भर्खरै :

किंंवदन्तीमा आधारित भक्तपुरको जुजुलाखे – १

किंंवदन्तीमा आधारित भक्तपुरको जुजुलाखे – १

नेवाः नेपाःमण्डलको आदिवासी जाति हो । नेवाःको शाब्दिक अर्थ नेपालको बासिन्दा हो । नेवाःहरूको मूलथलो उपत्यका हो । उपत्यकामा रहेका नेवाःहरू मध्यकाल अर्थात् विसं ९३७ देखि १८२६ सम्म व्यापार गर्नको लागि र गोर्खाका राजा पृथ्वीनारायण शाहले तत्कालीन नेपाल (हालको काठमाडौँ उपत्यका) मा आक्रमण गरी कब्जा गर्दा उपत्यकाका नेवारहरू उपत्यकाबाहिर बस्न पुगे जहाँ जहाँ नेवाःपुगे, त्यहाँ त्यहाँ बस्ती विकास गरिदिए । किनभने, यिनीहरू उद्योगी र व्यवसायी जाति थिए । आफ्नो मूलथलो छाडेर बस्ती सर्दा उनीहरूले उपत्यकाको आफ्नो संस्कृतिलाई जोगाउन सकेनन् । (लाखेनाच र नेवार जातिको संस्कृति) नेवाःहरूको संस्कृति प्रायः सबै गुठीबाट चलाएका हुन्छन् । गुठीबाट चल्ने प्रायः संस्कृति धार्मिक भावना र राज्यका शक्ति समेत जोडिएका हुन्छन् । त्यसकारण, यस्ता धार्मिक, तान्त्रिक र राज्यसित सम्बन्धित अधिकांश संस्कृति उपत्यका बाहिर पुगेन । तर, लाखेनाच भने काठमाडौँ उपत्यका बाहिरका नेवाः बस्तीमा पनि नचाउन थाल्यो । यो नाच अन्य जाति र समुदायमा पनि उत्तिकै लोकप्रिय भयो । उपत्यका बाहिर नचाइने लाखे गुणिला लाखे हो । यो लाखे नाचका लागि कुनै धार्मिक विधि, शास्त्रगत कुरा चाहिँदैन । कुनै जाति विशेष पनि हुनुपर्छ भन्ने छैन । (श्रेष्ठ, जोस्ना, लाखेःनेवार संस्कृति तथा परम्परा) यसकारण, नेवाःजातिसँग नेपालको नामका साथै इतिहास र संस्कृतिसमेत गाँसिएको छ । नेवाःजाति अर्थात् समुदायमा बोलिने भाषालाई नेवारी भनिन्छ । नेवारी भाषाको औपचारिक नाम नेपालभाषा हो । नेपालभाषा शब्दको नामकरण देशको नामबाटै भएको छ । जसको प्रमाण ऐतिहासिक प्राचीन ग्रन्थ र शिलालेखहरूमा पाइन्छ । नेपालभाषाको आफ्नै लिपिहरू रन्जना लिपि र भुजिंमोल लिपि छन् । तर, पनि नेपालभाषाको प्रचलित लिपि भने रन्जना लिपि हो । वर्तमान समयमा यो भाषामा देवनागरिक लिपिको पनि प्रयोग हुने गर्दछ । नेवाःजातिहरू धर्मका हिसाबले पनि शैव र बौद्ध धर्म मान्नेहरू छन् ।
नेपाःमण्डलको नेवाःहरूमा ऋतुअनुसारको विशिष्ट पहिचान बोकेको संस्कार, सस्ंकृति, चाडपर्व र नाचगान छन् । यी चाडपर्व र नाचगान किराँत शासनकालदेखि सुरु भएको मानिन्छ । किनभने, नेपाल किराँतकालदेखि तन्त्रप्रधान देशको रूपमा परिचित हुँदै आएका छन् । किराँतीहरूको तन्त्र परम्परा निकै बलियो थियो र जीवन पद्धति तन्त्रमय थियो । तन्त्र हिन्दू धर्मका साथै बौद्ध र जैन धर्ममा पनि यो विद्याको प्रचलन छ । त्यसैले यहाँका चाडपर्व तथा नाचहरू प्रत्यक्षरूपमा तन्त्रमा आधारित हुनुको साथसाथै कृषिसँग सम्बन्धित छन् । समयमा पानी परोस्, बालीनाली सप्रियोस्, अनिकाल नपरोस्, खोला बाढी वा खडेरी नलागोस्, भूकम्प नआओस् भनेर बर्सेनि चाड मनाइन्छ । वैज्ञानिक दृष्टिकोणवाट हेरे पनि यहाँका चाडपर्वहरूमा अनेक दर्शन र अभिप्राय देखिन्छन् । त्यसैले किराँत शासनकाललाई चाडपर्वको युग मानिन्छ । चाडपर्व र संस्कार, संस्कृति मानव जातिका अभिन्न पाटा हुन् । आध्यात्मिक र वैज्ञानिक दृष्टिले संस्कार, संस्कृति र चाडपर्वलाई नै विद्या भनिन्छ । कुनै पनि धारणा, दर्शन, संस्कार, संस्कृति पर्व तथा सिद्धान्तहरू समय परिस्थितिअनुसार आ–आफ्नो स्थान र तर्कमा बदलिन सक्छन् । समय र स्थान विशेषले जुनसुकै रूप लिए पनि चाडपर्वहरू वैज्ञानिक तथा मानवीय जीवनमा व्यवहारिक देखिन्छ । (कायस्थ, डा. वीरेन्द्रप्रसाद, मल्लकालीन संस्कृति र चाडपर्व)
प्रत्येक वर्ष भदौ शुक्ल द्वादशीदेखि आश्विनकृष्ण चौथीसम्म मनाइने वर्षाको देवता इन्द्रको नाममा यो चाड मनाइन्छ । इन्द्रजात्रा एउटा महत्वपूर्ण जात्रा हो । देवदेवीका राजाको रूपमा इन्द्रलाई देवेन्द्र पनि भनिन्छ । समयअनुसार वर्षा नभए इन्द्रको पूजा गर्दा वर्षा हुने विश्वास गरिन्छ । नेपालमा इन्द्रलाई युगौँदेखि वर्षाको देवताको रूपमा पुजिँदै आएको छ । वर्षको बा¥ह महिनामध्ये एउटालाई इन्द्रको महिनाको नामले वर्णन गरिएको छ । भदौ महिनालाई नेपालभाषामा ञँला भनिन्छ, त्यस महिनाको देवतालाई ञँलाद्यो (इन्द्रदेव) को संज्ञा दिइएको छ । यस महिनामा विशेषगरी इन्द्रको पूजा जात्रा धुमधामले गरिन्छ । काठमाडौँको हनुमानढोकाको प्राङ्गणमा इन्द्रजात्राको दिन काठको ३६ हात लामो लिङ्गो ठड्याएर उल्लासका साथ शुभारम्भ गरिन्छ । त्यस अवसरमा ठड्याइने लिङ्गोलाई ‘इन्द्रध्वज’ भनिन्छ । त्यस्तै भक्तपुरको दोबाटोमा पनि छोटो लिङ्गो ठड्याउने चलन छ । जसलाई स्थानीय भाषामा यमःद्यो भनिन्छ । जुन इन्द्रका छोरा जयन्तको प्रतीक मानिन्छ । इन्द्रजात्रा पर्वको मुख्य विधि भनेको नै वसन्तपुर दरबार क्षेत्रको कालभैरव अगाडि यः सिं अर्थात् लिङ्गो ठड्याउनु हो । यो लिङ्गो तान्त्रिक विधिबाट ठड्याउने गरिन्छ । यहीँ लिङ्गोमा अङ्कित पाताहरूमा सुनको जलप र इन्द्र विराजमान ऐरावत हात्तीको प्रतिमा बनाइन्छ । यहीँ दिन नै श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ ।
प्राचीनकालमा असुर नाम गरेको एउटा दैत्यले इन्द्रलाई ‘स्वर्गको गद्दी छाडिदेऊ, नत्र लडाइँ गर्न आऊ’ भनी हाँक दियो । अन्तमा, इन्द्रको र दैत्यको ठुलो लडाइँ भयो । भगवान्नारायणको मद्दतबाट इन्द्रले त्यस दैत्यलाई मारिदिए । दैत्यको राज्य जितिलिए । सोही उपलक्ष्यमा आफूले जितिलिएको राज्यमा आफ्नो झन्डा गाडिदिए । यसैलाई लिङ्गो भनिन्छ । यो लिङ्गो उभ्याउनुलाई नै इन्द्रजात्रा भन्छ । (कायस्थ, डा. वीरेन्द्रप्रसाद, मल्लकालीन संस्कृति र चाडपर्व)
पौराणिक कथाअनुसार कृष्ण भगवान् गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे । किनभने, तिनीहरू किसानहरू थिए । तर, इन्द्रबाट उनीहरूले केही पाउँदैन थिए । त्यसैले भगवान् कृष्णले किसानहरूलाई भन्नुभयो, खेतीपाती र गाईवस्तुहरूको संरक्षणमा ध्यानकेन्द्रित गरेर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । उनले भने कि सबै मानिसहरूले आफ्नो धर्ममा मात्र लाग्नुपर्छ, आफ्नो क्षमताले सक्दो गर्न र प्रार्थना गर्नुपर्छ । कसैले पनि प्राकृतिक घटनाको लागि बलिदान गर्नु हुँदैन । यो कुरा देवराज इन्द्रले चाल पाएपछि रिसाएर गोकुलको आकाशमा धेरै बादल देखाए र सात दिन र सात रातसम्म भिषण पानी असिना वर्षा गराइदिए । त्यो वर्षाबाट गाउँ बाढीले भरियो । द्वापर युगमा वृन्दावनवासीमाथि आइपरेको बाढीको आपत्बाट भगवान् श्रीकृष्णले गोवर्धन पर्वतलाई आफ्नो कनिष्ठ (कान्छो) औँलामा उठाएर जोगाउनुभएको थियो । (श्रीमभ्दागवत महापुराण)
नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन् । यसरी नाचिने नाचहरूमा प्राय देवीदेवतासँग जोडिएको हुन्छ । जस्तैः नवदुर्गा नाच भक्तपुरलगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ । (लाखेनाच र नेवार जातिको संस्कृति) भने धेरै रोचक जुजु लाखेनाच इन्द्र जात्रामा हाल भक्तपुर देखाइन्छ ।
लाखेनाच नेवाःसमुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मकुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । मल्लकालमा पहिलोपटक लाखेको नृत्य भने सिङ्गो उपत्यकाका राजा जयस्थिति मल्लका छोरा श्रीधर्म मल्लदेवको विवाह समारोहमा मञ्चन भएको भैरवानन्द नृत्यको समय लाखेको नृत्य पनि प्रदर्शन भएको भन्ने बुझिन्छ । नेपालभाषा वंशावलीअनुसार लाखेनाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखेनाच नाच्ने गरेको पाइन्छ । (श्रेष्ठ, जोस्ना, लाखे नाचको रौनकता र लोकप्रियता) धेरैजसो नाटकका पात्रमध्ये राक्षस गण भनी एउटा वर्गको पात्रका रूपमा पनि प्रस्तुत गर्ने गरिन्छ । कथाअनुसार लाखे भनेको तिनै राक्षसको स्वरूप हो, अर्थात् रातो मच्छिन्द्रनाथलाई फिर्ता लैजान कामरूकामाख्यादेखि आएका उनका पिता, माता र सम्बन्धीहरू नै लाखे हुन् । नेवाःसमुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पनि पुज्ने प्रचलन छ । देशका विभिन्न स्थानहरूमा नचाइने लाखेनाचले आफ्नो समाज, समुदाय र परिवारमा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदिइयोस् भनेर लाखेनाच नचाउने गरिएको हो ।
कथाअनुसार यहाँका बासिन्दा खेतमा अन्न फलाउन दिनरात परिश्रम गर्दछन् । त्यो देखेर राक्षसहरूको मन पग्लिन्छ । उनीहरू उपत्यकावासीको परिश्रममा सहयोगको हात बढाउन भेष बदलेर कृषि श्रमिकका रूपमा उपत्यका प्रवेश गर्छन् । श्रमिकका रूपमा खेतमा काम गर्दा खाजा खाने बेलामा युवकलाई पनि खाजा खान आग्रह गर्दा कृषकले दिएको खाजा नखाई आफ्नो झोलाबाट ला अर्थात् मासु, खेंय अर्थात् अण्डा निकालेर खाँदा रहेछन् । यस्तो क्रम दैनिकी हँुदो रहेछ । नेवारी भाषामा मासुलाई ला र अण्डालाई खेंय भनिन्छ । ला र खँेंंय खाने भएर त्यसको नाम लाखेय रहन गएछ । Cultural Heritages of Nepal
लाखेय अर्थात् राक्षसहरूको शारीरिक बल स्वाभाविकरूपले मान्छेको भन्दा धेरै हुने नै भयो । पाँच जना मान्छेले गर्ने काम भेष बदलेर आएका एकै जना राक्षसले गरिदिन थालेपछि उपत्यकावासीलाई निकै सजिलो हुन्छ । यहाँका खेतमा वर्षको दुई बाली अन्न लहलहाउन थाल्छ । अरू बेला पनि खेत कहिल्यै बाँझो रहन्न । उब्जनी बढेपछि किसान समृद्ध हुन्छन्, राज्य समृद्ध हुन्छ । सहयोगको सिलसिला लामै समय चल्छ ।
एकदिन काठमाडौँका तान्त्रिकहरूले बाहिरबाट आएका कृषि श्रमिकहरूको शक्तिबारे थाहा पाउँछन् । उनीहरूलाई शङ्का हुन्छ । ध्यानदृष्टिले हेर्दा ती कृषि श्रमिकहरू मान्छेको भेष धारण गरेका बहुरूपी राक्षस हुन् भन्ने पत्ता लाग्छ । तर, त्यतिबेलासम्म राक्षसहरू काठमाडौँको जनजीवन, खासगरी खेतीपातीसँग अभिन्नरूपले गाँसिसकेका हुन्छन् । उनीहरूलाई लखेटेर पठाउँदा वा उपत्यका छिर्न नदिँदा यहाँको उब्जनी आधा घट्ने खतरा थियो । यस्तो जोखिम मोल्नु भनेको खेतीपातीमा आश्रित यहाँका बासिन्दाको दैनिकी र सिङ्गो राज्यको समृद्धिका लागि प्रत्युत्पादक हुनसक्थ्यो । बरू उनीहरूसँग हरतरहले मेलजोल राख्नु, उनीहरूको शारीरिक बलको बढीभन्दा बढी लाभ उठाउनु तर उनीहरूलाई यहाँका बासिन्दासँग घुलमिल हुन नदिनु सबैको निम्ति श्रेयष्कर थियो । त्यसैले उनीहरू नगरमा बस्न नपाउने या जङ्गलमै बस्नुपर्ने गरे ।

मतिगा (भतिगा) लाखे आजु
यो लाखे विशेषतः द्यःला समाजबाट निकालिने लाखे हो । द्यःला समाजबाट निकालिने यो लाखेलाई ‘मतिगा आजु लाखे प्याखँ’ पनि भनिन्छ । नेसं.९० देखि प्रचलनमा आएको मानिने यो लाखे प्याखँ द्यःला समाजको पहिचानमुखी जात्रा संस्कृति हो । प्रत्येक वर्ष नाग पञ्चमीको दिनदेखि कृष्णाष्टमीसम्म नचाइने मतिगा (भतिगा) आजु लाखे प्याखँ काठमाडौँको सबल बहालबाट निकालिने गरिन्छ । मतिगा (भतिगा) आजुको शाब्दिक अर्थ पुख्यौल आजु भन्ने बुझिन्छ । यिनी कहाँका हुन्, कहिले आएर सबल बहालमा रहेकी एकजना द्यःला कन्यासँग विवाह बन्धनमा बाँधिएका हुन् भन्ने कुरा अज्ञात छ । तर, यिनलाई त्यस ठाउँका मानिसहरूले सम्मानित ज्वाइँको दर्जामा राखेका थिए । किनभने, यिनी सम्पदा संस्कृतिप्रति रूचि भएका, समाजसेवी स्वभावका थिए । रहँदै बस्दै जाँदा यी ज्वाइँको शरीरमा देवता चढ्न थालेपछि मकुन्डो लगाएर मतिगा (भतिगा) लाखे प्याखँ नचाउन थालियो । ठुला ठुला जोडिएको आँखा, मुखबाट दा¥हा निस्किएको, रातो रङको मकुन्डो र रातो जामाको पहिरनमा देखापर्ने मतिगा (भतिगा) लाखे प्याखँ सबल बहालको नासःद्य (नृत्य नाथेश्वर) लाई नाग बलि दिएर निकालिन्छ र कृष्णाष्टमीका दिनसम्म टोल टोलमा घुमाइन्छ । (डंगोल, प्रेममान, लाखे नाचसँग जोडिएका तीन कथा)
एक कथनअनुसार मञ्जुश्री वंशज भनिने रञ्जितकार समाजको नेतृत्वमा इन्द्रजात्राको दिन निकालिने मजिपा लाखे र मतिगा (भतिगा) लाखे कहिल्यै भेट गर्नु हुँदैन । कथंकदाचित मजिपा आजु सबल बहालमा वा मतिगा (भतिगा) आजु मजिपातमा पुगे रगत छाडेर मृत्यु हुन्छ भन्ने विश्वासमा यी दुवै लाखे तत्तत् स्थानमा कहिल्यै नाच्न जाँदैनन् । (वज्राचार्य गणेश, लाखे नाचः एकलोकप्रिय नेवार संस्कृति)

गँुला लाखे
यो लाखे नेपाल संवत्अनुसार दसौँ महिनामा पर्ने गुँला पर्व (अथवा श्रावण शुक्ल प्रतिपदादेखि भदौ आमावस्या) भित्र निकालिन्छ । नेवाःसमुदायले लाखेलाई रोगमुक्त गराइदिने ठाउँठाउँको रक्षकका रूपमा पनि लिने गरिआएको देखिन्छ । एकातिर विघ्न गर्ने र अर्कोतिर सम्पन्नताको रक्षकको रूपमा लिइआएको छ । लाखेका राम्रा–नराम्रा दुइटै गुणमा जनताले नराम्रो गुणलाई छोडी राम्रो पक्षलाई अनुशरण गर्ने र लाखेलाई देवताका रूपमा पूजा गर्ने र शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी लाखे हुने व्यक्तिको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको छ । किंवदन्तीअनुसार प्राचीन कालमा सहरवासीहरू हैजाजस्ता रोगहरूको प्रकोपले मर्न थालेकाले जेठापाकाले लाखे नाच नचाएर यस प्रकोपलाई अन्त गर्न तम्सिए र लाखेलाई आफ्नो शक्ति प्रयोग गरेर यो महामारीको अन्त्य गर्न उक्साइएको थियो । स्थानीयहरूको विश्वास छ कि यसबेला लाखेलाई छोड्यो भने ऊसँगको रोगव्याध हरण हुन्छ र दुष्ट आत्माहरू पनि भाग्दछ । गुँला लाखे नाचको प्रारम्भ ललितपुरको बुङमतिबाट भएको पाइन्छ ।

ललितपुरको लाखे
आगोसँग खेल्ने यो लाखेलाई ‘मिप्वाः लाखे’ भनिन्छ । नेपालभाषामा मिप्वाः भन्नाले छ्वालीको मुठो बाल्दा निस्कने आगोको ज्वाला बुझिन्छ । ललितपुरमा मिप्वा लाखेसँग पनि शिरदेखि पाउसम्म हरियो वस्त्र लगाएको दुई बालक अगाडि–पछाडि दौडिन्छ । उसको मुखौटा पनि हरियो हुन्छ, केश पनि हरियो नै हुन्छ । ऊ मिप्वाः लाखेलाई जिस्क्याउँदै हिँड्छ, छलछाम गरेर हायलकायल पार्छ । यसरी खेतीपातीमा सहयोग गर्ने लाखेसँग बालकहरू पनि नाच्ने गर्छन् । यी बालकहरूलाई खासगरी झ्यालिँचा भन्ने गरिन्छ । वास्तवमा बालकहरू झ्यालिँचा र ब्याँचा थिए । खासगरी झ्यालिँचा भनेको गाइने कीरा हो जसले धानखेतमा हुने अन्य कीरालाई खाएर धान खेतको उब्जाउ बढाउन मद्दत गर्छ । अर्को ब्याँचा भनेको भ्यागुता हो । जसले धानखेतको माटोलाई मलिलो बनाएर धान सप्रन मद्दत गर्छ । साथै, भ्यागुताले पनि कीरा फट्याङ्ग्रा खाएर बालीको रक्षा गर्छ । पहिले कीटनाशक औषधि नहुँदा धानबालीमा लाग्ने रोग र कीराको ओखती झ्यालिँचा नै थियो । लाखेले खेतमा धान रोपेपछि यी दुईलाई पनि साथसाथ ल्याएको हुँदा लाखे नाचमा झ्यालिँचा र ब्याँचाको पनि नाच हुने गर्छ । झ्यालिँचाहरूले लाखेलाई गिज्याउन र दगुराउने गरी थकाउने गर्छ । नाचका रूपमा यी दुई पात्रको उपस्थितिले रोचकता थप्ने गर्छ । यसरी खेतीपातीलाई फाइदाजनक भ्यागुतो र झ्यालिँचा लाखे नाचसँग जोडिनुले यो उत्सवको सिधा सम्बन्ध खेतीपातीसँग छ भन्ने बुझिन्छ । यस आधारमा पनि हामी लाखे भनेका उपत्यकाको खेतीपातीमा सघाउन बाहिरबाट ल्याइएका ज्यालादारी श्रमिक हुन् र लाखे नाच भनेको ती श्रमिकहरूको बिदाइमा आयोजना गरिएको उत्सव हो । (श्रेष्ठ, सुदीप, सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *