भर्खरै :

साहित्यको माध्यमबाट सरकारलाई दबाब दिनुपर्छ

साहित्यको माध्यमबाट सरकारलाई दबाब दिनुपर्छ

भक्तपुर, २२ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समितिको आयोजनामा विजया दशमी २०८१ शुभ अवसरमा शुभकामना आदानप्रदान तथा साहित्य गोष्ठी कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले साहित्यको माध्यमबाट सरकारलाई दबाब दिन सकिने बताउँदै विभिन्न क्षेत्रका पीडित जनतालाई सान्त्वना र उत्साह प्रदान गर्न साहित्य उपयुक्त माध्यम भएको बताउनुभयो । उहाँले हरेक प्रगतिशील साहित्यको लक्ष्य पछाडि परेका र पीडामा परेकाहरूलाई उत्साहित र प्रेरित गर्नु हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “विभिन्न सङ्घर्ष र विद्रोह भइरहेको देशहरूमा नेपाली युवा पठाउनु भनेको हत्या गर्न पठाउनु हो । साहित्यिक गतिविधि वृद्धिसँगै शिक्षण, पारिवारिक र सामाजिकरूपमा परिवर्तन ल्याउन यसले सहयोग पु¥याउँछ । समय परिवर्तनसँगै प्रभावकारी शिक्षणको लागि साहित्यिक र सांस्कृतिक क्रियाकलापले पनि महत्वपूर्ण भूमिका खेल्छ ।”
सरकारको पूर्वतयारीको अभावले गर्दा नेपालको विभिन्न क्षेत्रमा आएको बाढी पहिरोले ठुलो क्षति पु¥याएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले साहित्यिक गतिविधि र क्रियाकलापले संस्कृति संरक्षणमा सकारात्मक र रचनात्मक भूमिका खेल्ने बताउनुभयो । उहाँले चाडपर्व सँगसँगै चाडपर्वको संस्कार र संस्कृतिबारे गहन अध्ययन गर्नुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तंःमुज्याका पूर्वअध्यक्ष कान्छा बासुकलाले संस्कृतिले समाजमा पारिवारिक र सामाजिक मर्यादा कायम गर्न सहयोग पु¥याउने बताउनुभयो । सामाजिक व्यवहारलाई व्यवस्थित गर्नको लागि समाजमा चल्दै आएको चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा १९ जना साहित्यकार र शिक्षकहरूले साहित्यवाचन गर्नुभएको थियो ।
कार्यक्रम नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष घनश्याम खड्का र सचिव राजन लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *