सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

मध्य जेठको टन्टलापुर घाममा अन्दाजी ६५ वर्षमाथिका एक वृद्धले औषधि पसलको काउन्टरमा डाक्टरको पुर्जी फ्यात्त फाल्दै ज्वारीकोटको खल्तीबाट रुमाल निकालेर पसिना पुछे । नजिकै काउन्टरमा राखेको पानी घटघट पिएर खुइय् लामो सास फेरे । त्यसपछि मुस्किलले बोले, “बाबु त्यो चार नम्बरको औषधि हेर्नाेस् त ?” धेरै बेर घोत्लेर हेरेपछि भनेँ, “खै बा, मैले त बुझिनँ, यो औषधि के लेखेको हो भनेर ।” उनले फेरि खुइय गर्दै बोले, “ए ¤ बल्ल पो थाहा भयो डाक्टरले लेखेको नबुझेका पो रहेछन् । सबै औषधि पसलेले छैन मात्र भने, तपाईंले पो बुझिनँ भन्नुभयो ।” त्यो त डाक्टरले लेखेको प्रेस्क्रिप्सनको अक्षर नबुझेर अरू पसलेले छैन भनेका रहेछन् ।’
बिरामीलाई फेरि तिनै चिकित्सककहाँ पठाइदिएँ । ती वृद्धले चिकित्सकसँग भनेछन्, ‘कसैले बुझेनन् । कसैले औषधि छैन भने । डाक्टरबाबु तपाईंले के औषधि लेखेको हो ?’ डाक्टरले झर्कोफर्कोे गर्दै जवाफ दिएछन्, “यति नबुझ्नेले के औषधि बेच्छन् ?” ती वृद्ध भोलिपल्ट मैकहाँ आइपुगे । त्यो त कुनै एक औषधि कम्पनीको भिटामिन बी–कम्प्लेक्स लेखेको रहेछ । ती वृद्ध अघिल्लो दिन नै सिन्धुपाल्चोकस्थित घर फर्किनुपर्ने रहेछ । त्यही डाक्टरी अक्षर नबुझ्नाले मध्यघाममा धेरै औषधि पसल चहारेर पनि औषधि पाएनन् । भोलिपल्ट डाक्टरको झर्काेफर्काेसँगै बुझिने अक्षर पाए । तर, एकदिन त त्यत्तिकै औषधि खोज्दा खोज्दै बित्यो ।
यस्तै एकजना भारी बोकेर जीवन निर्वाह गर्ने अधबैंसे उमेरको बिरामी मकहाँ आइपुगे । उनले कुनै एक औषधि देखाउँदै राय मागे– यो औषधि खाएको सात दिन भइसक्यो । व्यथा ज्यूँका त्यूँका छ, अलिकति पनि कम भएन, के भाको होला ?’ मैले औषधि हेरेँ, पाँच सय एमजीको सिप्रोफ्लोक्सासिन थियो । मैले सोधेँ, कति दिनका लागि दिएको हो यो औषधि ? उनले भने, “एक महिनाका लागि ।”
सामान्यतया त्यो औषधि महिना दिनका लागि दिइँदैन । अनि मैले डाक्टरको पुर्जी ल्याउनु भने । केही बेरपछि उनी डाक्टरको पुर्जी र औषधी किनेको बिलसहित आए । डाक्टरले लेखेको र दिइएको औषधि अत्यन्तै भिन्न प्रकृतिका थिए । त्यो औषधिको बिलमा औषधि पसलको नाम थिएन । मैले त्यस बिरामीलाई सोधेँ, पसल चिन्नुहुन्छ ? उनले चिन्छु भने । त्यसोभए मैले डाक्टरलाई देखाएँ । यो त डाक्टरले लेखेअनुसारको औषधि नै होइन रहेछ । मैले जे लेखेको छ, त्यही दिनु भन्नुहोला भनी पठाएँ । उनी गए तर त्यस पसलेले उल्टै गाली गरी बिक्री भइसकेको औषधि फिर्ता हुँदैन भनी पठाएछन् । उनी फेरि मकहाँ आइपुगे । मैले उनको अवस्था र पीडालाई आत्मसात गरी औषधि साटेर डाक्टरले लेखेको औषधि खाने सल्लाह दिएर पठाएँ । मेरो मनमा रिसको आगो बलेको थियो । नाम नभएको बिल, गलत औषधि, उल्टै बिरामीलाई गाली ! तर के गर्नु ? केही गर्न सकिएन । यो कमजोरी हाम्रो कि सम्बन्धित सरकारी निकायको ? मलाई सोचमग्न बनायो, पीडाबोध भयो ।
केही समय अगाडिको कुरो हो । म आफैँ शिक्षण अस्पताल महाराजगन्जमा नाक, कान, घाँटी विभागमा पुगेँ बिरामी परेर । एकजना वरिष्ठ चिकित्सकले मलाई सिटी स्क्यान गर्न सल्लाह दिनुभयो । मैले पेइङ ओपीडीको टिकट लिएको थिएँ, जुन सामान्त्न्दा बढी पैसा तिरी रोजेको डाक्टर देखाउन पाउने व्यवस्थाअन्तर्गतको बढी पैसा तिरेर मात्र भनेको डाक्टर भेट्न पाइन्छ, मैंले सिटीस्क्यान गरेर एक हप्तापछि रिपोर्ट देखाउन गएँ । जब रिपोर्ट उनका हातमा मात्र के परेको थियो, एक सेकेन्ड पनि पूरा नहेरी फ्यात्त टेबलमा राखिदिए । केही नबोली मेरो पुर्जीमा सरसर्ती औषधि लेख्न थाले । करिब पाँच मिनेटमा सबै औषधि लेखी मलाई पुर्जी थमाए । यो औषधि खानु अनि तीन महिनामा भेट्नु । यसो मैले पुर्जीमा हेरँे । धेरै प्रकारका र औषधि खाने क्रममा केही असर देखिन सक्ने सम्भावित औषधि पनि थिए । मैले डाक्टरलाई प्रश्न गरेँ, ‘डाक्टरसाब १, २, ३ र ४ नम्बरका प्रत्येक औषधिले के–के काम गर्छन् र मलाई भएको के हो ?’
डाक्टरले झर्कदै भने, ‘औषधि पसलेले बताइदिन्छ, जानोस् ।’ अनि मैले सम्झेँ, त्यो भरिया दाइलाई औषधि दिनेजस्तो पसले प¥यो भने के होला मेरो हालत ? मैले फेरि प्रश्न गरेँ– डाक्टरसाब, मलाई भएको के हो ? उनले झर्कदै भने, ‘तपाईंले बुझ्नुहुन्न, सबै यो रिपोर्टमा छ । औषधि खानोस्, ठीक हुन्छ । बिचमा समस्या परे आउनुहोस् ।’
समग्रमा हेर्दा स्वास्थ्य सेवा दिने, लिने र सहजताको भूमिका निभाउने सबैमा आपसी तालमेलको अभाव, संवादको कमी, असमझदारी र मानवीयताको अभावसमेत देखिन्छ । यसो भयो भन्दैमा सबै डाक्टर, सबै औषधि व्यवसायीलाई दोषी देखाउन खोजेको भने पक्कै होइन । तैपनि समाजमा देखिएका यी विकृति हिजोभन्दा आज झाँगिदै गएको पक्का हो । के यसलाई हामीले न्यूनीकरण गर्न सक्दैनौँ ?
न्यूनतम मानवीय व्यवहार, बिरामीमैत्री प्रस्तुति, सरल भाषा, सर्वसाधारणले बुझ्ने दोहोरो संवाद, बिरामीका पीडा बुझ्नु, बुझिने पेस्क्रिप्सन लेख्नु के डाक्टरी गुणमा पर्ने विषय होइनन् र ?
अतः डाक्टर, बिरामी र औषधि व्यवसायीबिचको त्रिकोणात्मक समायोजित सम्बन्ध कायम राख्नु आवश्यक छ । पेसागत मूल्य र मान्यतालाई अझ उच्च मर्यादित बनाउन सबैले आ–आफ्नो ठाउँबाट मन, बचन र कर्मले सेवाभावलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नु जरुरी छ । सेवाग्राहीले पनि सेवा वा सहयोगलाई सहयोगका रूपमा ग्रहण गर्ने, त्यसलाई अधिकारको रूपमा नसम्झी दुरूपयोग नगर्ने परिपाटीको विकास हुन अत्यन्त आवश्यक छ ।
सम्बन्धित सरकारी निकायको पनि कार्यक्षमता, दक्षता र पहुँचलाई समयसापेक्ष परिमार्जित गर्दै सेवाग्राही र सेवादाताबिचको दूरी कम गर्ने खालका कार्यक्रम ल्याउन जरुरी देखिन्छ । नियमित अनुगमनसँगै स्वास्थ्य संस्था र औषधि बिक्री कक्षको अवस्थाबमोजिम आवश्यक निर्देशन दिनु र निर्देशन पालना भए नभएको बारे ध्यान दिन सक्नुपर्छ । वर्षदिनमा एकपटक कुनै एक संस्थामा अनुगमन गर्ने र के के न गरेझैँ मिडियामा प्रचारबाजी गर्ने कार्यले प्रतिफल दिँदैन । त्यसैले सरोकारवाला निकायले यसतर्फ प्रभावकारी योजना तयार गरी कार्यान्वयन गर्नु आवश्यक देखिन्छ ।
(लेखक एक फर्मासिस्ट हुन् ।)
Leave a Reply