भर्खरै :

विश्वविद्यालयको शिक्षा राम्रो बनाउन विद्यालय शिक्षा राम्रो हुनुपर्ने

विश्वविद्यालयको शिक्षा राम्रो बनाउन विद्यालय शिक्षा राम्रो हुनुपर्ने

भक्तपुर, २२ असोज । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलमा चाडपर्व र नेपाल संवत् ११४५ को अवसरमा विद्यार्थीको अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कक्षा ३ मुनिका विद्यार्थीहरू सम्मिलित अतिरिक्त क्रियाकलापमा कतिपय अभिभावकसमेतको स्थलगत अध्ययन र सहभागिता थियो ।
शिक्षकहरूबिच चाडपर्व मनाउने विषयक छलफल कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले शिक्षा, स्वास्थ्य र शिक्षणविधिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका जानकार स्रोतव्यक्तिहरूलाई निम्ता गरी अनुभव बाँड्ने गतिविधि चालू रहेको उल्लेख गर्नुभयो ।
उहाँले जीवनलाई विज्ञानसम्मत अगाडि बढाउनु जरूरी रहेको उल्लेख गर्दै समलिङ्गी विवाह, जन्मको भन्दा विपरीत लिङ्गीय स्वभाव, तेस्रो लिङ्गीलगायत दाबी गरी समाजमा विकृति फैलाउने राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले घर बलियो बनाउन जग बलियो बनाउनु परे जस्तै विश्वविद्यालयको शिक्षा राम्रो बनाउन विद्यालय शिक्षा राम्रो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले राजनीतिक बन्दोबस्त अनुकूल नभएको हँुदा कतिपय मानिसको मानसिक स्वास्थ्य खराब भएको बताउनुभयो ।
“नेपालीको सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्थाले मानिसको मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउन मद्दत गर्नेछ, व्यवस्थापन समितिका अध्यक्ष सुवालले स्पष्ट गर्नुभयो ।
स्रोतव्यक्ति एवं वरिष्ठ नर्स दयालक्ष्मी जोशीले अभावमा विद्यालय र विश्वविद्यालयको शिक्षा प्राप्त गरेको उल्लेख गर्दै आफ्नो इच्छा शिक्षिका बन्ने रहेको तर सूर्यविनायकको विदेशी (मिसन) अस्पतालमा दोभाषे जागीर खाएपछि विदेशी डाक्टरहरूको प्रेरणामा नर्सिङ शिक्षामा लागेको बताउनुभयो ।
हिलोमा कमल फुल्ने उदाहरण प्रस्तुत गर्दै उहाँले कमजोर विद्यार्थीलाई पनि बुझाउन शिक्षकहरू समर्पित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अन्न उत्पादन गर्न धेरै परिश्रम लाग्ने हुँदा खानेकुरा फाल्न नहुने उल्लेख गर्दै आफूलाई विदेशमा पढ्ने अवसर मिलेको र त्यही बस्दा आफू केही नहुने तर नेपालमा केही हुनसक्ने मनन गरी नेपाल फिर्ता आएको उल्लेख गर्नुभयो ।
छलफलमा विद्यालयका प्राचार्य वदनकेशरी प्रजापति र उपप्राचार्य स्वर्णिमा मूलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *