गुरूहरूको सहर हो, उहाँले भन्नुभयो ।
संरा अमेरिकाको आडमा संसारका धेरै देशहरूमा युद्ध जारी रहेको उल्लेख गर्दै सांसद गोसाईले साम्राज्यवादी देशले संसारमा गरिरहेको नरसंहार र हमलाको विरोधमा लेखक तथा कलाकारहरूले कलम चलाउनु सान्दर्भिक हुने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको पहिचानसँग सम्बन्धित मूर्त र अमूर्त संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्ने लक्ष्यका साथ यहाँका संस्कृतिकर्मीहरूलाई प्रोत्साहनस्वरूप सम्मान र्काक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले विदेशी पर्यटकहरूबाट उठाउँदै आएको पर्यटन शुल्कबाट नगरको सन्तुलित ढङ्गले विकास गर्दै आज देशकै सफल स्थानीय तहको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको उहाँले बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पर्यटन उद्योग नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्रोत भएकोले पर्यटन उद्योगको प्रवद्र्धनमा राज्यको लगानी आवश्यक छ भन्नुभयो ।
“यहाँको मौलिकता जोगाउन भनपाले गरिएका सांस्कृतिक गतिविधिहरू प्रशंसनीय छ । भनपाले पर्यटकलक्षित होम स्टेहरू सञ्चालन गरी पर्यटकहरूको बसाई लम्ब्याउनेतर्फ जोड दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
संस्कृतिविद् विश्वमोहन जोशीले पर्यटन दिवस मनाउनुको इतिहास र उद्देश्यबारे प्रस्ट पार्दै सांस्कृतिक सम्पदा, ऐतिहासिक गतिविधि, कला र संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
राष्ट्रिय कला सङ्ग्रहालयका अधिकृत यमुना महर्जनले भक्तपुर घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरूको आगमन उत्साहजनक रहेको उल्लेख गर्दै भक्तपुरका लोपोन्मुख कला र संस्कृति संरक्षणमा भनपाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनी धौबन्जाले संस्कृतिकर्मी र सांस्कृतिक गुरू सम्मान कार्यक्रमले कलाकार र संस्कृतिकर्मीमा थप ऊर्जा र हौसला मिल्नेछ भन्दै भक्तपुर उद्योग वाणिज्य सङ्घले भक्तपुर नपासँग सहकार्य र समन्वयमा यहाँको व्यापार व्यवसाय प्रवद्र्धन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरूको मूल्याङ्कनको समीक्षा गर्नुभएको थियो भने भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीद्र ज्याख्वले यो वर्ष पनि प्रत्येक वडाबाट २ जना सांस्कृतिक गुरूहरूलाई उहाँहरूको योगदानको कदर गर्दै भक्तपुर नपाले सम्मान गरिएको र यो वर्षको गुन्हीपुन्ही सापारूमा विविध विधाअन्तर्गत १४२ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएको बताउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सुवालले पर्यटन पथ प्रदर्शकहरू, व्यवसायी संस्था र सहयोगीहरूलाई कदर पत्र प्रदान गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले २२ जना सांस्कृतिक गुरूहरूलाई दोसल्ला ओढाई नगद रू. २०,०००।– सहित सम्मानपत्र प्रदान गर्नुभएको थियो भने उत्कृष्ट कलाकारहरूलाई रू. ५००० नगद पुरस्कार प्रदान गर्नुभयो ।
सम्मानित हुने सांस्कृतिक गुरूहरुमा देवचन्द्र बज्राचार्य, मङ्गलबहादुर भैल, रामभक्त ब्यान्जु , विकुबहादुर पक्का, हर्षवीर धुख्वा, बद्रीभक्त खर्बुजा, न्हुछेकुमार प्रजापति, चन्द्रबहादुर कपाली, जगनाथ त्वानाबासु, ब्रह्मकाजी दर्शनधारी, आसराम अवाल, गणेशबहादुर सुवाल, नारायणभक्त वनमाला, मोतिलाल लाखाजु, तुल्सीनारायण गोसाई, कृष्णगोपाल प्याथ, तुल्सीभक्त कोजु, राजाराम श्रेष्ठ, रामचन्द्र सुवाल र काजीलाल मुलगुठी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *