भर्खरै :

सिद्धि गणेश साकोसको प्रथम त्रैमासिक प्रगति समीक्षा सम्पन्न

सिद्धि गणेश साकोसको प्रथम त्रैमासिक प्रगति समीक्षा सम्पन्न

भक्तपुर, २२ कार्तिक । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०८१/०८२ को प्रथम त्रैमासिक प्रगति समीक्षा बैठक संस्थाको समिति, उपसमिति र कर्मचारीहरूको सहभागितामा बिहीबार सम्पन्न भयो ।
बैठकमा संस्थाका अध्यक्ष एवं सभापति रूद्रनारायण लाखाले उचित आन्तरिक लेखा परीक्षण गर्नु एक सबल सहकारीको पहिचान भएको बताउँदै लक्ष्य र वर्तमान प्राप्तिबिचको अन्तर केलाएर लक्ष्य प्राप्तिको लागि रणनीति बनाउने उद्देश्यले समीक्षा बैठकको आयोजना गरिएको जानकारी दिनुभयो ।
बैठकमा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरूले संस्थामा ऋण लगानीभन्दा असुली बढिरहेको अवस्थामा उत्पादनमूलक क्षेत्रमा लगानी गरी न्यून आयस्रोत भएका सदस्यहरूको आर्थिक क्षमता विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
संस्थाका सचिव विष्णुप्रसाद दुमरूले संस्थाबाट आयोजना भएका विभिन्न कार्यक्रमहरू एवं अन्य सङ्घ संस्थाको आयोजनामा भएका कार्यक्रममा संस्थाको सहभागिता विवरण बैठकमा प्रस्तुत गर्दै सदस्य एवं संस्थाको हितका लागि गरिएका विभिन्न नीतिगत संशोधनसम्बन्धी जानकारी दिनुभयो ।
संस्थाले २०८१ असोज मसान्तसम्ममा १७,०२७ सदस्य, शेयर पुँजी २६ करोड ८९ लाख, निक्षेप तथा बचत २ अर्ब ५० करोड २० लाख, ऋण लगानी १ अर्ब ६६ करोड ४४ लाख, जगेडा कोष २५ करोड ३३ लाख तथा कुल सम्पत्ति ३ अर्ब १७ करोड ८० लाखको सङ्कलन गरेको आर्थिक प्रगति विवरण संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले प्रस्तुत गर्नुभयो ।
बैठकमा संस्थाका व्यवस्थापक शिला गोसाईले प्रविधिसम्बन्धी वित्तीय कारोबारमा ह्याकिङजस्ता समस्या उत्पन्न भएको बताउँदै सदस्यहरूलाई ती समस्याबारे निरन्तर प्रविधिका साथै कानुनी साक्षरता कार्यक्रमको आयोजना गरी सुसूचित गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *