भर्खरै :

मतदाताले सही दल छान्ने हो

सिद्धान्त र विचारको आधारमा राजनीतिक दल गठन हुने हुँदा हरेक मतदाताले दलको सिद्धान्त बुझी मतदान गर्नुपर्छ । कुन दलले कुन वर्गका जनताको प्रतिनिधित्व गरिरहेको छ, त्यो बुझेर मतदान गर्ने हो । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दललाई श्रमजीवी जनताले मतदान गर्नु उचित होइन । जुन वर्गले श्रमजीवी जनतामाथि शोषण गरिरहेको छ, त्यस दललाई नै मतदान गर्नु आफ्नो खुट्टामा आफैले बन्चरो हान्नुसरह हुन्छ । कति राजनीतिक दल सङ्कीर्ण सोचका छन् भने कति दल राजतन्त्रवादीका छन् । नेपाली जनताले निरङ्कुश राजतन्त्रको ३० वर्षको शासन हेरिसकेका छन् । सङ्घीयताको कुरा उठाउने मधेसवादी दलहरू सिङ्गो देश बनाउने र देशका सम्पूर्ण जनताको समस्या समाधान गर्नेतर्फ लागेका छैनन् । अरू ठुला भनिने दलहरू आफूलाई कम्युनिस्ट ठान्छन् । तर, ती दलका नेताहरू कम्युनिस्टको सिद्धान्त र विचारअनुसार लागेका छैनन् । के मतदाताले ठुला दल हेरेर मतदान गर्ने हो ? दलको सिद्धान्त र विचार सही या गलत नसोची हचुवाको भरमा मतदान गर्नु ठीक होइन ।
निर्वाचनमा हारजित स्वाभाविक छ । हारे पनि जिते पनि दलले सिद्धान्त र विचारको आधारमा मत माग्ने हो, मत माग्नुपर्छ । तर, यहाँ सिद्धान्त र विचारको ख्याल नै गरिँदैन । ठुला दलका नेता कार्यकर्ताले पैसा बाँडेर मत लिने गरेको कारण जनताको मनस्थिति बिग्रिएको छ । पैसा या केही सामान पाएपछि मात्रै मत हाल्ने मनस्थितिमा पुगेका मतदाताहरू पनि देखिए । कुनै पनि दलले पैसा या सामान नबाँडेका भए, भोज नखुवाएका भए, लोभलालच नदेखाएका भए जनताको मनस्थिति बिग्रिने थिएन । आफ्नो अमूल्य मत ठीक ठाउँमा परोस् भनेर दलको सिद्धान्त र विचार बुझ्थे† सिद्धान्त र विचारअनुसार काम गरिरहेको छ कि छैन भनी मूल्याङ्कन गर्थे र त्यही मूल्याङ्कनको आधारमा जनताले इच्छाएको या चित्तबुझेको दलका उम्मेदवारलाई मतदान गर्थे ।
आफ्नो अमूल्य मत जित्ने दललाई होइन सही दललाई दिने हो । मतदाताले सही दल छान्ने हो । सही दलका उम्मेदवारलाई निर्वाचित नगरेकै कारण देशले बेथिति र दुर्दशा भोगिरहेको हो । उपत्यकाका बाहिरी जिल्लामा त कति मतदाताले उम्मेदवारको अपिल बाँड्दा अपिलले खान पाउने होइन, केको मतदान भनी जवाफ फर्काउँथे । यसले थाहा हुन्छ – पहिलो, ठुला दलका नेता–कार्यकर्ताले पैसा बाँडेर मत बटुलेका थिए । दोस्रो, धेरै पटक चुनाव भए पनि जनताको अझै राजनीतिक र सांस्कृतिक स्तर छैन । तेस्रो, कति मतदाता आर्थिक प्रलोभन या कसैको भुल भुलैयामा फसे । जसरी भारतीय शासकहरूले नेपालका सत्तासीन नेताहरूको कमजोरी थाहा पाएर अनेक असमान सन्धि सम्झौता गरेर कहिले नेपालका प्राकृतिक स्रोत र साधन कब्जा गर्ने त कहिले सीमा अतिक्रमण गर्ने काम गर्न भ्याए त्यसरी नै नेपालका सत्तासीन दलका नेता र कार्यकर्ताले पनि मतदाताको कमजोरीमाथि फाइदा उठाउने काम गरे ।
आफ्नो अमूल्य मत किनबेचमा बिक्नु हुँदैन । हारे पनि या जिते पनि, मत धेरै होस् या थोरै सिद्धान्त र विचारले भिजेको मत कसैको लोभलालचमा बिक्नु हुँदैन; सिद्धान्त र विचारको आधारमा नै मतदान गर्नुपर्छ । सिद्धान्तले भिजेको मत थोरै भए पनि त्यो सङ्गठित मत हो† त्यो सङ्गठन गर्ने बीउ हो । यसकारण, आफ्नो अमूल्य मत देश र जनताको निम्ति निःस्वार्थपूर्वक जनताको सेवा गरिरहेको दलका उम्मेदवारलाई दिनुपर्छ । यो प्रत्येक मतदाताको जिम्मेवारी हो । त्यो जिम्मेवारी हामीले पूरा गर्नुपर्छ । पहिले लोभलालचमा फसेर मत दिने अनि पछि त्यो पार्टीले देशघाती र जनविरोधी नीति नियम बनायो, देशलाई दूरगामी असर पर्ने सन्धि सम्झौता गरेर धोका दियो भनी पछुताएर के गर्ने ? हन्डर खानुभन्दा पहिले ने बुद्धि पु¥याउनु जाती हुन्छ । के मतदाताले जहिल्यै धोका खाएर बस्ने ? के मतदाताले बेलैमा बुद्धि पु¥याउनु पर्दैन ?
नेमकिपाले जनविरोधी पुँजीवादी सरकारहरूको हरेक नीति, निर्णय, विधेयक र अध्यादेशको विरोध गर्दै आएको सत्य हो । निःशुल्क शिक्षा र स्वास्थ्य सेवा, क्रान्तिकारी भूमिसुधारको माग, शोषण, भ्रष्टाचार, साम्राज्यवादी आक्रमण र हस्तक्षेपको विरोध पनि नेमकिपाले बारम्बार गर्दै आएको हो । सिद्धान्त र विचारको आधारमा मतदान गर्न नेमकिपाले मतदातासमक्ष आग्रह गर्दै आएको हो । नेपाली जनता, मतदाता, राजनीतिक नेता र कार्यकर्ताहरू इमानदार भएमा विदेशी हस्तक्षेपका अगाडि झुक्ने छैनन्; उनीहरू सिद्धान्तप्रति निष्ठावान हुनेछन्; पद र पैसाको निम्ति राजनीति गर्ने छैनन् । सबै दलका नेता र कार्यकर्ताहरू देश र जनताको सेवामा प्रतिबद्ध भएमा नेपालमा कुनै पनि बेला हुने निर्वाचन या उपनिर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र निष्पक्ष हुनेछ । पुँजीवादी व्यवस्था आफै शुभलाभ, भ्रष्टाचार, छलछाम र शोषणमा फस्टाउने हुँदा त्यसले गर्ने निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण भइरहेको देखिँदैन । पैसा, लोभलालच, साम्प्रदायिक भावना, झूटा आश्वासन, राज्यशक्तिको दुरूपयोग, हिंसात्मक गतिविधि र प्रशासनिक संयन्त्रको आडमा कामदारवर्गको राज्यसत्ता हातमा आउँदैन । यो कुरा देशका सबै राजनीतिक दलले मात्र होइन जनताले पनि बुझ्नु जरूरी छ । सिद्धान्त कार्यक्षेत्रको निम्ति गन्तव्य हो, ऊर्जा हो; उद्देश्य हो । अतः निःस्वार्थरूपले देश र जनताको हितमा समर्पित गराउन जनतालाई सचेत र सङ्गठित गर्नु आवश्यक छ । सचेत र सङ्गठित मत सधैँ स्थिर रहनेछ या अरू दलले बिगार्न सक्दैन । उनीहरू लोभमा भुल्ने छैनन् । पार्टीले त्यस्तै दृढ अडान भएका निर्भिक, जागरूक, देशभक्त, निडर, इमानदार, निःस्वार्थी सिद्धान्तनिष्ठ कार्यकर्ता तयार गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *