भर्खरै :

जिल्ला बचत तथा ऋण सहकारी सङ्घको २० औँ साधारणसभा

जिल्ला बचत तथा ऋण सहकारी सङ्घको २० औँ साधारणसभा

भक्तपुर, २२ असोज । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको २० औैँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भयो ।
उक्त सभामा सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले सहकारीको मूल्य मान्यता, नीति रविधिमा सञ्चालन गराउन र सदस्यको बचत फिर्ता गराउन विभागले काम गरिरहेको बताउनुभयो । सहकारीको ऐन नियमावलीको व्यवस्था कार्यान्वयनमा नआउँदा मात्र सहकारीमा समस्या आएको होइन, उहाँले बताउनुभयो ।
उहाँले सहकारी समुदायमुखी र सदस्य केन्द्रित व्यवसाय भएकोले सहकारी अरूले बनाउँछ भनेर आशामा नबसी सदस्य आफैले बनाउने हो, सोको उदाहरण भक्तपुर बचत सङ्घ हो भन्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विषयगत सङ्घहरूले ऐन नियमअनुसार सदस्य संस्थाको बचत स्वीकार्ने र सदस्य संस्थालाई ऋण लगानी गर्ने कार्य गर्दै आएको बताउँदै सहकारीको सुरक्षा कवच स्थिरीकरण कोषमा आबद्ध हुन आह्वान गर्नुभयो ।
राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य सुमन नेपालले केही सीमित व्यक्तिको कारण सहकारीमा समस्या आए पनि नेपालको सहकारी क्षेत्रमा सुशासन, नीति, विधि हरेक हिसाबले भक्तपुर जिल्ला बचत सङ्घ उत्कृष्ट सङ्घ रहेको बताउनुभयो ।
वाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका सञ्चालक कृष्णप्रसाद सुवेदीले नेपालको उत्कृष्ट भक्तपुर जिल्ला बचत सङ्घ रहेकोमा अझ उत्कृष्ट रहन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
सभाको सभापतित्व गर्दै सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा इमानदारीता र पारदर्शिता हुनुपर्ने जोड दिनुभयो । सङ्घले सहकारीका सिद्धान्त, ऐन नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेर सदस्यता प्रदान गरेमा सहकारी अभियान शुद्धीकरण हुने उहाँले बताउनुभयो ।
सङ्घका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिँदै सहकारी संस्थाको बचत दुरूपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदनउपर अभियान गम्भीर हुनुपर्ने बताउनुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सङ्घले प्रारम्भिक संस्थाहरूको वित्तीय विश्लेषण गरेर ऋण लगानीमा विविधीकरण गरी ऋण लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सङ्घका सचिव जगनाथ प्रजापतिले सङ्घको आ.व. २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पुँजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभयो ।
सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०८०/८१ को वित्तीय प्रगति प्रतिवेदन पेस गर्नुभयो । सभाबाट आ.व.२०८०।८१ मा ३ अर्ब ५१ करोड ४३ लाख ३ हजारको वासलात र ५ करोड ३७ लाख नाफासहितको लेखापरीक्षण प्रतिवेदन पारित गरियो ।
भेलाले आगामी आ.व.२०८१/८२ मा सङ्घको वासलात ३ अर्ब ८० करोड ७१ लाखको बजेट पारित गरेको छ । सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व.२०८०/८१ को लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., उपकार बचत तथा ऋण सहकारी संस्था लि. र सङ्गम बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा बङ्गलामुखी बचत तथा ऋण सहकारी संस्था लि., सञ्चित बचत तथा ऋण सहकारी संस्था लि., तौडोलछाप बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई संरक्षित पुँजी फिर्ता रकमसहित प्रशंसापत्र वितरण गरियो । सभामा सञ्चालक सङ्घका सञ्चालक काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *