भर्खरै :

सहकारी संस्थाको सिद्धान्त स्थानीय जनता सदस्य हुने र कृषि, घरेलु तथा साना उद्योगलाई जोड दिने हुनुपर्ने

सहकारी संस्थाको सिद्धान्त स्थानीय जनता सदस्य हुने र कृषि, घरेलु तथा साना उद्योगलाई जोड दिने हुनुपर्ने

भक्तपुर, १८ असोज । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३० औँ वार्षिक साधारणसभा ३ छुट्टाछुट्टै ठाउँ (क्षेत्र नं. ३ र ४ को स्टार बैँक्वेटमा, क्षेत्र नं. ५ र ६ को महेश्वरी बैँक्वेटमा क्षेत्र नं. १ र २ को संयुक्त क्षेत्रगत भेला अजिमा पार्टी प्यालेस) मा सभा गरी शुक्रबार सम्पन्न भयो ।
क्षेत्र नं. ३ र ४ को संयुक्त क्षेत्रगत सभाको नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गर्नुभएको थियो ।
सभामा उहाँले सहकारी संस्थाको सिद्धान्त स्थानीय जनता सदस्य हुने र कृषि, घरेलु तथा साना उद्योगलाई जोड दिने हुनुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “कतिपय सहकारीले ब्याज धेरै दिने लोभ देखाई सर्वसाधारण जनताको बचत ठगी गरेकोले ठगीमा संलग्नहरूकै घैघरानाबाट जनताको बचत फिर्ता गराउनु जरूरी छ । तर, केही मानिसहरू सरकारी ढुकुटीबाट सहकारीको बचत ठगीमा परेकाहरूलाई क्षतिपूर्ति दिनुपर्ने बताउँछन् । यसो गर्नु भनेको चोरलाई चौताराजस्तै हुनेछ । सरकारी ढुकुटी जनतासँग उठाएको रकम हो ।”
“म्यानपावर कम्पनीहरूले घरखेत बेच्न लगाएर वैदेशिक रोजगारीमा पठाएका युवाहरू सङ्कटमा परे सम्बन्धित म्यानपावर कम्पनीहरूलाई नै क्षतिपूर्ति गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “अहिले युद्धग्रस्त इजरायलमा पठाइएका नेपालीहरू सङ्कटमा परेको सार्वजनिक भइरहेको छ† ती युवाहरूलाई सम्बन्धित म्यानपावर कम्पनीकै खर्चबाट उद्धार गराइनु जरूरी छ ।”
“असोज १०, ११ र १२ गतेको भारी वर्षासँगै देशको ठाउँठाउँमा पहिरो र डुबान भयो । खानी अवैध उत्खनन् र संरचना निर्माण कमजोर भएर पनि पहिरो, डुबान र सडक अवरोध भए । कमजोर संरचना निर्माणमा सम्बन्धित इन्जिनियर र ठेकेदारलाई पनि जिम्मेवार बनाइनुपर्दछ”, सांसद सुवालले भन्नुभयो ।
“भूगर्भशास्त्रीहरूले काठमाडौँ उपत्यकाको माटो अन्यत्रबाट ल्याएर थुपारिएको जस्तो कमजोर भएकोले खँदिलो र बलियो छैन । दैनिक २०–२५ हजार टिपर बालुवा, गिट्टी, ढुङ्गा, सिमेन्ट, डण्डी ल्याएर सडक, पुल, भवन निर्माण भइरहेको हुँदा यहाँको माटोले भार थेग्न नसक्ने भएकोले भविष्यमा दुर्घटना हुनसक्ने र यहाँका बासिन्दाको एक चिहान हुने खतरा छ”, सांसद सुवालले थप्नुभयो ।
“देशको सन्तुलित विकास गरी काठमाडौँ उपत्यकामा बसाइँसराइ हुन नपाउने कानुनी व्यवस्था गर्नु जरूरी भइसकेको छ । सरकारले एक करोड नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको हुँदा नेपालको २० लाख हेक्टरभन्दा बढी भूमि बाँझो भयो र दाल, चामल, तरकारीसमेत भारतसँग महँगोमा किनेर खानुपर्ने स्थिति आयो । विषादी भएको आयातीत तरकारी र फलफूलको कारण नेपालीलाई क्यान्सर, किड्नी, मुटुको रोग बढ्दो छ । नेपाली युवालाई देशभित्रै रोजगारी दिनु आवश्यक छ”, सांसद सुवालले भन्नुभयो ।
“भ्रष्टाचारको आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई एक वर्षको जेल सजाय दिइयो । नेपालमा वाइडबडी, ललिता निवास, बाँसबारी, बालमन्दिर, स्टिकर छपाइ, नेपाल रेडक्रस सोसाइटी, तारा गाउँ विकास समितिको १५० रोपनी जग्गा काण्ड, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायतमा भएको भ्रष्टाचारमा संलग्न प्रधानमन्त्री, मन्त्री कसैलाई कारबाही गरिएको छैन, हुनु जरूरी छ”, उहाँले भन्नुभयो ।
“पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गरेयता नेपालको विकासको गति सुस्तायो । जङ्गबहादुरले सुरू गरेको राणा शासनको कारण नेपाल १०४ वर्ष अन्धकार युगमा प¥यो । पञ्चायतको ३० वर्ष र बहुदल–गणतन्त्रको ३५ वर्षमा पनि नेपाली जनताले उत्पादन श्रमसँग जोडिएको शिक्षा पाएका छैनन् । इजरायलले प्यालेस्टिनमा भूमि कब्जा र जातीय सफाया चलाएको एक वर्षपछि लेबनानमा स्थल आक्रमण गर्दै छ । विश्वका न्यायप्रेमी जनताले इजरायली आक्रमणको विरोध गर्दै छन्”, उहाँले भन्नुभयो ।
सांसद सुवालले चाडपर्वमा स्वस्थकर खानेकुरा खानुपर्ने सुझाव दिँदै चिकित्सकहरूका अनुसार एक घण्टा शारीरिक अभ्यास गर्नेको तीन घण्टा आयो लामो हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैंजूले सहकारी संस्थाहरूले आदर निकेतन स्थापना गर्नुपर्ने सुझाव दिँदै भन्नुभयो, “घरका महिलाहरूले बाहिर गएर काम गर्नुपर्ने भएकोले आदर निकेतन अहिलेको आवश्यकता हो । महिला दिदीबहिनीहरूको जागिर पनि नछुटोस् र आमाबुबाले पनि राम्रो हेरचाह पाउने व्यवस्था गर्न आदर निकेतनको आवश्यकता छ ।”
उहाँले अहिले हाम्रो देशमा केही वर्षमा नै ज्येष्ठ नागरिकहरू मात्र रहने स्थिति आउनेतर्फ सजग गराउँदै अहिले दैनिक ७ हजार हाराहारीमा युवाहरू बिदेशिने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
बाढीपहिरोका कारण १८ खर्बको क्षति भएको र यसको मुख्य कारण अवैधानिकरूपमा क्रसर चलाएकोले हो, उहाँले भन्नुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा १० का वडाअध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, लसकुस साकोसका अध्यक्ष रोशन मैंया सुवाल, सिद्धि गणेश साकोसका पूर्वअध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीलगायतले बोल्नुभएको थियो ।
क्षेत्र नं. १ र २ को संयुक्त भेला तथा साधारणसभा
क्षेत्र नं १ र २ को संयुक्त भेला गरी अजिमा पार्टी प्यालेसमा भएको साधारणसभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्था भनेको गरिब जनताका असल मित्र हुनुपर्ने बताउँदै सहकारी संस्थाहरूले जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका खेल्न सकिने बताउनुभयो ।
सभाको उद्घाटन गर्दै प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले आर्थिक गतिविधिको साथै सदस्यहरूको लागि विभिन्न सीपमूलक तालिम, सरसफाइका गतिविधि र युवाहरूको सक्रियता बढाउन रचनात्मक गतिविधि गर्नु पनि आवश्यक भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले सुरूदेखि नै बहुउद्देश्यीय सहकारी संस्थाहरू सञ्चालनमा रोक लगाउँदै आएको बताउँदै जनता सचेत भए संस्थाका सञ्चालकहरू सचेत र सतर्क रहने धारणा राख्नुभयो ।
भक्तपुर नपाले यहाँ सञ्चालित सहकारी संस्थाहरूमा नियमित अनुगमन गर्दै आएको स्पष्ट पार्दै उहाँले सहकारीका सञ्चालकहरूमा इमानदारिता र आर्थिक अनुशासन अपरिहार्य भएको बताउनुभयो ।
सार्वजनिक एवम् सरकारी जग्गा संरक्षण गर्नु स्थानीय तहको कर्तव्य भएको बताउँदै उहाँले भक्तपुर नपाले सार्वजनिक जग्गा संरक्षणकै क्रममा सल्लाघारीस्थित १०८ रोपनी जग्गालाई संरक्षण र व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरको आजको विकासमा धेरै अग्रजहरूको उल्लेखनीय भूमिका रहेको चर्चा गर्दै उहाँले शिक्षामा गरेको लगानीको प्रतिफलस्वरूप आज भक्तपुर ज्ञानविज्ञानको केन्द्र बन्न सफल भएको बताउनुभयो ।
कोभिड महामारीको सङ्कटमा भक्तपुरका सङ्घ संस्थाहरूले गरेको सहयोगको लागि भक्तपुर नपाको तर्फबाट आभार प्रकट गर्दै प्रमुख प्रजापतिले नगरवासी जनतालाई भक्तपुर नपाले निःशुल्क अक्सिजन र रगत उपलब्ध गराई जनताको सेवा दिँदै आएको बताउनुभयो ।
साकोसका पूर्वअध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाहरूले साधारणसभा सञ्चालन गर्नुको उद्देश्यबारे प्रस्ट पार्दै २०५१ सालमा ३१ जनाको समूहले स्थापना भएको सिद्धि गणेश साकोसमा हाल १६ हजारभन्दा बढी सदस्यहरू भएको बताउनुभयो ।
साकोसले सदस्य वृद्धिसँगसँगै स्वास्थ्य केन्द्र, तालिम हल, स्वास्थ्य शिविर आदि सञ्चालन गर्दै व्यापक जनताको हित हुने गतिविधिलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।
सिद्धि गणेश साकोसका सचिव विष्णुप्रसाद दुमरूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, जिल्ला बचत सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजु, मित्र संस्थाका प्रतिनिधिहरू राजन जति, शैलेश डंगोललगायते शुभकामना मन्तव्य राख्नुभएको थियो ।
क्षेत्र नं ५ र ६ को संयुक्त भेला तथा साधारणसभा
क्षेत्र नं ५ र ६ को महेश्वरी बैङ्क्वेटमा भएको सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सहकारी संस्था सदस्यहरूले पनि सहकारीमा भएको बदमासीको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै संस्थामा भएको बेथिति सहकारीकर्मी भएकैले विरोध गर्नुहुँदैन भन्ने मानसिकता गलत भएको बताउनुभयो ।
दुईतिहाइको सरकार बाढीपहिरोले नाङ्गिएको चर्चा गर्दै सांसद गोसाईले बाढीपहिरोमा तीनसय भन्दा बढी नेपाली जनताको अनाहकमा ज्यान गए पनि सरकारले केही गर्न नसकेको बताउनुभयो ।
संस्थाका अध्यक्ष रूद्रनारायण लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजु, वडा नं ७ का पूर्व वडाध्यक्ष कृष्णगोविन्द खाइजू, संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरू, सञ्चालक राजन लाखाजु, मित्र संस्थाको तर्फबाट युवा साकोसका प्रकाश वास्तोला, पुण्यराम दुमरूलगायतले शुभकामना व्यक्त गर्नुभयो ।
साधारणसभामा संस्थाका सदस्यहरूका एसईई र दस जोड दुई कक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्न सफल १२ जना विद्यार्थीहरूलाई प्रशंशापत्र वितरण गरिएको थियो ।
सभाले सञ्चालक समितिको तर्फबाट सचिव विष्णुप्रसाद दुमरूद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत अनुमानित बजेट तथा कार्यक्रमहरू, लेखा सुपरिवेक्षण समितिका संयोजक रामप्रसाद लाखाजुद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *