भर्खरै :

पार्टीको नाउँ समाजवाद राख्दैमा कम्युनिस्ट हुने होइन

पार्टीको नाउँ समाजवाद राख्दैमा कम्युनिस्ट हुने होइन

कम्युनिस्ट पार्टीहरू परिवर्तनकामी हुन्छन्; परिवर्तनका निम्ति लड्छन्† लड्नका निम्ति जुट्छन्† जुटनका निम्ति वातावरण तयार गर्छन् । यसका लागि उनीहरू सिद्धान्त र विचारलाई जोड दिन्छन्; सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्न जनतामाझ पुग्छन्; जनताको दुःख सुख बुझ्छन्† जनताको समस्या बोकेर आर्थिक आन्दोलन गर्छन्; राजनीतिक आन्दोलन या वैचारिक आन्दोलन गर्छन् । सच्चा कम्युनिस्टहरू हल्लाको राजनीति गर्दैनन्; झूट कुरा फलाक्दैनन्; लोभ लालचमा फसाउँदैनन्; अवसरवादी राजनीतिमा हाम फाल्दैनन् ।
राजनीतिमा लाग्दा अनेक चुनौती व्यहोर्नुपर्ने हुन्छ । आइपर्ने चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने हुन्छ । चुनौतीबाट पछि हट्ने, छिटो परिवर्तन भएन भनेर निरास हुने, निरासमै डुबेर राजनीतिमा सक्रिय नहुने काम सच्चा कम्युनिस्ट या राजनीतिक कार्यकर्ताले गर्दैनन् । सिद्धान्त र विचारअनुसार राजनीति गरे ढिलो चाँडो जनताको विश्वास हुन्छ । विश्वास प्राप्त सङ्गठित जनशक्तिले नै समाजमा परिवर्तन ल्याउँछ । तर, त्यस्तो परिवर्तन कुनै दलका नेता हतारिएर, सूचना फुकेर हुने होइन ।
कति नेताहरू आफू कम्युनिस्ट भएको दाबी गर्छन् । तर, कम्युनिस्टको सिद्धान्त र विचार कहिल्यै प्रचार गर्दैनन् । ती नेताहरूमा कम्युनिस्टको कुनै आचरण देखिँदैन । कम्युनिस्ट भएर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको खिल्ली उडाउने† कम्युनिस्ट दलको विरोध गरेर कहिले पुँजीवादी, कहिले राजतन्त्रवादी त कहिले क्षेत्रीय र सङ्कीर्णवादी दलसँग मिलेर निर्वाचनमा लड्ने, अन्य दलसँग मिलेर पुँजीवादी सरकारमा जाने दल र दलका नेताहरू कसरी सच्चा कम्युनिस्ट हुन्छन् ? कम्युनिस्ट पार्टीको नाउँ भजेर, कम्युनिस्ट पार्टीको नाउँमा जनताको मत लिएर सरकारमा पुगेर या सरकारको नेतृत्व गरेर श्रमजीवीवर्गको पक्षमा कुन सरकारले के काम ग¥यो ? रास्वपाले पनि सिद्धान्त र विचारभन्दा हल्ला पिटेर जनताको मत लियो† सरकारको नेतृत्व ग¥यो । तर, श्रमजीवीवर्गको पक्षमा कुनै काम गरेन; उनीहरूको हितमा कुनै ऐन कानुन बनाएन । यसकारण, युवाहरूको नेतृत्वमा बनेको वर्तमान सरकार पनि श्रमजीवीवर्गको पक्षमा छैन भन्ने कुरा थाहा हुन्छ ।
कम्युनिस्ट पार्टीले पुँजीवादी बाटो आत्मसात गर्दैन; विदेशीहरूको पक्षपोषण गर्दैन । कम्युनिस्टहरू विस्तारवाद र साम्राज्यवादविरोधी हुन्छन् । शक्तिको अहङ्कार देखाएर आफ्नो प्रभुत्व जमाउने, हमला गर्ने कार्यको कम्युनिस्ट पार्टीले सदा विरोध गर्छ । सच्चा कम्युनिस्ट पार्टीले कम्युनिस्टको नाउँमा कम्युनिस्टविरोधी गतिविधि गर्ने, कम्युनिस्टको विचारलाई तोडमोड गर्ने, कम्युनिस्ट पार्टीको आन्दोलन अघि बढ्ला भनी डराउने कम्युनिस्टविरोधी चरित्रको विरोध गर्नुपर्छ; जनतामाझ लगेर उदाङ्ग्याउनुपर्छ । कम्युनिस्टको नाउँमा कम्युनिस्टविरोधी गतिविधि गरेकै कारण नेपालको कम्युनिस्ट पार्टीको बदनाम भएको हो; कम्युनिस्ट पार्टीप्रति जनतामा शङ्का उब्जेको हो । कम्युनिस्टप्रति आस्था राख्ने नेता, कार्यकर्ता, शुभचिन्तकहरू गलत बाटोमा लागेका दलको पछि लाग्ने होइन; अर्को बाटो रोज्ने होइन । बरु, गलत नीति र कार्यको विरोध गर्दै अघि बढ्ने हो† अघि बढ्नुपर्छ ।
पार्टीको नाउँ समाजवाद हुँदैमा कुनै दल कम्युनिस्ट हुने होइन । नेपालकै पुँजीवादी पार्टीले पार्टीको उद्देश्यमा समाजवाद झुन्ड्याइएको पाइन्छ । कतिपय मधेसकेन्द्रित क्षेत्रीय पार्टीले पनि जनमत प्राप्त गर्न ‘समाजवाद’ शब्द राखेको पाइन्छ । जनताको विश्वास लिने, मन जित्ने आधार दलको नामभन्दा दलको सिद्धान्त र विचार हो । सिद्धान्त र उद्देश्यअनुसार काम गरेको छ कि छैन भनी हेर्नुपर्छ । देशका बहुमत जनता राजनीतिक, वैचारिक, सैद्धान्तिक रूपले सचेत र सङ्गठित नभएको हुँदा कति मानिस कसैको लहै लहैमा गएको हुन्छ; कति लोभलालचमा फसेको हुन्छ, कतिले कुनै दलको नेताले बोलेको आकर्षक भाषणको आधारमा निर्वाचनमा मत राखेको हुन्छ । जनता सचेत र सङ्गठित नभएसम्म यो क्षण दोहोरिरहनेछ । प्रत्येक वर्षको निर्वाचनको नतिजामा ठुलो हेरफेर आउनुको कारण पनि सबै जनता राजनीतिक रूपले सचेत नहुनुकै परिणाम हो । विगतमा एमाओवादी ठुलो बन्यो । नेका र एमाले पनि ठुलै दल बने । दलहरूले पालैपालो शासन गरे । अहिले रास्वपा ठुलो दल बन्यो । यसको नेतृत्वमा सरकार छ । वर्तमान सरकारले जनताको विश्वास जित्ला कि नजित्ला त्यो हेर्न बाँकी छ ।
रास्वपा पनि श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने दल होइन । यो सरकारले श्रमजीवीवर्गको हितमा ऐन कानुन बनाउँदैन । बनाउने उसको उद्देश्य होइन । यसतर्फ श्रमजीवी जनता सचेत हुनुपर्छ । जुन दल या सरकारले श्रमजीवीवर्गको प्रतिनिधित्व गर्दैन; त्यो दललाई श्रमजीवीवर्गका जनताले मत दिनु हुँदैन । यो कुरा पनि जनताले थाहा पाउनुपर्छ । अतः जनताले हरेक राजनीतिक दलको उद्देश्य थाहा पाउनुपर्छ; उद्देश्यअनुसार काम गरिरहेको छ कि छैन थाहा पाउनुपर्छ । कुनै दलका नेताले ठुलो ठुलो स्वरमा चिच्याउँदैमा, आकर्षक भाषण गर्दैमा जनताले पत्याउने होइन ।
श्रमजीवी जनताको प्रतिनिधित्व कम्युनिस्ट पार्टीले गर्छ† यसमा शङ्का छैन । कम्युनिस्ट पार्टीको दर्शन माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा हो । उक्त दर्शन र विचारधारालाई नेपालको माटो सुहाउँदो अघि बढाउने हो । आफ्नो देश, काल र परिस्थितिअनुसार लागू गर्ने हो । यही दर्शन र सिद्धान्तमा टेकेर रुसमा मजदुर क्रान्ति भयो भने चीनमा किसान क्रान्ति भयो । नेपालमा पनि देशको परिस्थितिअनुसार त्यो सिद्धान्त र विचारलाई लागू गर्छ; लागू गर्न कम्युनिस्ट पार्टी लागिपरेको छ । यसबारे राजनीतिक विश्लेषक, बुद्धिजीवी र सञ्चारकर्मीले सही मूल्याङ्कन गर्नुपर्छ । सही मूल्याङ्कन गरेरै कुन दलले कुन वर्गको प्रतिनिधित्व गरेको छ भन्ने कुरा थाहा पाउनुपर्छ र यसैको आधारमा जनता बुझेर राजनीतिमा लाग्नु जाती हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *