झूटको खेतीले उद्देश्य पूरा नहुने
- कार्तिक २२, २०८१
भक्तपुर, २० असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सेवा निवृत्त शिक्षक समाज भक्तपुरद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ को १५ औँ पूर्णाङ्कको विमोचन कार्यक्रम आइतबार सम्पन्न भयो ।
‘शैक्षिक अनुभव’ पुस्तक विमोचन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकासमा सेवा निवृत्त शिक्षकहरूको महत्वपूर्ण योगदान रहेको बताउँदै सेवा निवृत्त शिक्षकहरूसँग भएको ज्ञान, अनुभव समाजका लागि उपयोगी र प्रेरणादायी हुने बताउनुभयो ।
प्रमुख प्रजापतिले ‘शैक्षिक अनुभव’ बारे रचनात्मक सुझाव दिँदै समय सापेक्ष ढङ्गले यस प्रकाशनलाई परिमार्जन गर्दै लानुका साथै पुस्तकबारे अन्तरक्रिया तथा नयाँ नयाँ पुस्तकको अध्ययन गोष्ठी पनि गर्न जोड दिनुभयो ।
भक्तपुरको शैक्षिक जग बलियो बनाउन भक्तपुर नपाले विभिन्न विषयका शैक्षिक संस्थाहरू सञ्चालन गर्दै देशभरिका विद्यार्थीहरूलाई सस्तो र सुलभमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै उहाँले शिक्षकहरू विद्यार्थीका मार्गदर्शक र अभिभावक पनि भएकोले शिक्षक हुनुमा गौरव गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरलाई देशकै उदाहरणीय र नमुना नगर बनाउन शिक्षा क्षेत्रमा उल्लेखनीय कार्यहरू हुन जरुरी रहेको बताउँदै उहाँले शिक्षा क्षेत्रमा दलाली र दलीय भागबन्डाको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।
भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन भएमा देशभरिका जनताले सहज ढङ्गबाट उच्च शिक्षा हासिल गर्ने अवसर पाउने बताउँदै उहाँले भक्तपुर नपाले जनताको सहयोगमा जनतालाई प्रत्यक्ष परोक्ष फाइदा पुग्ने गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो ।
संविधान संशोधन कसैको दबाब र प्रभावले भन्दा पनि जनताको हितको लागि हुनु उपयुक्त हुने बताउँदै उहाँले नेपालमा अहिले दुईदलीय तानाशाही हाबी भइरहेको चर्चा गर्नुभयो ।
संयुक्त राज्य अमेरिका संसारमा आक्रमक देशको रूपमा अगाडि बढिरहेको छ भन्दै उहाँले अमेरिकी साम्राज्यवादको विरोध नगर्ने राजनीतिक पार्टीहरू देश र जनताको पार्टी हुन नसक्ने बताउनुभयो ।
एभरेस्ट ई. स्कूलका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले सेवा निवृत्त शिक्षक समाजले आगामी दिनहरूमा प्रेरणादायी कामहरू गर्नेमा आफू विश्वस्त रहेको चर्चा गर्दै शिक्षकहरूको हक हितको लागि सेवा निवृत्त शिक्षक समाजले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
समाजका सदस्य एवम् शैक्षिक अनुभवका प्रधानसम्पादक ज्ञानसागर प्रजापतिले ‘शैक्षिक अनुभव’ मा समेटिएका लेख, संस्मरण, साहित्य आदिबारे टिप्पणी गर्दै आफ्ना अमूल्य अनुभव दिएर सहयोग गर्ने सबैमा धन्यवादज्ञापन गर्नुभयो । सेवा निवृत्त शिक्षकहरूको अनुभवबाट नयाँ पुस्तालाई शिक्षित र सुसूचित गर्ने उद्देश्यस्वरूप ‘शैक्षिक अनुभव’ निरन्तर प्रकाशनमा जोड दिँदै आएको पनि उहाँले बताउनुभयो ।
समाजका कोषाध्यक्ष विश्वराम कवांले सेवा निवृत्त शिक्षक समाजका प्रतिनिधिहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै समाजलाई आर्थिकरूपमा सबल बनाउने प्रयास हुँदै आएको बताउनुभयो ।
समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्य, सचिव शेरबहादुर ङाखुसी, सदस्य तुल्सीराम ग्वाछा र मोर्डन इ. स्कूलका प्रिन्सिपल अनिल कसपालले पनि समाजमा नयाँ नयाँ सेवा निवृत्त शिक्षकहरूलाई स्वागत पाउँदा खुसी अनुभव भएको बताउँदै ‘हामी अझै सबल छौँ’ भन्ने नारालाई सार्थकता दिन सेवा निवृत्त शिक्षकहरू अझ क्रियाशील हुनु जरुरी रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सेवा निवृत्त शिक्षक समाजको लागि सहयोगी भूमिका निर्वाह गर्दै आएका विद्यालयहरू आदर्श आजाद मावि भेलुखेल, आदर्श मावि थिमी लायकु, बालविकास ई.से. स्कूल लिबाली र मोडर्न ई. से. स्कूल सिर्जनानगरलाई सोही अवसरमा सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै, समाजका सहयोगी भक्त राजभण्डारी नेपाल स्काउटको सर्वाेच्च पदक ‘सुनौलो गैडा – २०८१’ बाट विभूषित भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
Leave a Reply