भर्खरै :

देशलाई आफ्नो खुट्टामा उभ्याउनु आवश्यक

देशलाई आफ्नो खुट्टामा उभ्याउनु आवश्यक

मानिस चेतनशील र विवेकशील प्राणी हो । त्यसैले उसले बुद्धि विवेकको प्रयोग गरेर काम गर्छ । मानिस आफ्नो समाज र देशको हितको लागि के, कुन, काम कसरी गर्नु ठीक हुन्छ र के, कुन, कसरी गर्नु ठीक हुँदैन, विचार गरेर अगाडि बढ्ने गरिन्छ । आफ्नो सम्पत्ति कसैको उक्साइमा वा आपैmले बेचेर मोजमस्तीमा स्वाहा पार्ने अनि एउटा खुट्टा खोच्याएर लालाबालाको नाममा बैसाकी टेकी माग्दै हिँड्ने मानिसलाई समाजले के भन्छ होला ? शासक दलका नेताहरूले देशको जल, जमिन, जङ्गल मात्र होइन युवाहरू विदेश पठाइरहेका छन् । मित्र राष्ट्रहरूले तिमी गरेर खाऊ, आफ्नै खुट्टामा उभ, विकास गर, आत्मनिर्भर बन भनेर सदासयताले बनाइदिएका उद्योगहरू बेचेर, बचेको उदयपुर, हेटौँडा सिमेन्ट उद्योगलगायतका अरु ९ वटा उद्योग, कारखाना बेच्ने कसरत गर्दै छन् । जनताको गरिबी र अशिक्षालाई देखाएर सहयोगको लागि सरकार हात फैलाउँदै छ । आफ्नो पुर्खाको गौरवमा उनीहरूले विश्वासै गरेनन् । उनीहरू देशलाई अगाडि लान नै चाहेनन् । उनीहरूले देशको सार्वभौमिकता र स्वाधीनतामा आँच आउने खालको देशघाती सर्तमा सहयोग लिँदै गए । त्यसले देशमा विदेशी हस्तक्षेप वा दबाब बढ्दै गयो । यसले देशलाई विदेशीको उपनिवेशतिर धकेल्दै लानेछ । अमेरिकाले यहाँका शासक नेताहरूलाई धम्काएर लादेको एमसीसी सझौता हाम्रो अगाडि छ ।
सरकारहरूले देशलाई आत्मनिर्भरतातिर लान आफ्नै खुट्टामा उभेर आफ्नो देशको प्राकृतिक स्रोत र साधनको उपयोग गरेर उद्योग, खेतीपाती, कलकारखानाहरू खोल्नुपर्छ, बढीभन्दा बढी युवाहरूलाई रोजगारी दिई उत्पादन बढाउनुपर्छ, आफ्ना देशका सबै जनताले उपभोग गरेर बढी भएको मात्र विदेशमा निर्यात गर्नुपर्छ । काम गरेर कहिले अगाडि बढ्ने ? राजधानी काठमाडौँमा जसरी पनि दुई चार ठाउँमा बङ्गाला बनाउने नेताहरूको जमात देखिन्छ । देशको अवस्था बेहाल छ । यदि सरकार या नेताहरूमा देशभक्ति सोच, त्याग, आँट, साहस, लगनशील भए असम्भव भन्ने कुरा छैन ।
देशमा कृषि अर्थतन्त्र विकासको लागि वातावरण छ । यदि सत्तासीन दल, इमानदार, निःस्वार्थी भए, पदको भागबन्डा र सत्ताको लागि कुकुरझगडा नगर्ने हो भने दीर्घकालीन सोचअनुसार निःस्वार्थपूर्वक लागेमा देश बन्छ । त्यो दिन टाढा छैन । देश आफ्नो खुट्टामा उभिन सक्षम हुनेछ । जनताले पनि त्यस्तै साथ र सहयोग दिनु आवश्यक छ । हामीसँग मित्रराष्ट्र चीनको सहयोगमा हेटाँैडा कपडा कारखाना छ । बुटवल धागो कारखाना छ । त्यसलाई बनाउन सकिन्छ । त्यसको लागि लुम्बिनी प्रदेशमा कपास खेती गर्न सकिन्छ । यसबाट त्यहाँको लाखौँ युवा, किसान, मजदुरहरूलाई रोजगारी पाउने छन् । नेपाल सरकारले कर्मचारी, विद्यालय कलेजमा मात्र युनिफर्मको रूपमा प्रयोग गराउन सकेको खण्डमा धागो र कपडामा विदेश जाने हाम्रो अबौँ रूपैयाँ जोगिनेछ । त्यो पैसा अन्य विकास निर्माण या योजनामा लगाउन सकिन्छ । विगतमा पद्म कन्या कलेज, विद्यालयहरूले सुर्ती कपडाको विद्यालय पोसाक लगाएका थिए । यसलाई समयअनुसारको आकार प्रकार परिवर्तन या डिजाइन गर्न सकिन्छ । हामीमा देश बनाउने देशभक्ति र देशप्रेमको भावना चाहिन्छ । अमेरिकामा बसेर, अमेरिकीहरूको सेवा गरेर नेपाल प्यारो छ, सुन्दर छ भनी बखान गरेर देश सुध्रिँदैन ।
तर, दुःखको कुरा जमिन बाँझो छ । ८० लाख युवा विद्यार्थीहरू घर, खेत बेचेर विदेशीको सेवा गर्न गएका छन् । उनीहरूको रगत पसिनासँग साटेको डलरमा उनीहरू गौरव गर्दै छन् । विद्युत् उत्पादन गर्ने नाममा देशका नदी, नाला भारतले कब्जा गरिसक्यो । यहाँका शासक दलहरूले भारतलाई विद्युत् होइन उसको साढे एक अर्ब जनतालाई नेपालको हिमालबाट बगेको सङलो पानी खुवाउन चाहे । देश विदेशको भरमा छ । भोलि कोभिडजस्तो महामारी, रुस–युक्रेन, इजरायल–प्यालेस्टिनमा जस्तो आफ्नो हतियार बेच्ने अमेरिकाले एसियामा युद्ध भड्कायो भने या भोलि भारतले मेरो जनतालाई खान पुग्दैन भनेर खाद्यान्न पठाउन बन्द गर्यो भने, तेल रोकिदियो भने नेपाल र नेपाली जनताको हालत के होला ? यहाँका शासकहरूले यतातिर सोचेर अगाडि बढेको पाइँदैन ।
देशभक्त जनताले प्रश्न सोधिरहेका छन्, के भारतले नेपाललाई स्वतन्त्र भएर अगाडि बढ्न दिएको छ त ? यहाँका शासक दलहरूले देशलाई स्वतन्त्र र स्वाधीन भएर अगाडि बढ्न दिएको देखिँदैन । हालै बङ्गलादेशलाई ४० मेगावात विद्युत् बिक्री सम्झौता हाम्रो अगाडि छ । त्यसको साँचो पनि भारतको हातमा गएको देखिन्छ । आफ्नो स्वार्थमा अलिकति तल माथि पर्नासाथ उनीहरूलाई कहिले एकआपसमा भिडाउने र कहिले एक आपसमा जुताउने काम गरिरहेको नेपाली जनताले देखिरहेकै हुन् । मित्र राष्ट्र चीनले बनाइदिएको उद्योग, कारखानाहरू पनि दलालहरूले राम्रोसँग चलाउन दिएका छैनन् ।
मित्र राष्ट्र चीन सरकारले वि.सं. २०३२ सालमा बनाइदिएको हेटौँडा कपडा कारखाना छ । यसको साँचो पनि नेपालका विदेशी दलालहरूले भारतलाई सुम्पे । चीन सरकारले विभिन्न रङ र डिजाइनको कपडा उत्पादन गर्नसक्ने गरी हेटाँैडा कपडा कारखाना बनाइदिने प्रस्ताव राखेको थियो । तर, नेपाल सरकारले नेपाली जनतालाई विभिन्न रङ र डिजाइनको कपडाभन्दा सामान्य भए पुग्छ भनेर सम्झौता गरेको थियो । त्यसले गर्दा एउटै कलर सेतो कपडा मात्र उत्पादन भएको थियो । त्यसमा कलर र बुट्टा भर्ने काम भारतको सहयोगमा गर्नुपर्ने भयो । यसरी हेटाँैडा कपडा उद्योगको साँचो घुमाइफिराइ भारतको हातमा पारेको थियो भन्ने सुन्नमा आएको छ ।
आफ्नो देशलाई स्वतन्त्र र आत्मनिर्भर बनाउन सङ्घर्षको विकल्प छैन । फिडेल क्यास्त्रोले भन्नुभएको थियो, ‘समाजवाद या मृत्यु’ । स्वतन्त्रता र आत्मनिर्भर त्यसै आउँदैन । अमेरिकी साम्राज्यवादले क्युवालगायतका विश्वका अन्य देशलाई थिचोमिचो, हस्तक्षेप र आक्रमण गरेर उपनिवेश बनाएको थियो । विश्वका मुलुकले क्युवामाथि लगाएको अमानवीय नाकाबन्दीको विरोध गरे पनि अमेरिकाले मुक्त गरेको छैन । क्युवा विश्वका जनताको साथ र सहयोगमा स्वतन्त्रताको पक्षमा सङ्घर्ष गर्दै छ । चीन, उत्तर कोरिया, भियतनामले बलिदानीपूर्ण सङ्घर्ष गरेर स्वतन्त्रता प्राप्त गरे । त्यसैले उनीहरू आज स्वतन्त्र र आत्मनिर्भर छन् । उनीहरू शत्रुको अगाडि झुक्दैनन् । यसबाट सरकारले पाठ सिक्नु जरुरी छ । हिजो बेलायती साम्राज्यवादसँग अलिकति पनि नझुकिकन नेपाली जनताले लडेका थिए । तर, आज वर्तमान शासक दलका नेताहरू अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादका नोकरजस्तै भएका छन् । उनीहरू ३०–३५ वर्षसम्म पालैपालो सत्तामा बसे । उनीहरूले ती साम्राज्यवादी र विस्तारवादीहरूसँग शिर ठाडो पारेर कुरा राख्न आँट गर्न सकेका छैनन् । देशलाई आत्मनिर्भर र स्वतन्त्र बनाउने हो भने, विकास गर्ने हो भने चीन, क्युवा, उत्तर कोरिया, भियतनामलगायतको सङ्घर्षबाट पाठ सिकेर अगाडि बढ्नुको विकल्प छैन । नेपाली जनता यसबाट सचेत हुनु आवश्यक छ । नेपाल सरकार पनि नेपाली जनताको साथ लिएर नेपालको हितमा आफ्नै खुट्टामा उभेर अगाडि बढ्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *