भर्खरै :

ज्येष्ठ नागरिकहरूको बढ्दो उमेरमा आहार

ज्येष्ठ नागरिकहरूको बढ्दो उमेरमा आहार

उमेरको उत्तराद्र्धमा मानिसको शरीरमा खानाका साथै जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक पर्दछ । उमेरसँगै हाम्रो जिब्रोको स्वाद र खानेकुराको इच्छामा पनि परिवर्तन हुन्छ । बढ्दो उमेरमा आहारबारे जानकारी राखेर व्यवहारमा प्रयोग गर्दा जीवनको उत्तराद्र्धमा स्वस्थ भएर बाँच्ने सम्भावना बढ्छ ।
एकै पटक धेरै खाने वा मिठो लाग्यो भन्दैमा कोचेर खानुहुँदैन । बढ्दो उमेरमा युवा अवस्थामा जस्तो पचाउने शक्ति हुँदैन र शारीरिक क्रियाकलापमा पनि कमी हुन्छ ।
‘म पहिले–पहिले एक माना चामलको भात एकछाकमै खान्थेँ । अहिले त दुई मुठी खाएपछि पेट टम्म भरिन्छ । खाने इच्छा नै लाग्दैन, के भएको होला ? पहिले ढुङ्गा, माटो खाए पनि पचाउँथें, अहिले त एक डाडु खाए पनि पेट ढुस्स हुन्छ । कतै कचरमचर खाएँ भने पखाला चल्छ । के भएको होला मेरोे ज्यानलाई ?’ ६० वर्ष कटेपछिका कतिपय मानिसले यस्तो भनेको सुनिन्छ । तर, उनीहरूलाई थाहा हुँदैन कि शरीरमा बाहिरीसँगै भित्री अङ्गमा पनि परिवर्तन हुन्छ ।अनि पेटको पाचन रस पनि कम निस्किन्छ । पहिले सजिलै पचाउने कुरा उमेर बढ्दै जाँदा पचाउन गाह्रो हुन्छ । त्यसैले उमेरसँगै खानपिन परिवर्तन गर्नैपर्छ ।
जसलाई धेरै बलको काम गर्नुपर्दैन, उनीहरूको त खाना पनि उमेरसँगै कम गर्दै जानुपर्छ । यदि मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या छ भने त स्वास्थ्यकर्मीसँग सल्लाह लिएर नै भोजनको व्यवस्थापन गर्नुपर्छ ।
उमेर बढ्दै गएपछि कतिपयलाई पहिले सजिलै पच्ने दूध खाएपछि पनि पेट गडबड हुने समस्या हुनसक्छ । दूधमा भएको ‘ल्याक्टोज’ नामक विशेष तत्व नपच्ने अवस्था पनि आउन सक्छ । त्यस्तो अवस्थामा पिर मान्नुपर्दैन । दूधको सट्टा दही, महीजस्ता पदार्थ प्रयोग गर्न सकिन्छ । साथै भोजनमा क्याल्सियमको मात्रा समावेश गराउनका लागि क्याल्सियम बढी भएका तिल, आलस आदि प्रयोग गर्न सकिन्छ ।
केहीअघि ६६ वर्षका एक परिचितको अस्पतालको सघन कक्षमा उपचार गर्दागर्दै मृत्यु भयो । उनको दुवै मृगौलाले काम गर्न छोडेको थियो । बिस्तारै–बिस्तारै फोक्सोमा पानी जम्यो । हातखुट्टा सुन्निएर आए । शरीरका अन्य अङ्ग–प्रत्यङ्गले काम गर्न छाडे । डायलासिस गरेर उनको जीवन केही दिन चल्यो तर धेरै दिन चल्न सकेन ।
उनलाई मधुमेहको समस्या भएको १० वर्ष भइसकेको थियो । उनी औषधि खाँदै थिए । तर, कुनै पनि बेला मुख बार्दैनथे । ‘मर्नैपर्ने हो एक दिन, किन भोको पेट बस्ने ? म त मुख बार्दिन, आनन्दसँग खान्छु, बरु खाएरै मर्छु’, उनी भन्थे । उनलाई मुटुमा पनि समस्या परेको एक वर्ष भइसकेको थियो । उनको मधुमेहको समस्या औषधि खाएर पनि ठीक भएको थिएन ।
५६ वर्ष हुँदा मधुमेह भएकाले मुख नबार्दा ६६ वर्षमा नै उनी बिते । सरकारी कर्मचारी भएकोले उपचारमा केही सहुलियत थियो । तर ‘अब यो उमेर भइसक्यो किन मुख बार्नु ?’ भनेर लत्तो छोडेपछि उनको मृत्यु असामयिक रूपमा नै भयो । डाक्टरले उपचारका लागि परामर्श र सल्लाह दिने हो । समय–समयमा औषधिले फाइदा पु¥याएको वा नपु¥याएको हेरेर औषधि परिवर्तन गर्ने हो ।
तर, आफैंले आफ्नो स्वास्थ्यको वास्ता नगरेपछि त उपचारले मात्र के हुन्छ र ? त्यसैले ज्येष्ठ नागरिकहरूले आफ्नो स्वास्थ्यकर्मी र परिवारको सल्लाह लिएर अनि आफैंलाई पनि अनुशासनमा राखेर स्वस्थ जीवन बिताउन कोशिश गर्नुपर्छ ।
ज्येष्ठ नागरिकहरूले रोगसँग लड्ने शक्ति कायम राख्न भिटामिन ‘सी’ भएका वस्तुलाई भोजनमा समाहित गर्नु उचित हुन्छ । विभिन्न फलफूल अम्बा, अमला आदिको साथै कुनै पनि स्थानीय फलफूल जस्तो– कागती, बेल आदिमा भिटािमन ‘सी’ पर्याप्त पाइन्छ । पचाउने शक्ति कम हुँदै गएमा सजिलोसँग पच्ने हरियो तरकारी जस्तो– बकुला, सिमी आदि पनि पानीमा भिजाई टुसा उमारेर प्रयोग गर्न उचित हुन्छ । यिनमा प्रोटिन, रेसादार तङ्खव आदि पर्याप्त हुन्छ । टुसा उमारेपछि पचाउन पनि सजिलो हुन्छ । यसमा प्रोटिन पनि पर्याप्त हुन्छ । तर, मिर्गाैलामा समस्या भएका ज्येष्ठ नागरिकले चिकित्सकको सल्लाह लिनैपर्छ ।
हरियो तरकारीको प्रयोग गर्दा सरसफाइको ध्यान दिनैपर्छ । हरियो तरकारीले रोगसँग लड्ने शक्ति बढाउने, भिटामिन ‘ए’ दिने र बुढ्यौली हुने प्रक्रियालाई कम गर्ने हुन्छ ।
रोटी वा ढिँडोसँग हरियो तरकारी र अचार खाँदा स्वास्थ्य र स्वाद दुवै मिल्छ । ज्येष्ठ नागरिकमा विशेष महिलाहरूले पनि रजोनिवृत्ति भइसकेपछि भोजनमा विशेष ध्यान दिनैपर्छ ।
प्रायः नेपाली महिलाहरूको ५० वर्षको उमेरसम्म रजोनिवृत्ति अर्थात् (महिनावारी सुक्ने) प्रक्रिया भइसक्छ । पुरुषको तुलनामा महिलाहरूको हड्डी क्षय हुने समस्या बढी हुन्छ ।
यो न्यूनीकरण होस् भनेर भोजनमा दूध, दही, भटमास, बोडी, तोफु, पनिरजस्ता खानेकुुराको प्रयोग गर्न उचित हुन्छ । तर, ध्यान दिनुपर्ने कुरा के छ भने, शरीरमा भिटामिन ‘डी’को उपस्थितिले क्याल्सियम शोषण गर्न मद्दत गर्छ । त्यसैले प्रत्येक दिन घाममा बस्नैपर्छ । किनभने ८० देखि ९० प्रतिशत भिटामिन ‘डी’ त घामबाट नै प्राप्त हुन्छ ।
विभिन्न किसिमका नसर्ने रोग भएका ज्येष्ठ नागरिकले भने के खाने, कुन बेला खाने भनेर स्वास्थ्यकर्मीसँग सल्लाह लिनैपर्छ । स्वास्थ्य राम्रो रहोस् भनेर भोजन शैलीको परिवर्तनका साथै योगासन र व्यायाममा पनि ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *