भर्खरै :

सबै स्थानीय तहमा शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था हुन जरुरी

सबै स्थानीय तहमा शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था हुन जरुरी

भक्तपुर, २२ असोज । भातेढिकुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य पे्रम सुवालको प्रमुख आतिथ्यमा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा सचिव सुवालले भन्नुभयो, “मानिसलाई पिउन, नुहाउन, कपडा धुन, सरसफाइ गर्न, खेतीपातीको लागि पानी जरुरी छ । मानिसको शरीरमा ८० प्रतिशत जति तरल पदार्थ हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वच्छ पानीले मानिसलाई रोग लाग्ने छैन ।
पोखरी, ताल, नदीनालाको पानीले वातावरण स्वच्छ बनाउन मद्दत गर्छ ।”
३०–३५ वर्षअघि सरकारले मेलम्चीको पानी ल्याएर काठमाडौँको सडक धुने दाबी गरेको थियो । एक वर्षअघि मेलम्चीको पानी ल्याउने मुख पहिरोमा छोपिएको सार्वजनिक भयो । मेलम्चीको पानी काठमाडौँ ल्याउन सरकारले ६५–७० अर्ब रूपैयाँ एसियाली विकास बैङ्कसँग ऋण लिएको थियो ।
ध्वनि, धुलो, धुँवा र रसायन प्रदूषणको कारण काठमाडौँ उपत्यकाका मानिसहरूमा फोक्सो, मुटु, किड्नीलगायतको रोग बढ्दो छ । काठमाडौँ उपत्यकामा फोहरमैलाको व्यवस्थापन पनि समस्या भइरहेको छ ।
काठमाडौँ उपत्यकामा अन्य जिल्लाबाट बसाइँसराइ बढ्दो छ । भूगर्भशास्त्रीहरूले काठमाडौँ उपत्यकाको जमिन अन्यत्रबाट माटो ल्याएर थुपारिएको जस्तो छ, खँदिलो र बलियो छैन । कालान्तरमा यहाँको संरचना भासिने र दुर्घटना हुने सम्भावना छ । यसकारण, काठमाडौँ उपत्यकामा बसाइँसराइ हुन नपाउने कानुनी व्यवस्था जरुरी छ ।
७५३ वटै स्थानीय तहको सदरमुकाममा शिक्षा, स्वास्थ्य सेवाको व्यवस्था हुन जरुरी छ । जिल्ला जिल्लाका मानिसलाई पुग्ने खाद्यान्न र तरकारी उत्पादन गर्नेतर्फ सरकार लाग्नु जरुरी छ ।
उपभोक्ता समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले सभापतिको आसनबाट जनताकै साथ र सहयोगबाट खानेपानी योजना सुरु भएको बताउँदै बाधा व्यवधानको बिचमा ३३५ घरधुरीलाई खानेपानी उपलब्ध गराउन सफल भएको छ भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजुले भक्तपुर नगरको खानेपानी व्यवस्थापनमा भातेढिकुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साथ र सहयोग महत्वपूर्ण भएको बताउनुभयो । नगरका जनतालाई खानेपानी पु¥याउन भक्तपुर नगरपालिकाले विभिन्न स्थानमा डीप बोरिङ गरिरहेको छ उहाँले भन्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष एवम् समितिका कोषाध्यक्ष गणेश त्यातले समितिको ४ वर्षको आयव्यय तथा चालु आवको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । समितिका सचिव सुलोचना बोहजूले प्रगति प्रतिवेदन पेस गर्दै ३ किलोमिटर लामो पाइप लाइन व्यवस्थित गर्नु र पानी पु¥याउनु हालको चुनौती रहेको बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य पाण्डव सुवाल र नारायणप्रसाद कवांले जनताकै सहयोगमा भएको खानेपानी योजना दीगो हुने बताउनुभयो ।
बन्द सत्रबाट उकेश कवांको अध्यक्षतामा ८ सदस्यीय कार्य समिति निर्वाचित गरियो । निर्वाचित सदस्यहरूमा विष्णुभक्त कवां, गणेश त्यात, पाण्डव सुवाल, नारायणप्रसाद कवां, राजकुमार बनमाला, सुलोचना बोहजु र कृष्णमाया त्वायना हुनुहुन्छ । निर्वाचित समितिका पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक पुरुषोतम ग्वाछा र सदस्य कमला भारतीले बधाई दिनुभएको थियो ।
भातेढिकुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सूर्यविनायक नगरपालिका वडा नं. १० को खुबु र चाँगुनारायण नगरपालिका वडा नं. ९ बडोचामा गरिएको डीप बोरिङबाट ३ लाख लिटरको ट्याङ्कीमा पानी राखी वितरण गरिरहेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ याकाडोलको डीप बोरिङ सञ्चालनको अवस्थामा रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *