भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालमा डा. चाँदनी प्यालिएटिभ कक्ष उद्घाटन

भक्तपुर क्यान्सर अस्पतालमा डा. चाँदनी प्यालिएटिभ कक्ष उद्घाटन

भक्तपुर, २२ असोज । “विश्व हस्पिस एन्ड प्यालियटिभ केयर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालमा लामो समय सेवा गर्नुहुने डा. चाँदनी वैद्य श्रेष्ठको स्मृतिमा प्यालिएटिभ केयर कक्ष सञ्चालन हुनु एक उदाहरणीय कदम हो ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सोमबार केयर कक्ष उद्घाटन गर्दा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा सांसद सुवालले नेपालमा स्वास्थ्य उपचार महँगो भएको हुँदा कतिपय नेपाली बिरामी हुँदा घरखेत बेचेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने, स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने, युवालाई देशभित्र रोजगारीको व्यवस्था हुनुपर्ने आवाज राख्दै आएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “सन् २०२६ मा नेपाल अति कम विकसित देशबाट स्तरोन्नति भएपछि विदेशी कम्पनीको जेनेरिक औषधि उत्पादन गर्न नपाउने र औषधि महँगो भई नेपाली बिरामीलाई उपचारमा थप कठिन हुने अवस्था छ ।”
उहाँले सरकारले समयमै औषधि उत्पादन गर्न आवश्यक अध्ययन र अनुसन्धान गराउनु जरुरी रहेको बताउँदै सरकारले डाक्टर–नर्ससमेतलाई नेपालमा रोजगारी नदिई विदेश पठाएको देशघात नै हो भन्नुभयो । कृषिप्रधान देश दाबी गरेको नेपाल सरकारले कृषि वैज्ञानिकहरूलाई रोजगारी नदिई वैदेशिक रोजगारीमा पठाउँदै छ† दाल, चामल, तरकारी, फलफूलसमेत विषादी भएको भारतबाट किनेर सरकारले क्यान्सर रोगी बढाउँदै छ, उहाँले भन्नुभयो ।
“वैदेशिक रोजगारीमा इजरायल पठाइएका कतिपय नेपालीहरूमा क्यान्सर रोग देखा परेको छ ।”, उहाँले भन्नुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे, सञ्चालक समितिका सदस्य रवीन्द्र ज्याख्व, डा. विकास आनन्द, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. सुमनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *