भर्खरै :

युवा विदेश पलायन भए देश वृद्धवृद्धाहरूको देश बन्ने

युवा विदेश पलायन भए देश वृद्धवृद्धाहरूको देश बन्ने

भक्तपुर, २२ असोज । कटुञ्जे सामुदायिक सिकाइ केन्द्रको आयोजनामा विजया दशमी, दीपावली तथा नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले देशमा अखाद्य वस्तु धेरै भित्रिएको र रसाउनयुक्त पेय पदार्थले जटिल रोग देखापरेकोले स्वास्थमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले धेरैजसो खाने तेलको कारणले मुटु र कलेजोको रोग लाग्ने भएकोले सन्तुलित भोजन गर्नुपर्ने र अर्गानिक खानेकुरा खानुपर्नेमा जोड दिनुभयो ।
दसैँको मुखमा महँगी, अभाव भएको औँल्याउँदै उहाँले राजनीतिक परिस्थिति ठीक नभएकोले अर्थतन्त्र दामाडोल भइरहेको बताउनुभयो ।
“देशमा युवाहरू यसरी नै विदेश पलायन हुने हो भने देश वृद्धवृद्धाहरूको देश बन्दै छ । हरेक स्थानीय तहले आदर निकेतनको बन्दोबस्त गर्नुपर्नेछ,” उहाँले भन्नुभयो ।
प्राकृतिक विपद् जताततै हुनुमा जथाभावी बाटो निर्माण, क्रसर उद्योगको लापरबाही, हेभी गाडी बढी गुड्नु र भूमाफियाहरूले जथाभावी प्लानिङ आदि कारण रहेको बताउँदै उहाँले यसमा राज्यले ध्यान नदिएको बताउनुभयो ।
नेमकिपा वडा नं. ५ समितिका अध्यक्ष रामकृष्ण बखुन्छेँले स्वास्थ्यलाई पनि ध्यान दिनुपर्नेमा जोड दिँदै सबैलाई सचेत र सङ्गठित हुन आग्रह गर्नुभयो ।
कटुञ्जे सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष महेन्द्र बखुन्छेँको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सीताराम खिउँजु, रामप्यारी न्हेम्हाफुकी र चनमती खुलीमुलीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *