भर्खरै :

भक्तपुर नगरपालिकाका कर्मचारीहरूबिच शुभकामना आदानप्रदान

भक्तपुर नगरपालिकाका कर्मचारीहरूबिच शुभकामना आदानप्रदान

भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुरको आयोजनामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा मङ्गलबार भक्तपुर नगरपालिकाका कर्मचारीहरूबिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, “असोज १०, ११ र १२ गतेको वर्षाले देशभरि दुई सय बढी मानिसको मृत्यु र एक हजार बढी घर क्षति भएको सार्वजनिक भयो । भक्तपुर जिल्लामा एक गर्भवती महिलासहित ५ जनाको मृत्यु भयो । सङ्घीय सरकारले असोज १५, १६ र १७ गते तीन दिन देशको झन्डा आधार झुकाएर शोक मनाउने निर्णय ग¥यो ।”
“विपद्पछि महामारी फैलिने सम्भावना छ । खाद्यान्न र तरकारीमा शतप्रतिशत मूल्यवृद्धि भयो । यात्रुबाहक हवाईजहाज र गाडीको भाडा बढाइयो । यसलाई सम्बोधन गर्न तीन तहकै सरकार सचेत हुनु आवश्यक छ ।” उहाँले भन्नुभयो ।
काठमाडौँ उपत्यकामा डुबान र पहिरोको कारण देशको सन्तुलित विकास नभएको उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकामा सडक र भवनकेन्द्रित हुँदा वर्षाको पानी जमिनमा सोसिएन; खोल्सा र खोलामा पानी बढ्यो; यहाँको टनेल खेतीको पानी पनि सङ्कलित भएर खोल्सा र खोलामा बग्यो† बस्ती विकाससँगै खोल्सा र खोला पनि साँगुरिए र वर्षाको पानी दायाँबायाँबाट बगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै हिमाल–पहाडमा रञ्जुमार्ग सञ्चालन गर्नुपर्ने मत राखेको थियो । सरकारमा गएकाहरूले समयमै यो मतलाई स्वीकार गरेनन् । काठमाडौँ उपत्यकामा खानेपानी, फोहरमैला, प्रदूषण, सडकजामलगायत समस्या पनि बढ्दो छ । यसकारण, सङ्घीय राजधानी पश्चिम नेपालको दाङ उपत्यकामा सार्नु जरुरी भएको विषय संसद, सदन र सर्वदलीय बैठकमा उठाएका छौँ ।”
“कर्मचारीहरूको उद्देश्य स्थायी, बढुवा, उपदान, पेन्सन मात्र ठान्नु हुँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयको अध्ययन चालु राखी देश र जनताको सेवा गर्नु आवश्यक छ ।” उहाँले भन्नुभयो ।
इजरायली फासीवादले प्यालेस्टिनी भूमि कब्जा गर्न जातीय नरसहार गरिरहेको उल्लेख गर्दै उहाँले इजरायली फासीवादले हजबुल्लालाई समाप्त पार्ने निहुँमा अहिले लेबनान पसेर आक्रमण गर्दै छ; सरकारकै कारण नेपालमा पनि त्यस्तो अवस्था आउने सम्भावना हुने हुँदा सबै कर्मचारीहरू सचेत हुनु जरुरी छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरूले आफूलाई जनताको सेवकको रूपमा मनन गरी सेवा गर्नुपर्ने बताउँदै दसैँ बिदाको समयलाई रचनात्मक बनाउन र कुलतबाट आफूलाई टाढा राख्न प्रेरित गर्नुभयो ।
कर्मचारीले व्यक्तिगत हितमा भन्दा संस्थाको हितलाई प्राथमिकता दिई काम गर्नुपर्ने बताउँदै आफूलाई दिइएको जिम्मेवारी पूरा गर्ने मान्छे भविष्यमा सफल हुन्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासले भक्तपुरमा उदाहरणीय कार्य गर्न सम्भव भएको उल्लेख गर्दै उहाँले सिङ्गो नगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउन इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नपा विश्वविद्यालय सञ्चालन गर्न सक्षम रहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले जात्रा पर्वहरू मनाउँदा सांस्कृतिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । भक्तपुर नपाले पाक्षिक सरसफाइलाई निरन्तरता दिँदै नगरका विभिन्न ठाउँमा सरसफाइ कार्यक्रमहरू आयोजना गर्दै आएको बताउँदै कर्मचारीहरूले सेवाग्राहीहरूलाई शिष्ट र नम्र व्यवहारका साथ सेवा प्रवाह गर्न प्रेरित गर्नुभयो ।
उपप्रमुख जोशीले नगरपालिका जनताको सेवामुखी संस्था भएकोले नजिकिँदै गरेको चाडपर्वमा नगरको विकास र नगरवासीहरूको सेवा तथा विभिन्न काम कारबाहीबारे पनि छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कर्मचारीहरू राष्ट्रको सेवामा दत्तचित्त भई अगाडि बढ्न मार्गनिर्देश गर्दै कर्मचारीहरू पनि सामाजिक प्राणी भएको र जुनसुकै समय जनताको सेवाको निम्ति खटिन तत्पर रहनुपर्ने बताउनुभयो ।
कर्मचारीको प्रोत्साहन, वृत्ति विकास आदि मौजुदा कानुनअनुसार हुँदै जाने बताउँदै उहाँले कर्मचारीहरूले प्रवाह गर्ने सेवा सुविधा प्रभावशाली हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले सरकारको सफलता कर्मचारीहरूको सक्षमतामा निर्भर हुने हुँदा कर्मचारीहरूले उदाहरणीय ढङ्गले काम गर्न सके देश लाभान्वित हुने बताउनुभयो ।
शुभकामना आदानप्रदानलाई कर्मचारीहरूको प्रोत्साहनसँग जोडनुपर्ने धारणा राख्दै उहाँले कर्मचारीहरूले आफ्नो जिम्मेवारीबाट पछि हट्न नहुने र ट्रेड युनियनबाट टाढा रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा एशोसिएनका विकास प्रजापति, विद्यालक्ष्मी प्रजापति र रामकृष्ण प्रजापतिले दसैँ बिदाको समयलाई सदुपयोग गर्नुपर्ने र पठन संस्कृतिको विकास गरी आफ्नो सैद्धान्तिक स्तर उकास्नतर्फ कर्मचारीहरूले ध्यान दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *