भर्खरै :

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीशको शपथग्रहण

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीशको शपथग्रहण

काठमाडौँ, २० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
राष्ट्रपति पौडेलले राउतलाई आइतबार बिहान प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।
राष्ट्रपतिले आइतबार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।
संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।
संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आइतबार राष्ट्रपतिले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गर्नुभएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *