भर्खरै :

ख्वप अस्पताल बीमा सेवा प्रदान गर्ने देशकै उत्कृष्ट सातौँ स्थानमा

ख्वप अस्पताल बीमा सेवा प्रदान गर्ने देशकै उत्कृष्ट सातौँ स्थानमा

भक्तपुर, २३ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल स्वास्थ्य बीमा सेवा प्रदान गर्ने अस्पतालहरूमध्ये देशमा सातौँ स्थानमा रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डका अनुसार पहिलो भरतपुर अस्पताल चितवन, दोस्रो बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, तेस्रो धुलिखेल अस्पताल, चौथो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पाँचौँ नोबेल मेडिकल कलेज, छैठौँ दमक मेडिकल कलेज, सातौँ ख्वप अस्पताल, आठौँ बकुलहर रत्न नगर अस्पताल, नवौँ नेपाल कोरिया मैत्री नगर अस्पताल र दसौँ हेटौडा अस्पताल रहेका छन् ।
स्वास्थ्य बीमा बोर्डले हरेक वर्ष स्वास्थ्य बीमा सेवा प्रदान गर्ने देशभरका अस्पतालहरूको उच्च १० अस्पतालको नाम सार्वजनिक गर्ने गरेको छ । गत वर्ष ख्वप अस्पताल आठौँ स्थानमा रहेको थियो ।
हरेक दिन आठ सयदेखि नौ सयसम्म बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको ख्वप अस्पताल १०० शøयाको स्वीकृति प्राप्त अस्पताल हो । अस्पतालमा विशेषज्ञ र मेडिकल अफिसर गरी ५५ जना चिकित्सक र ५९ जना नर्ससहित अन्य प्रशासनिक कर्मचारीहरू गरी हाल कुल २२३ जना जनशक्ति कार्यरत छन् ।
ख्वप अस्पतालले गत आ.व.२०८०/८१ मा देशका ७० भन्दा बढी जिल्लाका २ लाख ५३ हजारभन्दा बढी बिरामीलाई सेवा दिएको थियो । अस्पताल आउने बिरामीहरूमध्ये ८० प्रतिशतभन्दा बढी बीमा आबद्ध छन् । चालु आ.व. २०८१/८२ मा साउनदेखि असोज २२ गतेसम्ममा ६६ हजारभन्दा बढी बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको अस्पतालको तथ्याङ्कले देखाउँछ । भनपा वडा नं. ९ च्याम्हासिंहस्थित उक्त अस्पताल २०७८ साल वैशाख १७ गतेबाट औपचारिकरूपमा ख्वप अस्पतालको नाउँबाट सेवा सुरु गरिएको थियो । २०७३ सालमै जिल्ला जनस्वास्थ्य केन्द्रबाट २५ शøयाको ख्वप अस्पताल स्वीकृति प्राप्त गरिए पनि जनस्वास्थ्य केन्द्रको नाउँमा सेवा दिइआएको थियो ।
बिरामीको चाप र आवश्यकतालाई ध्यान दिएर थप सेवा बिस्तार गर्दै लगेको अस्पतालले जनाएको छ । चालु आर्थिक वर्षदेखि सिटी स्क्यान सेवा प्रदान गर्ने उद्देश्यले खरिद प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
सरकारी मापदण्डभित्र रहेर अस्पतालले सस्तो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । सम्पूर्ण नगरवासीहरूलाई निःशुल्क अक्सिजन वितरण गर्ने नेपालको एकमात्र नगर भक्तपुर नगरपालिका हो । भक्तपुरवासीहरूका लागि उपचारमा चाहिने आवश्यक रगत पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य बीमा बोर्डले बीमाबापतको भुक्तानी समयमा नगरेको कारण अस्पतालले भने आर्थिक समस्या भोग्दै आएको छ । गत वर्ष पुसदेखि भदौसम्मको बीमा बापतको भुक्तानी २० करोडभन्दा बढी बाँकी भएकोमा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूले पटक–पटक बीमा बोर्डका पदाधिकारीहरूको ध्यानाकर्षण गर्दै आएका थिए । भदौ महिनामा अस्पताल पदाधिकारीहरूले स्वास्थ्य मन्त्री प्रदिप पौडेल, बीमा बोर्डका अध्यक्ष गुणराज लोहनी, कार्यकारी निर्देशक दामोदर बसौलासमेतसँगको छलफलपछि ती पदाधिकारीहरूले दसैँ अगाडि दाबी रकमको ५० प्रतिशतभन्दा बढी भुक्तानी पठाउने प्रतिबद्धता गरेका थिए । तर, असोज २२ गते जम्मा ४ करोड ५२ लाखमात्र रकम प्राप्त भएको अस्पतालले जनाएको छ ।
आठ महिनादेखि भुक्तानी बाँकी भएको कारण देखाउँदै शिक्षण अस्पताल महाराजगञ्जले असोज महिनादेखि स्वास्थ्य बीमा सेवा रोकेको जनाएको छ । पाटन अस्पतालले १८ करोडभन्दा बढी बाँकी भएकोले कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थामा पुगेको बताएको छ भने बीमा बोर्डका अनुसार वीर अस्पताललाई पनि १८ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।
अहिले नेपाल सरकारले रु. एक लाखसम्मको स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएको छ । स्वास्थमन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा सेवा विस्तार गरी रु. ५ लाख पु¥याउने बताएका थिए । रु. १ लाखको बीमा गर्दा समेत सरकारले समयमा भुक्तानी गर्न नसकेर सरकारी अस्पतालहरूले बीमा सेवा बन्द गर्नुपर्ने अवस्था आएको बेला मन्त्री पौडेलको त्यो घोषणा चर्चाकै लागि त होइन भन्ने शङ्का गर्नेहरू धेरै छन् । सरकारी नीतिभित्र रहेर सेवा प्रदान गरिरहेका देशभरका अस्पतालहरूलाई शीघ्र बीमाबापतको भुक्तानी गरी सेवालाई निरन्तरता दिने वातावरण बनाइयोस् । यही नै स्वास्थ्य मन्त्रालय र बीमा बोर्डलगायत सम्बन्धित पदाधिकारीहरूसँग जनताको अपेक्षा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *