भर्खरै :

सहानुभूति खोज्दा सम्मान त गुमाइएन ?

सहानुभूति खोज्दा सम्मान त गुमाइएन ?

सहानुभूतिका साथ केही भौतिक सहयोग पाउन आफ्नो घरायसी समस्या नातेदार र साथीहरूबिच साझा गर्दै हिँड्ने कसै कसैको व्यक्तिगत आचरण हुने रहेछ । यस्तो आचरण सहानुभूति खोज्ने माध्यम बन्छ । सुरुमा व्यक्तिगत समस्या साझा गर्दा सहानुभूति र सहयोग प्राप्त हुन सक्छ । यद्यपि, यस्तो बानी सहानुभूति वा भौतिक समर्थन खोज्ने बारम्बार माध्यम बनाइँदा अरूमाथि अस्वस्थ निर्भरतालाई सङ्केत गर्छ । यसले नातेदार र साथीहरूबिचको सम्बन्धलाई बिगार्छ । नातेदार र साथीहरूले बोझ महसुस गरेपछि समयसँगै सहानुभूति अपमानमा परिवर्तन हुँदै जान्छ । सुरुमा सहजरूपमा लिए पनि पछि यस्तो बानीले दिक्क मान्न थाल्छ । आफन्तहरू उसमाथि हाँस्न थाल्छन् । यस्तो पटक पटक भयो भने आफन्तहरूले बोझ महसुस गर्न थाल्छन् । यसले असन्तुष्टि पनि निम्त्याउन सक्छ र अन्ततः तिनीहरूले सहानुभूतिको सट्टा व्यङ्ग्य र उपहास गर्छन् ।
यस्तो स्थिति देशहरूबिचमा पनि लागु हुन्छ । यो सन्दर्भलाई युक्रेन र पश्चिमा देश, विशेषगरी अमेरिकाबिचको सम्बन्धलाई लिन सकिन्छ । आफ्नै परिवारको सदस्यसरह मिलेर बसेको रुसविरुद्ध युक्रेनी राष्ट्रपति विभिन्न मुलुकमा गएर दुखेसो पोख्दै हिँडे । रुसविरोधी मुलुकहरूले सहानुभूति देखाएर थुप्रै घातक हतियाररूपी भौतिक सहयोग गरे । घर घर धाउँदै दुःखेसो पोख्दै हिँड्ने मान्छेजस्तै यसबाट अति उत्साहित हुँदै जेलेन्स्की ३६५ दिनमा २०० दिन त विदेशमा बिताउँदै सहयोग माग्दै रुसविरुद्ध युद्ध गर्दै गए । शतप्रतिशत विदेशी दानको भरमा जेलेन्स्कीले युद्ध लडिरहे । तर, समय बित्दै गएपछि दान दिनेहरू पनि दिक्क हुन थाले, झर्किन थाले । एक पटक युक्रेनी मन्त्रीले हतियारको माग गर्दा बेलायतका रक्षा मन्त्रीले हप्काउने पारामा भनेका थिए, “तिमीहरू ‘सपिङ लिस्ट’ लिएर आएजस्तै हतियारको सूची ल्याउने रहेछ ?”
वर्तमानमा निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी ¥यालीमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई सबैभन्दा राम्रो सेल्सम्यान भएको टिप्पणी गर्दै ६० अर्ब बिलियन डलर हरेक पटक अमेरिका भ्रमण गर्दा लिएर जान्छ भन्दै अपमान मिसिएको ठट्टा गरेका छन् । “म निर्वाचित राष्ट्रपतिको रूपमा ह्वाइट हाउसमा जानुअघि नै सहयोग रोक्छु” भन्दै ट्रम्पले युक्रेनलाई धम्की दिए । डोनाल्ड ट्रम्पको छोराले समेत सामाजिक सञ्जालमा खिल्ली उडाउँदै लेखेका थिए, “युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो भत्ता गुमाउनबाट केही हप्ता टाढा छ र युक्रेनको सैन्य सहायता बजेट समाप्त हुँदै छ ।” “जेलेन्स्की तिमी आफ्नो भत्ता गुमाउनबाट ३८ दिन टाढा छौ ।” भनेर सामाजिक सञ्जालमा अमेरिकीहरू पोष्ट गर्दै छन् । ३८ दिनको टिप्पणीले डिसेम्बर १७ लाई प्रत्येक राज्यका मतदाताहरूले चुनावको दिनमा गणना गरिएको नतिजाको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको लागि आफ्नो मतदान गर्न भेला हुने दिनको रूपमा लिइन्छ ।
जसरी बारम्बार मद्दतको लागि अनुरोध गर्ने व्यक्तिले सुरुमा सहानुभूति प्राप्त गर्छ तर पछि उपहासको सामना गर्नुपर्ने हुन्छ त्यसैगरी युक्रेनजस्ता बाह्य समर्थनमा निरन्तर भर परेका देशले कालान्तरमा आफ्नै सहयोगीबाट अपमानित हुनु परेको छ । युक्रेनको मामलामा संयुक्त राज्य अमेरिकाले साझा रणनीतिक चासो र मानवीय चासोका कारण युक्रेनलाई समर्थन गर्यो । प्रारम्भिक समर्थन बलियो थियो । यद्यपि, सहायता अनुरोधहरू बढ्दै जाँदा ट्रम्प र उनका सहयोगीहरूजस्ता केही अमेरिकी नेताहरूले अब युक्रेनलाई मगन्तेको रूपमा हेर्न थालेका छन् ।
युक्रेनी शरणार्थीहरूले विभिन्न देशहरूमा शरण खोज्दा सुरुमा सहानुभूतिका साथ सहयोग पाए । युरोपभरि, पोल्याण्ड र जर्मनीजस्ता देशहरूले सुरुमा बलियो सहायता प्रदान गरे । पोल्यान्डले लाखौँ शरणार्थीहरू लिएर आवास र सहायता कार्यक्रमहरू विस्तार गरे । त्यसरी नै जर्मनीले कामको अधिकार र स्कूली शिक्षामा पहुँच प्रदान गर्यो । तर, समय बित्दै गएपछि युक्रेनी शरणार्थीहरूले कठिनाइ वा पूर्वाग्रहको अनुभव गर्नुप¥यो । अहिले युरोपेली देशमा रहेका युक्रेनीहरूले स्थानीय जनताबाट अवहेलित महसुस गर्नुपरेको समाचार बारम्बार आइरहेको छ । धेरै युक्रेनीहरूले सीमित सहयोगको कारण आफ्नो भविष्यको बारेमा अनिश्चित महसुस गरेका छन् ।
सहानुभूतिको लागि गरिने कार्यले कालान्तरमा गएर आत्म–सम्मानमा ठेस पुग्छ भन्ने कथन युक्रेनी जनताबाट अहिले विश्वभरि भोग्नुपरेको अपमानबाट पुष्टि गर्छ । एकजना नेताले सहानुभूति पाउन गरेको अनेक नौटङ्कीबाजले सम्पूर्ण युक्रेनी जनताले अपमानको विष खाएर बाँचिरहनुपरेका छन् ।
विश्वसनीय सहयोगीहरूसँग अर्थपूर्ण सम्बन्धहरू निर्माण गर्नाले मात्र सद्भाव पाउँछ । चुनौतीलाई अवसरको रूपमा हेर्नले स्वाभिमानलाई बढावा दिन मद्दत गर्छ ।
युक्रेनले मात्र होइन हाम्रोजस्तो विकासोन्मुख मुलुकले विश्वव्यापी प्रतिष्ठालाई सुदृढ गर्नका लागि विदेशी सहयोगमा भर नपरी उद्योग, पूर्वाधार र आत्मनिर्भर स्रोतहरूमाथि गरिने लगानीलाई प्राथमिकता दिनुपर्छ । व्यापार सम्झौता वा सुरक्षा साझेदारीजस्ता पारस्परिक लाभमा आधारित रणनीतिक गठबन्धनले निर्भरतालाई सहयोगमा परिणत गर्न सक्छ । आर्थिक र प्राविधिक विकासले रोजगारी सृजना तथा नवप्रवर्तन, आत्मनिर्भरतामा वृद्धि हुन गई अन्ततः विदेशी निर्भरता घटाउँछ । सहायता स्रोतहरू विविधीकरणले विदेशी सम्बन्धलाई सन्तुलनमा राख्न मद्दत गर्दछ । कुनै एक दातामा अत्यधिक निर्भरताबाट उत्पन्न हुने जोखिमबारे सचेत हुनुपर्छ । यसले राष्ट्रलाई बाह्य सहयोगको निर्भरताबाट आत्मनिर्भरताको अवस्थामा लैजान मद्दत गर्छ । यसले सहयोगीहरूसँग सन्तुलित सम्बन्धलाई बढावा दिन्छ र राष्ट्रियता बलियो हुन्छ ।
आत्मनिर्भरतालाई बढावा दिँदै दीर्घकालीन गरिमा र स्थिरता कायम राख्न आवश्यक छ, चाहे त्यो व्यक्ति वा राष्ट्रहरूको लागि नै किन नहोस् । यो दृष्टिकोणले आत्मसम्मान र राष्ट्रिय गौरवलाई मात्र बढाउँदैन, विदेशीसँगको सम्बन्धलाई पनि बलियो बनाउँछ ।
सहानुभूति पाउन गर्ने अनेक नौटङ्कीले कुनै पनि व्यक्ति कालान्तरमा आफू र आफ्नो परिवारमात्र अपमानित हुन्छ तर देश चलाउने नेता यस्तै पत्रु व्यक्ति प¥यो भने नेता आफैमात्र होइन देश र सम्पूर्ण देशवासी विश्वमाझ अपमानित हुनुपर्ने हुन्छ । हाम्रै देशमा पनि सहयोगको नाममा केही एम्बुलेन्सदेखि महिलाको लागि लुगा सिलाउने मेसिन विदेशीसँग माग्ने नेताहरू छन् । यस्ता नेताबाट देश र जनताको भलो हुनु त कता हो कता संसारको कुनै पनि कुनामा जाँदा अपमानित मात्र हुनुपर्नेछ । विदेशीसँग सहयोग लिने सन्दर्भमा जनताले नेतालाई खबरदारी गरिरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *