भर्खरै :

सपनाको पनि सपना

सपनाको पनि सपना

I

सत्यवान सधैँ १० बजे राति ओछ्यानमा पुग्छ र सुत्ने प्रयत्न गर्दागर्दै मोबाइलले ११ बजेको सङ्केत बजाउँछ । सत्यवानले धेरै कोसिस गरे पनि निद्रा आउँदैन । यसकारण, उसले सानैदेखिको कुरा सम्झन पुग्छ । ऊ १७–१८ वर्षको युवा हुन्छ, संयोगले विदेश गएर उपचारको अवसर पाउँछ । साथै सावित्रीसँग त्यही सिलसिलामा कलकत्ताको ‘विद्यार्थी स्वास्थ्य गृह’ मा भेट हुन्छ ।
तिनीहरूको दुई/चार दिन सँगैको कोठामा बस्ने बन्दोबस्त हुन्छ । सत्यवान कलकत्ताको वामपन्थी राजनीतिक गतिविधि बुझ्न एउटी बङ्गाली छात्रा इन्दिरासँग गल्ली, चोक र पार्कहरू चहार्छन् र साना–ठुला जनसभाहरू हेर्छन् । सावित्री पनि आफ्ना नाता पर्ने कलकत्तामा मेडिकल कलेजमा छात्र–छात्राहरूसँग घुमफिरमा लाग्छिन् । रङ्गुनमा जाने हवाईजहाजको दिन आउँछ, दुवैजना सत्यवान र सावित्री रङ्गुनको निम्ति उड्छन्, बिदा छ गर्नेमा ‘विद्यार्थी सङ्घ’ का इन्दिरा र सावित्री मेडिकलका छात्राहरू हुन्छन् ।
रङ्गुन हवाई अड्डामा काम गर्नेहरू नेपालीजस्तै लागेर खुसीले सत्यवान र सावित्रीले नेपालीमा कुरा गर्न खोज्दा हाँसेर उत्तर दिन्छन्, हामी नेपाली होइनौँ – बर्मेली हौँ । हाँसो हुन्छ र पासपोर्ट र भिसाको कामपछि कोठा बाहिर जाँदा नेपाली वाणिज्य दूतका जहान र एक कर्मचारीले भलाकुसारीपछि वाणिज्य दूतावासमा लान्छन् । वाणिज्य दूतावास चिटिक्क परेका काठका घरहरू भएको र एक सानो पोखरी अनि मनमोहक बगैँचा देखेर दुवै खुसी हुन्छन् र दोस्रो दिन रङ्गुन नगर, बन्दरगाह र विश्वविद्यालय घुमफिर गरी फर्कन्छन् । भोलि बिहान पाँचै बजे हवाई अड्डा पुग्नुपर्ने हुँदा दुवै सुत्छन् र कर्मचारीहरूले पाँच बज्नुभन्दा पहिले उठ्ने सङ्केत गरेर समयमा तयारी हुन मद्दत गर्छन् । वाणिज्य दूत र श्रीमतीसँग धन्यवाद दिँदै बिदा माग्छन् – कुङमिङको निम्ति । कुङमिङ जनवादी गणतन्त्र चीनको दक्षिण पश्चिमको एक सुन्दर सहर हो ।
रङ्गुनबाट समयमै कुङमिङको निम्ति हवाईजहाज उड्छ र साँझतिर कुङमिङ पुग्छ । सत्यवान र सावित्री थकाइले गलिसकेका हुन्छन् – हलुका खाना खाएर आ–आफ्नो आधुनिक होटलको कोठामा सुत्न जान्छन् – ‘शुभरात्री’ भन्दै ।

II

बिहान सबेरै हवाईजहाज कुङमिङबाट पेचिङको निम्ति उड्छ र बिचबिचमा एक दुई घण्टा सियान र अन्य ठाउँमा बिसाउँदै नयाँ–नयाँ यात्रुहरू लिँदै साँझ ६ बजे पेचिङ हवाई अड्डामा जहाज बिसाउँछ । यात्रुहरू सबै झर्छन् र आ–आफ्ना सामान लिन जान्छन् ।
अलमल परेका दुई नेपालीलाई स्वास्थ्य निवासका एकजना डाक्टर र एकजना नर्सले अङ्ग्रेजीमा नेपाली विद्यार्थीहरूलाई स्वागत भन्दै आफूसँग एउटा कोठामा आराम गर्न लान्छन् । खाली चिनियाँ चियाले स्वागत गर्दै यात्राको बारे सोधपुछ गर्छन् र ‘हामी ठीक छौँ भनी धन्यवाद जाहेर गर्छन्’ – सत्यवान र सावित्रीले ।
एकछिनपछि स्वास्थ्य निवासकै एउटा कारमा दुवैलाई स्वास्थ्य निवासबारे बताउँदै गर्दा वाहन अगाडि बढ्छ र एक घण्टाभित्र अन्तर्राष्ट्रिय युवा–विद्यार्थीहरूको स्वास्थ्य निवासको ढोकाबाट बाहनभित्र पस्छ । पुराना युवा विद्यार्थीहरूले स्वागत गरी दुवैलाई आ–आफ्ना कोठामा पु¥याउँछन् । केही दिन नेपाली भाषा बोल्न नपाएकोमा दुवैले धीतमरुञ्जेल कुरा गर्छन् । अनि डाक्टर र नर्सहरू आएर स्वास्थ्य निवासको हरेक दिनभरको कार्यक्रमबारे बताउँछन् र स्वास्थ्य निवासको लुगा लगाउन दिएपछि रगतको जाँचको निम्ति नमुना लिन्छ र भोलि बिहानै जाँचको निम्ति दिसापिसाब राख्ने स–साना सीसीहरू दिएर बिदा लिन्छन् । खानापछि दुवै नेपाली आ–आफ्ना कोठामा सुत्नको निम्ति पुग्छन् ।

III

सत्यवानलाई कहिले निन्द्रा लाग्यो पत्तै पाएन । नेपाल फर्केपछि उनले एक प्राथमिक विद्यालयमा काम गर्छन् । केही वर्षपछि पञ्चायती व्यवस्थाको कारणले एकपछि अर्को विद्यालयमा गएर काम गर्न ऊ बाध्य हुन्छ । उसको नाम प्रहरीको सूचीमा पुगिसकेको हुन्छ, ‘एक कम्युनिस्ट र एक अन्तर्राष्ट्रिय तत्व’ भनी ।
सत्यवान विद्यालयका छात्र–छात्रालाई पाठ्यक्रमअनुसार पाठ्यपुस्तक पढाउँछ, नबुझेका विषयमा छात्र–छात्रहरूलाई बाहिरी छापा र नक्सासमेत ल्याएर बिस्तारै बुझ्ने गरी पढाउँछ । सबै विद्यार्थी नयाँ–नयाँ विषयको जानकारी पाएकोमा खुसी हुन्छन् । पढाइ राम्रो हुँदा परीक्षाको नतिजा पनि राम्रो भएको अनुभव गर्छन् – अभिभावकहरू पनि ।
देशमा कहिले ‘सुस्ता नेपालको हो’ भन्नेबारे युवा–विद्यार्थीहरूको आन्दोलन हुन्छ र कहिले ‘नवदुर्गा सहकारी संस्थामा भ्रष्टाचार भयो’ भनी सहकारी संस्थाका सञ्चालकहरूलाई किसान जनताले उल्टो टोपी लगाउन दिई नगरमा घुमाउने गर्थे । प्रहरी एक टोली विद्यालयमा आई सत्यवानलाई विद्यार्थीलाई भड्कायो भन्ने शङ्कामा लैजान्छ र जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षाको नाममा जेल पठाउँछ ।
सत्यवानले कारागारमा पनि सबैसँग मिलीजुली भई काम गर्छ र सावाँ अक्षर नचिनेका बन्दीहरूलाई पनि स्लेटमा क का कि की… पढ्न र लेख्न मद्दत गर्छ । ती बन्दीहरूले दुई/चार महिनाभित्रै अखबार पढ्न र घरमा पत्रसम्म लेख्न जानेकोमा सबै खुसी भए ।
६ महिनापछि सत्यवान कारागारबाट छुटेर पछि फेरि पक्रिने सम्भावना देखेर उसले शिक्षक साथीहरूको सल्लाहमा अलि टाढाको गाउँमा गएर शिक्षक भई काम ग¥यो अर्कै नाउँमा ! यसरी उसले दुई/चार वर्षभित्र दुई/चार जिल्लामा शिक्षणको पेसा चालु राख्यो ।
जिल्लाको एक विद्यालयले सत्यवानलाई माथिल्लो शिक्षक तालिमको निम्ति काठमाडौँ पठायो । उसले तालिममा ध्यान दिएर पढ्ने, लेख्ने र सिक्ने गर्न थाल्यो । उसको मनमा सधैँ म एक शिक्षक हुँ; मैले विद्यार्थीहरूको जानकारीको निम्ति तिनीहरूको राम्रो व्यवहारको निम्ति र राम्रो ल्याकतको निम्ति जिम्मेवार हुँ भन्ने मनमा राख्थ्यो । आफ्ना हरेक विद्यार्थी राम्रो होऊन् र देश एवं जनताको हितको निम्ति काम गरून् भन्ने भावना राख्थ्यो । नयाँ–नयाँ सीप सिकेर छात्र–छात्राहरूलाई थप जानकारी दिन चाहन्थ्यो ।
एकदिन कक्षा पछि फर्कँदा रत्नपार्क पुग्दा नपुग्दै अचानक उनको आँखा एक पातली केटीसँग आँखा जुध्यो, उसको मुखबाट निस्किहाल्यो, “सावित्री हो ?”
‘हो, म सावित्री हुँ, सत्यवान धेरै दिनपछि हाम्रो भेट भयो । तिमी जेल परेको मैले अखबारमा पढेकी थिएँ ।’
बिचैमा सत्यवानले उनलाई ‘जाऔँ त्यो बेन्चमा बसेर कुरा गरौँ’ भन्दै पार्कको बिचमा लग्यो । कुराकानीको सिलसिलामा सावित्रीले भनिन्, “म अहिले केही वर्षदेखि एक सरकारी कार्यालयमा कार्यरत छु, केही हजार रूपैयाँ तलब छ, आमाबाबुलाई हेरचाह गर्न ठिक्कको छ । भाइ–बहिनीहरू पनि छन् ।” कुरा गर्दा गर्दै झमक्क साँझ प¥यो । पछि भेट्ने बाचा गर्दै दुवै छुटे ।

IV

सत्यवान आफ्ना साथीहरूसँग एउटा कार्यक्रममा एक मुख्य वक्ताको रूपमा बोल्न निम्तोमा एउटा सभाभवनमा पुग्यो । अचानक उसको आँखा नजिकको बेन्चमा बस्दै गरेका महिलाहरूको पङ्क्तिमा बसेकी सावित्रीमा प¥यो र नजिक गएर ‘नमस्ते’ गर्यो । सावित्रीले आफ्नो स्थानबाट उठिन् र भनिन्, “हामी पनि यही कार्यक्रममा आएका हौँ, बुबाआमा पनि आउनुभएको छ ।” माइकमा बोलाएको आवाज आएपछि सावित्रीलाई फेरि भेट्ने वाचा गर्दै सत्यवान मञ्चमा चढेर एक तोकिएको स्थानमा बस्यो । कार्यक्रम टुङ्गेपछि सबै चिया, बिस्कुट खाने लाममा उभिए । सत्यवानले बरोबर सावित्रीलाई याद गर्दै थियो र पछि ऊ सावित्रीकहाँ पुग्दा ‘बुबाआमा छिमेकीहरूसँग जानुभयो’ भनी सावित्री आफ्नो लामबाट बाहिर आइन् ।
“त्यसोभए अर्को एक कार्यक्रममा जाऊँ फुर्सद छ ?,” सत्यवानले प्रस्ताव राख्छ ।
“छ आज शनिबार हो म फुर्सदमै छु,” सावित्रीले सहमति जनाउँछे ।
साथीहरूसँग सावित्रीको परिचय गराएपछि सबै अर्को कार्यक्रमको निम्ति वाहनमा बसे, कार्यक्रम भवनमा पुग्नासाथै आयोजक साथीहरूसँग केही कुराकानी गरी माइकमा नाउँ आउने बित्तिकै सत्यवान मञ्चमा चढेर साथीहरूसँग सावित्री बसेको हेर्दा सन्तोषको सास फे¥यो ।
सभा सुरु भएपछि सत्यवानले माइकमा गएर बोल्यो, “साथीहरू आज मेरो साह्रै खुसीको दिन हो । धेरै वर्षदेखि छुटेका मेरा एकजना साथीलाई तपाईँसँग परिचय गराउँदै छु ।” उहाँको नाम हो, “सावित्री श्रेष्ठ, म उहाँलाई डबलीमा आमन्त्रण गर्छु ।” सावित्री डबुलीमा चढिन् र सहभागीहरूतिर नमस्कार गर्दै भनिन्, “हामीसँगै काम गथ्याँै पछि छुट्यौँ । उहाँ जेल पर्नुभएको सम्म थाहा पाएँ तर पछि उहाँको अत्तोपत्तो भएन । केही दिनअगाडि अचानक भेट भयो अरु विषयपछि कुरा गर्दै गरौँला । धन्यवाद !”
कार्यक्रम सकिएपछि सत्यवानले सावित्रीलाई घरमा लिएर गयो । कुराकानीमा सावित्रीले सोधिन्, “विवाह गर्नुभयो ?” “अहँ, न बिहा गर्ने फुर्सद पाएँ न सावित्रीलाई खोज्ने चाँजो मिल्यो । त्यसबेला हामीसँग मोबाइल पनि त थिएन ।”
“सत्यवान, म बुबाको पेन्सनको केही रकम र बुबा–आमाको सेवा गर्दै छु, भाइ–बहिनीहरू विदेश गए ।” “अहो, सावित्री ! मेरो पनि यही हाल हो । एकजना भाइ ‘अस्ट्रेलिया’ अर्को भाइ ‘अमेरिका’, माथि बुबाआमा हुनुहुन्छ । देशमा आदर निकेतनको बन्दोबस्त भइसकेको छैन । जाउँ माथि बुबाआमासँग परिचय गराँै ।” सत्यवान झल्यास्स बिउँझ्यो, अहो बिहानको ९ बजिसकेछ, “कस्तो सपना !” उसले जिउभरि पसिना भएको अनुभव गर्यो र अल्छि मान्दै सत्यवान उठ्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *