भर्खरै :

“देशभरि नै सरकारी जग्गा, पर्ती, जङ्गल, नदीनाला अतिक्रमण गरिएको जनताको गुनासो हो”

“देशभरि नै सरकारी जग्गा, पर्ती, जङ्गल, नदीनाला अतिक्रमण गरिएको जनताको गुनासो हो”

(नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालसँग काठमाडौँ उपत्यकाका नदी नाला अतिक्रमण र समसामयिक विषयमा केन्द्रित रहेर ‘मजदुर’ दैनिकका संवाददाताले राख्नुभएको जिज्ञासाको जवाफ यहाँ प्रस्तुत छ – सं.)

  • काठमाडौँ उपत्यकाका अन्य नदीनालाजस्तै हनुमन्ते र खासाङखुसुङ खोला पनि अतिक्रमण हुँदा खेती र बस्ती डुबानमा परेकोबारे यहाँ के भन्नुहुन्छ ?
    जवाफ : देशभरि नै सरकारी जग्गा, पर्ती, जङ्गल, नदीनाला अतिक्रमण गरिएको जनताको गुनासो हो । सरकारी जग्गा र नदीनाला अतिक्रमणमा भूमाफिया, ठुला उद्योगी–व्यापारीदेखि शासक दलका नेताहरूसमेत संलग्न रहेको खुलेकै हो ।
    काठमाडौँ उपत्यकाका १८ ओटा नदीनाला– वाग्मती, विष्णुमती, मनोहरा, नख्खु, बल्खु, इच्छुमती, हनुमन्ते, खासाङखुसुङलगायत अतिक्रमणमा परेको सार्वजनिक भएकै हो ।
    पञ्चायती शासनकालमा काठमाडौँ उपत्यका र अन्य सहरहरूको सरकारी जग्गा र नदीनाला अतिक्रमण शुरु भएको थियो । बहुदलीय व्यवस्था पुनः स्थापनायता ३५ वर्षमा यो अतिक्रमण तीव्र भयो । नदीनाला र सरकारी जङ्गल र जमिनको छेऊमा ४ आना जग्गा खरिद गरी ४ रोपनी क्षेत्र ओगटेर कम्पाउन्ड बनाउनेहरू भएको र नदीको बहाव परिवर्तन गराई नदीकै जग्गामा निजी प्लटिङ गरी बस्ती बसाल्ने काम गरिएको जनताको अर्को गुनासो हो ।
    जिल्ला–जिल्लाबाट काठमाडाँै उपत्यकामा बसाइँसराइ गराइँदा यो अतिक्रमण बढेको र अतिक्रमणकारीहरू सरकारी संरक्षणमा रहेको जनताको थप गुनासो हो । अहिले काठमाडौँ उपत्यकामा प्रदूषण, सडकजाम, फोहरमैला, खानेपानीको समस्या बढ्दो छ । काठमाडौँवासीको जीवन रक्षाको लागि अब उप्रान्त काठमाडौँ उपत्यकामा बसाइँसराइ हुन नपाउने कानुनी व्यवस्था जरुरी छ । सङ्घीय राजधानी पश्चिम नेपालको दाङ जिल्लामा स्थानान्तरण गरी विकासको नयाँ अभियान सुरु गर्नु उपयुक्त हुनेछ ।
  • नदीनाला र खोलाखोल्साको अतिक्रमण हुनुमा नदी किनारामा निर्माण कम्पनी, गाडी मर्मत केन्द्र (ग्यारेज) सञ्चालन तथा निजी जग्गा प्लटिङ भइरहेको पनि होइन र ?
    जवाफ : यो सत्य हो । सरकार जवाफदेही नभएकै कारण यस्तो भइरहेको हो । हामीले यी विषयहरू संसद्मा उठाउँदै सरकारको ध्यानाकर्षण गराएको पनि हो । भूमाफियाहरूविरुद्ध सरकार केही गर्न नसक्ने अवस्थामा पुग्नु मिलिमतो नै हुनुपर्दछ ।
  • ढुङ्गाको पर्खाल निर्माण गरिँदा २०२१ सालको नापी नक्सामा उल्लेखित नदीनाला र खोलाखोल्साको चौडाइ कायम नगरी साँघुरो पारिएको होइन र ?
    जवाफ : यसमा सम्बन्धित निकायका अधिकारी, प्राविधिक र ठेकेदारहरूलाई जवाफदेही बनाउनु जरुरी छ । २०२१ सालको नापीमा सरकारी जग्गा, नदीनाला, वनजङ्गलको नापनक्सा भएकै हो । काठमाडौँ उपत्यकाको वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, खासाङखुसुङ खोलाको दुवैतिर कतिपय ठाउँमा ढुङ्गाको पुराना घाटहरू छन् । यसैलाई आधार मानेर नदीको दुई किनारामा ढुङ्गाको पर्खाल उठाउनुपर्नेमा त्यसो नगरी खोला साँघुरो हुने गरी उठाइएको जनताको गुनासो हो । स्थानीय तहसँग सरोकार नै नराखी सङ्घ र प्रदेशको बजेटको नाममा नदीनाला र खोलाखोल्सा साँघुरो हुने गरी ढुङ्गाको पर्खाल बनाउन सहमति दिने सवैलाई जवाफदेही बनाउनु जरुरी छ । खेला प्रदूषण हुन नदिन नगरपालिकाहरूको ठाउँ ठाउँमा आ–आफ्नो फोहर ढल उपचार पोखरी हुनु आवश्यक छ ।
  • खोलाको दुई किनारामा पीआईडी (आयोजना कार्यान्वयन निर्देशनालय) ले ढल बिछ्याएको र उपचारपोखरी बनाएको सफल नहुने जनमत पनि छ नि ? ढलको भित्री प्वाल निकै साँघुरो हुने गरी बिछ्याइएको ढल कतिपय ठाउँमा खोलामा पर्ने गरी राखिएको होइन र ?
    जवाफ : आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीले काठमाडौँ उपत्यकामा फोहर ढल र उपचार पोखरी निर्माणको काम सुरु गरेको लामो भयो । हनुमन्ते खोलाको दुई किनारामा तेस्रो पटक ढल बिछ्याइयो । यो सफल हुनेमा जनताको आशङ्का छ । काठमाडौँ उपत्यकाका हनुमन्ते, खासाङखुसुङ, मनोहरा, वाग्मती र विष्णुमतीलगायत नदीनालामा सिधैँ फोहर ढल जोडिएकोमा जनताको विरोध छ ।
    पीआईडीले स्थानीय तहमार्फत नक्सा पारित गराई स्थानीय तहलाई बजेट पठाएर ढल, उपचार पोखरीलगायत विकास निर्माण गर्नुपर्ने थियो तर त्यसो गरेन । आयोजना ठेक्का लगाउने र विकेन्द्रीकरणको सिद्धान्तविपरीत अधिकार आफ्नो कब्जामा राख्नेमा पीआईडी केन्द्रीत भयो । पीआईडी काम गर्ने निकाय होइन । विदेशी ऋण र सहयोग स्वाहा पार्ने निर्देशनालयमा परिणत भयो ।
    सरकारबाहिर हुँदा देशप्रेमी, विकासप्रेमी र भ्रष्टाचारविरोधी देखिएकाहरू सिंहदरबारभित्रको कुर्सीमा पुगेपछि भ्रष्टाचार गर्नेहरूलाई कारबाही हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *