भर्खरै :

बम्बैया फिल्महरूको टाटपल्टाइ

बम्बैया फिल्महरूको टाटपल्टाइ

बलिउडमा युद्धको विषयमा फिल्म बनाउने मोहको लामो इतिहास छ । तर, यी युद्धको चित्रण र त्यसमा पनि खासगरी पाकिस्तानसँग भएका लडाइँको चित्रण मनगढन्ते हुन्छन् । देशभक्तिको भावना जगाउन र बहादुरीको उदाहरण पस्किन बम्बैया फिल्महरूले इतिहासलाई तोडमोड गरी प्रस्तुत गर्छन् । राष्ट्रवाद र कट्टरपन्थी विचार पस्केर यी फिल्मले आम दर्शकलाई खुब लुट्छन् ।
यसै कोटीको एउटा बलिउड फिल्म थियो जेपी दत्ताको ‘बोर्डर’ (सन् १९९७) । यो चलचित्र सन् १९७१ को भारत–पाकिस्तान युद्धछेक भएको लोङ्गेवालाको लडाइँमा आधारित छ । त्यो लडाइँ डिसेम्बर ४ देखि ७ तारिखसम्म राजस्थानको थार मरुभूमिमा पर्ने लोङ्गेवालामा भएको थियो । त्यसमा भारतले गतिलो विजय हात पारेको थियो । तर, फिल्ममा धेरै गल्तीहरू छन् । उदाहरणको लागि, फिल्ममा सेकेन्ड लेफ्टिनेन्ट धर्मवीर सिंह भान र सुबेदार रतन सिंहलाई सहिद देखाइएको छ । तर, दुवैजना उक्त लडाइँपछि पनि धेरै वर्ष बाँचेका थिए । फिल्ममा मन छुने सङ्गीतबिच घाइतेहरूको सङ्ख्या बढाइचढाइ गरिएको छ । दर्शकलाई सयौँ सैनिक मारिएका थिए भनिएको छ । तर, यथार्थमा सो लडाइँमा केवल दुई भारतीय सैनिक मारिएका थिए । इतिहासको यो बङ्ग्याई फिल्मका निर्माता दत्ताको कारोबार बढाउन असाध्यै काम लाग्यो । तर, यसो गर्दा इतिहासमाथि कल्पना हावी भयो । ‘बोर्डर’ फिल्ममा गरिएको युद्धको चित्रणले गर्दा यसप्रकारका धेरै फिल्म निर्माणको ढोका खुल्यो । यी फिल्ममा सैन्य मुठभेडका जटिलता र वास्तविकतालाई छायाँमा पार्दै सैनिकहरूको बहादुरीमा जोड दिइयो । ‘बोर्डर’ मा पाकिस्तानी ट्यांकहरूको उत्पातलाई देखाइएको छ । वास्तवमा पशु–चौपायाको चरन क्षेत्र तोक्न लगाइएको तारबारलाई धरापको तार ठानेर पाकिस्तानी ट्यांकहरू पछि हटेका थिए । फिल्मको सेटिङमा एउटा पहाडी, चट्टानी इलाका देखाइएको छ । वास्तवमा त्यो लडाइँ मरुभूमिमा लडिएको थियो ।
वास्तविकता र कल्पनालाई एकै ठाउँमा फिट्ने यो चलन सन् १९९९ को कार्गिल युद्धपछि पनि चलिरह्यो । स्थिति कहाँसम्म पुग्यो भने फिल्म र यथार्थबिचको सीमारेखा ठम्याउनै नसकिने गरी धमिलो बन्यो र सैनिक फिल्महरू राष्ट्रवादी नारा घन्काउने र पाकिस्तानलाई गाली गर्ने मञ्च बने । सन् २००२ मा आएको फिल्म ‘माँ तुझे सलाम’ मा ‘दूध मागे खिर दिन्छौँ, कश्मिर मागे चिर्दिन्छौँ’ जस्ता डाइलग बोलियो । यो सम्वाद यस कोटीका बम्बैया फिल्ममा प्रचार गरिने आक्रामक, प्रतिशोधपूर्ण सोचको सानो उदाहरण मात्र हो ।
अन्धराष्ट्रवादको यो उछाल भारतीय जनता पार्टीको पहिलो सरकार गठन भएसँगै आयो । भाजपाले बलिउडको कारोबारी हावामा बिस्तारै आफ्नो विचारधारा घोल्दै गयो । यसैबिच संसारभरिका मिडियामा ‘आतङ्कवादविरोधी’ पश्चिमा युद्धले प्राथमिकता पाउन थाल्यो र यसैको बल पाएर बलिउडमा यसखाले फिल्म फस्टाए । २००१ सेप्टेम्बर ११ पछि भारतको राजनीतिक माहोलमा प्रधानमन्त्री नरेन्द्र मोदीको उदयले यो चलनमा झन् मलजल ग¥यो । ‘उरी : द सर्जिकल स्ट्राइक’, ‘राजी’ र ‘केसरी’ जस्ता हिन्दी फिल्मले पाकिस्तानलाई शाश्वत शत्रु र भारतीय सेनालाई हिन्दु राष्ट्रवादको ध्वजावाहकको रूपमा चित्रण गरेर भाजपाको विचारधारालाई स्थापित गर्न ठुलो भूमिका खेले । यीमध्ये धेरै फिल्ममा पाकिस्तान, इस्लाम धर्म र मुसलमानहरूलाई खतरा जस्तै देखाएर सत्तारुढ दल भाजपाको एजेन्डालाई अघि बढाइयो ।
यी बलिउड फिल्ममा सेनाको चित्रण खालि राजनीतिबाट प्रेरितमात्र हुन्न, यिनमा कलात्मक कमजोरी पनि मनग्य हुन्छ । अधिकांश युद्ध फिल्ममा यथार्थको अभाव पनि हुन्छ । ‘बोर्डर’ जस्ता फिल्ममा सैनिकहरूलाई अक्सर एक्लै युद्ध जित्ने अलौकिक योद्धाको रूपमा चित्रण गरिन्छ । यस्तो चित्रण साँचो होइन । वास्तविक सैन्य अभियानको सफलता समूहको सहकार्य, नापजाँच गरिएको योजना र पेशागत प्रतिभामा निर्भर हुन्छ । बहादुरी महत्वपूर्ण हो तर कुनै पनि सैनिक मिसनको समग्र रणनीति र कारबाहीको स्थान व्यक्ति विशेषको बहादुरीले लिन सक्दैन ।
सन् २००१ मा आएको अमेरिकी फिल्म सिरिज ‘ब्यान्ड अफ ब्रदर्स’ मा सैनिकहरूको दैनिक सङ्घर्षलाई देखाइएको छ । त्यस सिरिजमा व्यक्तिको पराक्रमभन्दा सामूहिक सहकार्यको महत्वमा जोड दिइएको छ । यसको उल्टो बम्बैया फिल्महरू एक्लो नायकमा केन्द्रित हुन्छन् । यी फिल्मले दर्शकको वाहवाही त पाउँछन् तरसैनिक जीवनका जटिलता देखाउन यी फिल्म विफल हुन्छन् । भारतीय सिनेमाका कारोबारी चुनौतीले फिल्म निर्माताहरूलाई युद्धको सुक्ष्म चित्रण गर्न दिन्न । यसबाहेक भारतको सैन्य इतिहासबारे बलिउडको दृष्टिकोण साँघुरो छ । भारतले पाकिस्तानसँग चार युद्ध लड्यो† सन् १९४८, १९६५, १९७१ र १९९९ गरेर । तर, फिल्मको पर्दामा सन् १९४८ र १९६५ का फुटेज उति देखिन्नन् जति सन् १९७१ र १९९९ का युद्धका देखिन्छन् । सन् १९६२ मा चीनसँग भएको युद्धलाई विषयवस्तु बनाई चेतन आनन्दले ‘हकिकत’ नामक फिल्म बनाएका थिए । त्यस्तै, सन् १९६७ मा भएको नाथुलाको लडाइँमा आधारित भएर जेपी दत्ताले ‘पल्टन’ फिल्म बनाएका थिए । यी दुवै फिल्म फ्लप भएका थिए । जबकि दुवै फिल्ममा युद्धको अलि सुक्ष्म र स्तरीय चित्रण गरिएको थियो ।
फिल्म उद्योग ती सङ्घर्षमा बढी आकर्षित हुन्छ जहाँ शत्रु एकदम स्पष्ट हुन्छ र परिणाम पनि जटिल हुन्न । यस्तो स्थितिमा बलिउड शैलीको बहादुरी पस्किन सजिलो हुन्छ ।
स्ट्रीमिङ प्लेटफर्म आएपछि भारतीय दर्शकहरूको आकाङ्क्षा केही हदसम्म बदलिएको छ । तर, यसले पनि बम्बैया फिल्महरूमा हुने सैनिक भिडन्तको चित्रण उति बदल्न सकेन । उदाहरणको लागि ‘शेरशाह’ जस्ता फिल्म र ‘द फरगटन आर्मी’ जस्ता स्ट्रीमिङ सिरिजले अझै पनि यथार्थभन्दा पर गएर व्यक्तिगत बहादुरीमा जोड दिएका छन् । दर्शकको भावनासँग खेल्न यी फिल्मले वास्तविकतालाई ओझेल पार्ने गर्छन् ।
यो प्रवृत्ति फेरिने कुनै सङ्केत देखिन्न किनभने बलिउडले राजनीतिक मुद्दा विशेषलाई अघि बढाउन छोडेको छैन ।
हिन्दी फिल्ममा सुक्ष्मता देखाउने क्षमतै नभएको भने होइन । सन् १९८२ मा आएको गोविन्द निहलानीको फिल्म ‘विजेता’ आफ्नो समत्न्दा अगाडिको थियो । सन् १९७१ को युद्धको पृष्ठभूमिमा बनेको यो फिल्ममा वायुसेनामा काम गर्ने सिख युवकलाई नायक बनाइएको छ । फिल्ममा यो अधिकारीलाई युद्ध र धर्मपार सम्बन्धका उल्झनसँग जुधिरहेको देखाइएको छ । बलिउडका अन्य फिल्मभन्दा फरक ‘विजेता’ ले धार्मिक र राष्ट्रवादी रुढीहरूको जटिलतालाई छुन्छ । फिल्मको एउटा दृश्यमा एउटा मुसलमान पाइलट उडिरहेको लडाकु विमानबाट एउटा गाउँमा ओर्लिन्छ र त्यहाँका रैथानेहरू उसलाई पाकिस्तानी ठान्छन् । गाउँका एक पाका व्यक्ति भने उसको पक्षमा उभिन्छन् । पाकिस्तानी नै भए पनि उसले केवल आफ्नो जिम्मेवारी पूरा गरिरहेको उनले तर्क राख्छन् । आजभोलि बलिउडका सैनिक फिल्ममा सहानुभूति र समझदारीको यस्तो उदाहरण भेटिन्न ।
सुक्ष्म चित्रणको यस्तो अभावको एउटा कारण प्रत्यक्ष अनुभवको कमी हो । युरोप र संरा अमेरिकाले दुई विश्वयुद्ध झेले र युद्धको विभीषिकाको प्रत्यक्ष अनुभव गरे । यसको दाँजोमा भारतको सैन्य अनुभव सीमित छ । भारतीय दर्शकहरूले युद्धका सङ्गीन वास्तविकताको सामना गर्नु परेन । त्यसैले बलिउडले युद्धलाई ‘शानदार’ र ‘पराक्रमपूर्ण’ कार्यको रूपमा प्रस्तुत गर्न पाएको हो । भारतीय फिल्ममा सैनिकहरूलाई असाधारण चुनौती झेल्दै युद्धमाथि नै प्रश्न उठाउने पात्रको रूपमा कहिल्यै चित्रण गरिन्न ।
संसारभरि बनाइने यसखाले फिल्महरूमा अक्सर युद्धको विकरालरूपमा देखाइन्छ । भारतका सर्वोपरी महाकाव्यमध्ये एक महाभारतलाई युद्धविरोधी आख्यानको रूपमा हेर्न सकिन्छ । तैपनि, लोक संस्कृतिमा महाभारतलाई प्रायः युद्धको महिमामण्डनको रूपमा प्रस्तुत गरिन्छ । यसमा भागवत गीताले हिंसा गर्नका लागि आध्यात्मिक जामा वा औचित्य प्रदान गर्छ । यसले भारतमा व्याप्त एउटा सांस्कृतिक दोष प्रतिविम्बित गर्छ । युद्धलाई त्रासदीको रूपमा नभई पराक्रम देखाउने र राष्ट्रिय गौरव आर्जन गर्ने अवसरको रूपमा स्वीकार गर्नु भारतको सांस्कृतिक दोष हो ।
बलिउडका युद्ध फिल्महरू सैनिक सङ्घर्षका जटिलता देखाउन असफल भएका छन् । यी फिल्म विशेष व्यावसायिक र राजनीतिक माहोलका उपज हुन् । यो माहोलले यथार्थवादलाई भन्दा वीरता, राष्ट्रवाद र इतिहासको अति सरल प्रस्तुतिलाई बढावा दिन्छ । ‘विजेता’ जस्ता फिल्मले आक्कलझुक्कल सफलता पाए पनि बलिउडका धेरैजसो फिल्म युद्धको इमानदार चित्रण गर्नुको साटो राजनीतिक भाष्य पस्किन निर्माण गरिन्छ । यस्तो गर्दा बम्बैया फिल्मले बक्स अफिसमा पैसा त बटुल्लान् तर प्रमाणिक र सार्थक कथा भन्ने लडाइँ हार्छन् ।

–‘द क्याराभान’ बाट
अनुवाद : चिन्मय

Leave a Reply

Your email address will not be published. Required fields are marked *