साधारण मानिसको कथा
- आश्विन २३, २०८३
हामी त्यो पुस्ता हौँ जसलाई सपना त धेरै देख्न सिकायो
तर भविष्यलाई लोडिङमै छोडियो
डिग्री हातमा छ, सीभीले भरेका छौ डेस्कटपमा
तर ‘वी रिग्रेट टु इन्फोर्म यू’ ले मात्र
भरिएको छ जिन्दगीको इन्बक्समा
घरकाले सोध्छ, “अब के गर्ने ?” हामी मुस्कुराउँछौँ,
आफ्नै भविष्य थाहा नभएको मान्छेले
अरूलाई के जवाफ देओस् र खोइ
सोसियल मेडियामा सबैको जिन्दगी अगाडि दौडिरहेको छ,
र हामी अरूको सक्सेस हेर्दै
आफ्नो आत्मविश्वास हराइरहेका छौ कतै
हामीलाई विदेश जान रहर छैन
तर यहाँ बस्ने कारण पनि भेटिएन
त्यसैले पासपोर्टमा भीसा मात्र लाग्दैन
घरबाट टाढिने एउटा पुस्ताको मौनता पनि लाग्छ
हामी थाकेका छौँ
तर आराम गर्ने समय छैन
हामी डराएका छौँ
तर कमजोर देखिन मिल्दैन
हामी भित्रबाट चर्किएका छौँ,
बाहिरबाट भने ‘आइम फाइन’ लेख्न अझै जान्दछौँ ।
सायद हामी असफल होइनौँ,
सायद हामी अत्यन्त अस्थिर समयमा
आफूलाई बचाउँदै गरेको पुस्ता हौँ
र यदि आज पनि हामी बिहान उठ्छौँ भने
त्यो केवल बाँच्नु होइन
यो हाम्रो सानो विद्रोह पनि हो
भोलिको लागि अझ राम्रो गर्ने एउटा प्रयास पनि हो ।
Leave a Reply