भर्खरै :

भारतले किन अचानक छिमेकीहरूसँग थप मेलमिलापपूर्ण कदम चालेको छ ?

भारतले किन अचानक छिमेकीहरूसँग थप मेलमिलापपूर्ण कदम चालेको छ ?

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले बिहीबार आफ्नो पाँचदिने भारतको राजकीय भ्रमण पूरा गर्नुभयो । राष्ट्रपति पदभार सम्हालेपछिको उहाँको यो पहिलो औपचारिक भारत भ्रमण हो । यसअघि अक्टोबर ४ मा भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग भेट्न श्रीलङ्काको नयाँ सरकारको पक्षमा समर्थन हासिल गर्न कोलम्बो गएका थिए । भारतले आफ्नो कूटनीतिक दृष्टिकोणलाई समायोजन गर्दै छिमेकीसँगको सम्बन्धमा प्रतिकूल घटनाक्रमलाई रोक्न थप लचिलो अडान लिइरहेको स्पष्ट छ ।
२०२४ देखि भारतले आफ्ना छिमेकीहरूसँगको कूटनीतिक सम्बन्धमा श्रृङ्खलाबद्ध अवरोधहरूको सामना गरेको छ किनकि लामो समयदेखि दक्षिण एसियामा भारतविरोधी भावनाको एकैसाथ खुलारूपमा फैलिएको छ । पदभार ग्रहण गरेपछि मुइज्जुले आफ्नो पूर्ववर्तीहरूको ‘भारत पहिलो’ नीतिलाई तुरुन्तै त्याग्नुभयो, चीनको आफ्नो पहिलो विदेश भ्रमण गर्नुभयो र भारतलाई निश्चित समय सीमाभित्र माल्दिभ्सबाट आफ्नो तैनाथ सेना फिर्ता गर्न दृढताका साथ माग गर्नुभयो । बङ्गलादेशमा राजनीतिक उथलपुथलले भारत र बङ्गलादेशको अन्तरिम सरकारबिचको सम्बन्ध सुधार गर्न महत्वपूर्ण बाधाहरू खडा गरेको छ ।
यसैबिच, सेप्टेम्बरको अन्त्यतिर भएको श्रीलङ्काको चुनावमा माक्र्सवादी जेभीपी पार्टीका राजनीतिज्ञ अनुरा कुमारा दिसानायकेको विजयले भारतले आफ्नो क्षेत्रीय कूटनीतिमा सामना गरिरहेका चुनौतीहरूलाई थप जटिल बनाएको छ ।
भारतको क्षेत्रीय कूटनीति दुई ठुला ‘मानसिक बाधाहरू’ द्वारा बाधित छ ः ‘चीनकेन्द्रित मानसिकता’ र दक्षिण एसियामा ‘आधिपत्यवादी मनोवृत्ति’ । भारतको छिमेकी नीतिमा असफलताको लागि चीनको प्रभावलाई दोष दिनु भारतीय नीतिनिर्माताहरूका निम्ति सामान्य बहाना भएको छ । विगत एक दशकमा, नरेन्द्र मोदी प्रशासनको सम्पूर्ण क्षेत्रको कूटनीतिको एउटा परिभाषित विशेषता भनेको भारतको राष्ट्रिय हित र समग्र हितलाई कसरी प्रवद्र्धन गर्ने भनेर विचार गर्नुको सट्टा अन्य देशहरू, विशेषगरी चीनलाई दक्षिण एसियामा सहकार्य पहलहरू अगाडि बढाउनबाट रोक्ने उद्देश्यका प्रतिरोधका एजेन्डाहरूमा केन्द्रित रहेको छ ।
चीनको आर्थिक प्रभावलाई प्रतिरोध गर्न, अन्य दक्षिण एसियाली देशहरूलाई चीनसँग घनिष्ठ सम्बन्ध स्थापना गर्नबाट रोक्न भारत प्रतिबद्ध छ । यसले आफ्ना छिमेकी देशहरूलाई लक्षित गर्दै ‘छिमेकीहरू पहिलो’ नीति, ‘एक्ट इस्ट’ नीति र ‘कनेक्ट सेन्ट्रल एसिया’ नीतिजस्ता विभिन्न पहल र योजनाहरू प्रस्ताव गरेको छ ।
तर, छिमेकीलाई लक्षित गरी भारतका पहलहरूले कुनै प्रगति गरेको छैन भन्ने स्पष्ट छ । यसको मूल कारण नयाँ दिल्लीले रचनात्मक क्षेत्रीय सहयोग पहलको कल्पनामात्रै गरेको छ, व्यवहारमा कुनै कार्य गरेको छैन । बङ्गलादेश–भुटान–भारत–नेपाल परियोजनाजस्ता केही सहयोग पहलहरूमा यो धेरै सक्रिय छ, तर यसको मुख्य उद्देश्य क्षेत्रीय एकता वा आर्थिक एकीकरणलाई बढावा दिनु होइन । यसको सट्टा, भारत हिमालयको दक्षिणी फेदमा रहेको ‘प्रभावको क्षेत्र’ मा आफ्नो हितको सुरक्षामा बढी केन्द्रित छ । चीनसँगको भारतको सम्बन्धको परिप्रेक्ष्यमा नयाँ दिल्लीले आफ्नो धेरैजसो समय पेइचिङलाई आफ्नो योजनालाई अगाडि बढाउन खोज्नुको सट्टा आफ्नो लक्ष्य हासिल गर्नबाट कसरी रोक्ने भन्ने कुरामा व्यतित गर्छ भन्ने कुरालाई सहजै महसुस गर्न सकिन्छ ।
दक्षिण एसियामा भारतसँग भौगोलिक र सांस्कृतिक लाभहरू छन् जुन बलियो क्षेत्रीय नरम शक्तिमा परिणत हुनुपथ्र्यो । यद्यपि, यसले प्रायः दबाब दिन अत्यावश्यक वस्तुहरू, व्यापार र ऊर्जा आपूर्तिका लागि केही दक्षिण एसियाली देशहरूको निर्भरताको फाइदा उठाउँदै यी भूराजनीतिक लाभहरूको दुरूपयोग गर्दछ । यो दृष्टिकोणले अन्ततः यस क्षेत्रमा नयाँ दिल्लीको प्रभावलाई कमजोर बनाउँछ । आफ्नो दक्षिण एसियाली छिमेकीहरूसँगको आर्थिक ‘जबरजस्ती कूटनीति’ तर्फ भारतको झुकावले यी देशहरूलाई नयाँ दिल्लीमा आफ्नो निर्भरता घटाउने उपायहरू खोज्न बाध्य तुल्याएको छ । भारतको सट्टा थप भरपर्दो आपूर्ति श्रृङ्खला नेटवर्कहरूको लागि चीनतिर फर्केको छ ।
दक्षिण एसियाको स्थितिमा हालैका परिवर्तनले मोदी प्रशासनलाई छिमेकीहरूप्रति थप मेलमिलापपूर्ण अडान अपनाउन प्रेरित गरेको छ । यद्यपि, यदि भारतले मौलिकरूपमा आफ्नो मानसिकता परिवर्तन गरेन भने, यसलाई ‘नरुचाइएको ठुलो दाइ’ को रूपमा हेरिनेछ, जसले यी देशहरूको सम्मान कमाउन असम्भवजस्तै बनाउनेछ । अझ प्रत्यक्षरूपमा, नयाँ दिल्लीले दक्षिण एसियाली क्षेत्रलाई आफ्नो ‘प्रभावको क्षेत्र’ मान्न हुँदैन । भारतले सामना गरेको वास्तविक चुनौती भनेको कुनै पनि रचनात्मक कार्य गर्न असफल भई चीनको पहललाई अस्वीकार गर्नुको सट्टा सक्रिय क्षेत्रीय सहयोग रणनीति विकास गर्नु आवश्यक छ ।
(लेखक फुदान विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन केन्द्रका उपनिर्देशक हुनुहुन्छ ।)

ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *