भर्खरै :

समानताका निम्ति लड्ने अलेक्जान्ड्रा कोलोन्ताइ

समानताका निम्ति लड्ने अलेक्जान्ड्रा कोलोन्ताइ

अलेक्जान्ड्रा कोलोन्ताइ संसारका कामदारवर्गका महिलाका निम्ति निकै सम्मानित नाम हो । सन् १९१७ को रुसी अक्टोबर समाजवादी क्रान्तिमा महिलाहरूका तर्फबाट लैङ्गिक समानताका क्षेत्रमा ख्याति कमाएकी अलेक्जान्ड्रा कोलोन्ताइको जन्म सन् १८७२ मार्च १९ मा भएको थियो । सानैदेखि आफ्ना वरिपरि देखिएका दुःखी मानिसहरूप्रति सहानुभूति राख्ने कोलोन्ताइ रसियामा बढ्दै गएको क्रान्तिकारी आन्दोलनमा लाग्न थालिन् ।
यसै क्रममा सन् १८९३ मा उनको विवाह भयो । कम्युनिस्टविरोधी उनका श्रीमान्ले उनलाई आन्दोलनमा नजान धम्की दिए । जीवनको उद्देश्यमै अवरोध बनेपछि उनले श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् । त्यसपछि उनी पुँजीवादी प्रजातान्त्रिक क्रान्तिमा सक्रिय भएर लागिन् । सन् १९०६ मा उनी रुसी सामाजिक जनवादी पार्टीका बोल्शेभिक समूहमा प्रवेश गरिन् । आन्दोलनको यस चरणमा उनले निर्वासनको जीवन पनि गुजारेकी थिइन् । उनले पहिलो विश्वयुद्धताकाको समय रसियाबाहिरै बिताउनुप¥यो । बोल्शेभिकहरूले सन् १९१४ को युद्धलाई साम्राज्यवादी युद्धको घोषणा गरी आफ्नो देशबाट साम्राज्यवादलाई परास्त गर्ने निर्णय गरेपछि उनी त्यही पार्टीमा सक्रिय भइन् । त्यो पार्टीमा रहेर लेनिनलाई सघाएको आरोपमा उनी पार्टीमा रहन चाहँदाचाहँदै स्विडेनमा निर्वासित जीवन बिताउन बाध्य भइन् । त्यहाँ रहँदा पनि जनताका पक्षमा हुने विशाल आमसभामा भाषण गर्ने, लेनिनको युद्धसिद्धान्तका बारेमा लेखिएका पुस्तकहरू अनुवाद गर्ने, वामपन्थी पत्रिकाहरूमा वैचारिक लेखहरू लेख्ने गर्न थालिन् । यिनै क्रियाकलापमा सामेल भएको आरोपमा उनी गिरफ्तारमा परिन् । त्यसको लामो समयपछि उनलाई स्विडेनबाट पनि निष्काशन गरियो । उनी जहाँ पुगे पनि जनताका पक्षमा बोल्न भने चुकिनन् । उनले पाएको यातनाबाट झन् प्रेरित हुँदै युरोपको विभिन्न भागमा पुगेर अमेरिकाको सैन्यविरोधी प्रचारमा लागिन् । यसबिचमा उनले एक सय २३ सभामा ११ ओटा भाषाका माध्यमबाट जनतालाई सचेत पारिन् । उनले सन् १९१६ मा सेनाका लागि पुँजीवादी पक्षद्वारा गरिने शोषणको पर्दाफास गर्न पर्चा छापेर बाँडिन् । जुन सैनिकमाझ लोकप्रिय बनेर विश्वका विभिन्न भाषामा अनुवाद भयो ।
सन् १९१७ को समाजवादी अक्टोबर क्रान्ति हुनुपूर्व उनी रसिया फर्किन् । अस्थायी सरकार युद्धमा लागेर श्रमिकहरूको अवस्था सुधार नगरेपछि उनले सरकारको आलोचना गरिन् । त्यसैकारण, उनलाई सरकारले गिरफ्तार ग¥यो र दुई महिना जेल हाल्यो । सम्पूर्ण जीवन शोषितपीडित जनताका पक्षमा बिताएकी कोलोन्ताइ अन्ततः जेलमै बिरामी परिन् । उनीसँग उपचार गर्ने पैसा थिएन । त्यसबेला धेरै श्रमिकवर्गले उनको दुःखमा आँसु खसाले । केही पैसा जम्मा गरेर धरौटी बुझाएपछि उनी जेलबाट मुक्त भइन् ।
सन् १९२० मा उनले रुसी कम्युनिस्ट पार्टीको केन्द्रीय महिला विभाग प्रमुख भएर काम गर्न थालिन् । श्रमिकवर्गको उत्थान र समानताका लागि अडिग भएर लड्ने उनले सन् १९२६ मा मेक्सिको र सन् १९२७ मा नर्वेमा कूटनीतिज्ञका रूपमा काम गरिन् । उनले सोभियत सङ्घको परराष्ट्र मन्त्रालयको सल्लाहकारसमेत भएर अभियानलाई अगाडि बढाउँदै लगिन् । उनले यसबाहेक थुपै्र पर्चा र उत्पीडनका कथा र उपन्यासहरू पनि लेखेकी छन्, जुन संसारले क्रान्तिमा प्रयोग गरिरह्यो । महिला र पुरुष समान हुन् भनेर लड्ने साहसी उनलाई सन् १९३३ मा ‘अर्डर अफ लेनिन’ बाट सम्मानित गरियो । कामदारवर्गका जनताको मुक्ति नभई आफ्नो मुक्ति नहुने विचार लिएकी उनलाई कूटनीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सन् १९४५ मा ‘रेड ब्यानर अफ लेबर’ बाट सम्मानित गरियो । समाजवादको लक्ष्य प्राप्तिका लागि आजीवन खटिएकी कोलोन्ताइलाई विश्वका धेरै मानिसहरूले सम्मान र श्रद्धा गर्ने गर्छन् । सन् १९५२ मा उनको देहावसान भयो । उनले अक्टोबर क्रान्तिमा पु¥याएको योगदान विश्वमै चर्चा हुने गरेको पाइन्छ ।

साभार : विश्वका क्रान्तिकारी महिलाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *