अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा दशमीको अवसरमा सरसफाइसँग सम्बन्धित कर्मचारी र सफाइकर्मीहरूबिच शुभकामना आदानप्रदान भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले दशमीको लामो बिदाको समयमा कर्मचारीहरूले सरसफाइलाई पहिलो प्राथमिकतामा राखी कार्य गनुपर्ने तथा अनियमित निर्माण, चोरी, ठगी, लुटपाटलगायतका नकारात्मक कार्यलाई निरुत्साहित गर्न कर्मचारी र जनप्रतिनिधिहरूले आ–आफ्नो ठाउँबाट कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले दसैँको समयमा भारतबाट राँगा, खसी, बोका र मादक पदार्थहरू अरुबेलाभन्दा धेरै आयात हुने चर्चा गर्दै नेपालमा हरेक वर्ष १५ खर्बको आयात भइरहेको र डेढ खर्बको मात्र निर्यात हुने गरेको हुँदा व्यापार घाटा विद्यमान रहेको जानकारी दिनुभयो ।
देशको अर्थतन्त्र बलियो नभएमा शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्रलगायतका हरेक क्षेत्रमा यसको असर पर्ने बताउँदै सरकारले बीमाबापतको रकम अस्पतालहरूलाई समयमा दिन नसक्दा स्वास्थ्य क्षेत्र प्रभावित भएको जानकारी दिनुभयो ।
अतिथि प्रजापतिले कर्मचारीहरूले बिदाको समयमा अरु समयमा भन्दा बढी सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने चर्चा गर्दै उहाँले आवश्यकता परेको बेलामा इमानदारीपूर्वक काम गर्ने कर्मचारी र जनप्रतिनिधिलाई नगरवासीले उच्च मूल्याङ्कन गर्ने भएकोले सेवक भई आफ्नो कर्तव्य सम्झी सेवा गर्न अभिप्रेरित हुनु आवश्यक छ भन्नुभयो ।
कार्यक्रमका अतिथि एवं उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगसँगै सफाइ क्षेत्रमा पहिचान बनाउन सफल भइरहेको चर्चा गर्दै नगरमा सरसफाइ हुनु भनेको स्वस्थ, सभ्य र सुसंस्कृत समाजको विकास हुनु हो भन्नुभयो ।
उहाँले फोहोर व्यवस्थापनको लागि नगरवासीहरूले घर घरमै कुहिने र नकुहिने फोहोर छुट्याई कुहिने फोहोरलाई कौसी खेतीमा मलको रूपमा प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उपप्रमुख जोशीले चाडपर्वको बेलामा घरबाट निस्कने फोहोरलाई कम गर्न नगरवासीहरूले प्रयास गर्नुपर्ने र ती फोहोर सङ्कलन गरी नगरलाई स्वच्छ, स्वस्थ र शिक्षित नगर बनाउन सफाइ कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै कर्मचारी र जनप्रतिनिधिहरूको समन्वयमा नगरलाई उत्कृष्ट नगरको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कर्मचारीहरूको जिम्मेवारी र कर्मचारीहरूले गर्न हुने र नहुने आचरणका बारेमा बताउँदै नगरको समग्र विकासको लागि कर्मचारीहरूको भूमिकाबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य मञ्जुमैंया लाखा र भक्तपुर नगरपालिका स्यानिटेसन शाखाका शाखा प्रमुख दिलिपकुमार सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply