भर्खरै :

सहकारी संस्था व्यवसाय गर्ने थलो नभई सेवामुखी हुनुपर्ने

सहकारी संस्था व्यवसाय गर्ने थलो नभई सेवामुखी हुनुपर्ने

भक्तपुर, २४ कार्तिक । भक्तपुर नगरपालिका वडा नं ७ जगातीस्थित सुकुन्दा बचत तथा ऋृण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा वाग्मती प्रदेशसभाका सभासद् सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि गोसाईले सहकारी संस्था व्यवसाय गर्ने थलो नभई सेवामुखी संस्था भएको बताउँदै सहकारी संस्थाहरू नीतिनियममा आधारित भई सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सहकारीमा संलग्न पदाधिकारीहरूले प्रत्यक्षरूपमा फाइदा लिन नहुने बताउँदै उहाँले सहकारीले लेखा प्रणाली, पत्रकारिता, सत्कार तालिम आदि सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले सहकारी संस्थाले सामाजिक उत्तरदायित्वको जिम्मेवारी लिँदै सहकारी संस्थाहरू एक आपसमा मिलेर आदर निकेतन सञ्चालन गर्न आग्रह गर्नुभयो ।
सर्वसाधारण जनताले सामुदायिक सहकारीमा बचत गर्नुपर्ने उल्लेख गर्दै उहाँले राजनीतिको नाउँमा अनैतिक कार्यहरू भइरहेकोले सचेत हुनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घका प्रतिनिधि काजीबहादुर पञ्चले सहकारीले संस्थाको गतिविधिमा विशेष जोड दिनुपर्ने बताउँदै कुनै पनि सहकारी नीति तथा ऐन नियममा बसेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको सहकारी ऐन संशोधन गर्नुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार नाति कवांले बाल बचतकर्तालाई दिइएको उपहार कार्यक्रमले बालबालिकाको अध्ययनमा टेवा पुग्ने बताउनुभयो ।
सल्लाहकार विश्वराम कवांले सदस्य तथा शेयरधनीहरू ब्याजको लोभमा फस्न नहुने र यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले सञ्चालक समितिमा बसेर इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सल्लाहकार आसकाजी त्वानाबासुले वर्तमान समयमा खेतीपातीमा युवा पुस्ताको आकर्षण कम भइरहेको दुखेसो पोख्दै तमसुक वा बैनापट्टाको कागज बनाउँदा सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्रीकृष्ण गोसाईले आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन, सचिव सूर्यराम त्वानाबासुले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामप्रसाद कोजुले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकार विष्णुभक्त मारिखु, समितिका सदस्य सविनभक्त कायस्थ, वाइजल्यान्ड सेकेन्डरी स्कूलका प्रिन्सिपल आशाकुमार चिकंबन्जार, सहकारी प्रतिनिधितर्फ सिद्धि गणेश साकोसका प्रतिनिधि विष्णुराम दुमरु र व्यवस्थापक सानुकाजी चिकंबन्जारले पनि बोल्नुभएको थियो । संस्थाका अध्यक्ष राजभाइ माकको सभापतित्वमा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा १६० जना बाल बचतकर्ताहरूलाई उपहार प्रदान गरिएको थियो । प्रसिद्ध कलाकार निशा देसार, भीमप्रसाद प्रजापति तथा वाइजल्यान्ड सेकेन्डरी स्कूलको तर्फबाट साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *