भर्खरै :

मूल्याङ्कन सही हुनुपर्ने

देशको राजनीतिमा एउटा भ्रम रहेको छ । त्यो भ्रम हो, “शासक दल या ठुला दलका नेताहरूले गल्ती गरेपछि, भ्रष्टाचार गरेपछि त्यो दोष सबै दलका नेताहरूको काँधमा राख्ने । सबै दल उस्तै हो । सबै दलभित्र भ्रष्टाचारको जालो फैलिएको छ । कुनै पनि दल र दलका नेता तथा सांसदले देश र जनताको समस्याबारे आवाज उठाउँदैनन्” भन्ने भाष्य निर्माण गर्ने । देशमा भ्रष्टाचार, अनियमितता भए पनि देशविरोधी सन्धि–सम्झौता भए पनि स्वाधीन र सार्वभौम देशमाथि आक्रमण गरेर सहर बस्ती ध्वस्त पारे पनि कुनै दलले विरोध गर्दैनन् भनी फुक्ने लेखक, बुद्धिजीवी र राजनीतिक विश्लेषकहरू छन् । तिनीहरूले भनेझैँ संसद्मा जनताको समस्या कुनै पनि सांसदले नउठाएको हो ? के सबै दलभित्र भ्रष्टाचारीहरू पसेका हुन् ? के सबै दलका नेताहरू भ्रष्टाचारी हुन् ? देशको राजनीति नबुझ्ने वा राजनीतिक दलहरूको गतिविधि र उद्देश्य थाहा नहुने लेखक र राजनीतिक विश्लेषकहरू यसरी नै हचुवा तालले टिप्पणी गर्छन् । कुनै दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताले गल्ती गरेपछि सबैलाई दोष दिने, सबैलाई दोषी देख्ने प्रवृत्ति ठीक होइन; यो उनीहरूको दृष्टिदोष हो । जुन दल र दलका नेता, मन्त्री र सांसदहरूले गल्ती गरे तिनीहरू नै त्यसका दोषी हुन् । उनीहरूले गरेका नकामको दोष अरू दल र दलका नेताहरूलाई दिनु ठीक होइन ।
एमालेका नेता एवं कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी आरोपमा पक्राउ परे । रास्वपाका सभापति सहकारी ठगी पक्राउमा परे । गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहरिए र जेलमा पुगेका छन् । यस्तै घटनाको आधारमा सबै उस्तै हुन् भन्नु देशको राजनीति नबुझ्नु हो, राजनीतिक दलहरूको सिद्धान्त र विचार थाहा नहुनु हो । यो एक प्रकारको हचुवा टिप्पणी हो । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरूङ आफूलाई सा¥है इमानदार दावी गर्थे, एक पैसा कसैसँग कहीँ पनि कहिले नखाएको दाबी गर्थे । तर, आज उनै पात्रसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएको छ । बयानमा उपसभापति गुरूङले आफूले पत्नीसँगै सम्पत्ति पनि गुमाएको बताएका छन् । कार्तिक २९ गते प्रकाशित ‘नागरिक’ दैनिकमा लेखियो, ‘पत्नीसँगै इज्जत र सम्पत्ति गुम्यो ।’ सीआईबीले गुरुङसँग उनकी पूर्वपत्नी ज्योति गुरूङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋणबारे सोधपुछ गरेको कुरा समाचारमा उल्लेख छ । सोही पत्रिकामा लेखियो, ‘अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा ।’ अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले सर्लाहीको वागमती नगरपालिका प्रमुख भरतकुमार थापाविरूद्ध मुद्दा दायर गरेपछि उनले नक्कली ऋणदाता खडा गरेर आफूविरूद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गर्न लगाएको सो समाचारमा उल्लेख गरिएको छ ।
भुटानी शरणार्थीलाई अमेरिका पु¥याइदिने आश्वासन दिने मानव तस्कहरूको प्रसङ्ग सेलाउन नपाउँदै बहालवाला मन्त्री अधिकारी त्यस्तै काममा फस्नु त्यो दल र मन्त्रीकै बेइज्जत हुनु हो । त्यस्तै दल र मन्त्रीहरूका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा नेपालको राजनीतिबारे गलत सन्देश पुगिरहेको छ । कुनै पनि दलका नेता, मन्त्री र सांसदले त्यस्ता बदनामी अपराध गर्नु ठीक होइन, त्यही काम पटकपटक दोहोरिनु झनै गलत । सत्तासीन नेताहरूले आफ्नो मान मर्यादा भुले; पदको दुरूपयोग गरे; मन्त्री हुनु नै पैसा कमाउनु हो भनी सम्झे; मौकामा हीरा फोर्नुपर्छ भनी पैसामा आँखा गाडे । शासकहरू गिर्ने र फन्दामा फस्ने काम सामान्य भइसकेको छ । सरकार गिर्नु र नयाँ बन्नु पनि अब नेपालको लागि नौलो भएन । तर, यो जनताको चाहना होइन । त्यस्तो गलत काममा सबै दलका नेता कार्यकर्ताहरू फसिरहेका पनि छैनन्, सबैलाई एउटै नजरले हेर्नु सही होइन । गलत नीति र कार्यको विरोध गर्नैपर्छ । गलत कार्यलाई कसैले पनि प्रोत्साहन दिनु हुँदैन । गलत कार्यलाई छोपेर अर्को गलत कार्य गर्नु हुँदैन । तर, यहाँ अरूलाई फसाउने र आफूलाई जोगाउने प्रयास भइरहेको छ । यहाँ, आफू–आफू मिलेर आपराधिक क्रियाकलाप छोप्ने काम भइरहेको छ ।
कसैको दोष देखाउनुपर्छ; कमीकमजोरी औँल्याउनुपर्छ । कमीकमजोरी सच्याउन खबरदारी गर्नुपर्छ । आलोचना गरेर गल्ती हुँदैन । आलोचना सही हो भने गल्ती गर्नेले पनि सच्याउन पाइन्छ; सच्याउनु पर्छ । बुद्धिजीवी र राजनीतिक विश्लेषकहरूले गल्ती र सच्चाइ छुट्याउन नसक्दा शासकहरूले सिंहासनमा बसेर जुँगा मुसारिरहेका छन् । सच्चाइको मापदण्ड ठुलो र सानो दल होइन । सरकारमा बस्ने दलहरू ठीक र नबस्ने गलत भन्ने पनि होइन । अतः हरेकले सही मूल्याङ्कन गर्नुपर्छ; सही मूल्याङ्कन गरेमात्रै जनतामा राम्रो सन्देश जानेछ; जनता सुसूचित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *