अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १९ असोज । भक्तपुर सिकर्मी सङ्घको आयोजनामा दशमी तथा शुभदीपावलीको अवसरमा सिकर्मी मजदुरहरूबिच शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले निर्वाचनमा पैसा र सामान बाँडेर, भोज खुवाएर जितेकाहरूको बहुमत वा दुईतिहाइ जस्तोसुकै सरकार भए पनि देश र जनताको हित नहुने पुष्टि भइरहेको छ भन्नुभयो ।
उहाँले भारतीय एकाधिकार पुँजीले सरकारमा गएकाहरूलाई राणा र पञ्चायती शासनमा जस्तै बहुदल र गणतन्त्रको सरकारमा पनि कठपुतली बनाउँदै छ भन्नुभयो ।
“सरकारमा गएकाहरूको नाम फरक भए पनि काम एउटै भइरहेको छ, आर्थिक र विदेश मामिला एउटै भएका संसदवादी दबुहरूको अलग अस्तित्वको औचित्य छैन ।” सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “इजरायलले प्यालेस्टिन र लेवनानमा भइरहेको आक्रमणलाई बाँकी विश्वले विरोध गर्दै छ । मजदुरहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे अध्ययन र अन्तरक्रिया गर्नु आवश्यक छ ।”
नेमकिपा केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भोजमा साथीभाइ, परिवारसँग रमाइलो गरेसँगै पार्टी प्रकाशन पुस्तकहरूको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले रुस–युक्रेन युद्ध र इजरायल, प्यालेस्टिन र लेबनानको युद्धले गर्दा हाम्रो देशमा तेल र गहुँको मूल्यवृद्धि भएको बताउनुभयो ।
उहाँले देशमा विश्वविद्यालयको पढाइमा निरन्तरता नहुनु र परीक्षा नतिजा समयमै प्रकाशन नगर्दा कक्षा १२ पास हुनेबित्तिकै धेरै विद्यार्थीहरू वैदेशिक शिक्षा अध्ययन गर्न जाने क्रम दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या राजनीतिक विश्वविद्यालयको दबुको रूपमा सञ्चालन भएको ४४ वर्ष भएको बताउँदै उहाँले यही असोज २८ र २९ गते हुने तःमुंज्या सफल गर्न सबै क्षेत्रबाट सहयोग र सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछुले घरेलु तथा साना फर्निचर व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्ने सरकारको कुनै नीति नभएको, उल्टो व्यवसाय बन्द हुने गरी विदेशी फर्निचरका सामानहरू आयात गर्नु, अव्यावहारिक कर लागु गर्नु र दिनानुदिन कच्चा पदार्थ प्लाईजस्ता सामानको मूल्यवृद्धि गर्नाले सिकर्मी मजदुरहरू निराश भएको बताउनुभयो ।
उहाँले वर्तमान समयमा आएको समस्यासँग जुध्न सम्पूर्ण सिकर्मीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष रामसुन्दर सुवाल र सचिव पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।
Leave a Reply