पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२

भक्तपुर, १७ मङ्सिर । भक्तपुर नगरपालिका १ नं वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताका साथै भक्तपुर महोत्सवको प्रचारार्थ वडास्तरीय भेला भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई मार्गनिर्देशनको रूपमा लिएर भक्तपुर नगरपालिकाले काम गरिरहेको बताउनुभयो । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएको तथा लोप हुन लागेका सम्पदा पुनः निर्माण गरी भक्तपुर नगरलाई सङ्ग्रहालयको रूपमा विकास गर्न नगरपालिका लागिपरेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवमा कला, संस्कृति, चाडपर्व, नेवार जीवनशैलीको प्रदर्शनी र ऐतिहासिक सम्पदाको अवलोकनले आन्तरिक र बाह्य पर्यटकहरूमा स्मरणीय हुने गरी महोत्सवमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले राज्यले लैङ्गिक हिंसाविरुद्ध अभिमुखीकरण कार्यक्रम गरिरहँदा पनि व्यवहारमा भने कम नभएको बताउनुभयो । उहाँले समाजमा जबसम्म पुरुष र महिलाबिचको भेदभाव अन्त्य हुँदैन तबसम्म हिंसाका घटनाहरू दोहोरिने हुँदा घरभित्रबाटै लैङ्गिक हिंसा हटाउन पहल गर्नुपर्छ भन्नुभयो ।
भनपा वडा नं.१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले पार्टीको घोषणापत्रअनुसार नै जनप्रतिनिधिहरूले भक्तपुरको कला, संस्कृति, सम्पदा संरक्षण गर्न निरन्तर लागिपरेको उल्लेख गर्दै भक्तपुर महोत्सवले त्यसलाई थप सहजीकरण गर्ने बताउनुभयो ।
नेमकिपा भनपा १ वडा समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुले नेमकिपाले स्थापनाकालदेखि नै महिलाहरूलाई सङ्गठित र सचेत पार्ने काम गर्दै आएको बताउनुभयो । पार्टीले महिलाहरूलाई शिक्षित गर्नुपर्छ भनी प्रौढ शिक्षा सञ्चालन गरेको स्मरण गर्दै उहाँले अहिले भक्तपुरमा हरेक क्षेत्रमा महिला अगाडि रहेको बताउनुभयो ।
भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले विगतका महोत्सवबाट सिक्दै महोत्सव अवलोकनकर्ताहरूलाई राम्रा व्यवहार गरी सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य शिवप्रसाद श्रेष्ठले पनि बोल्नुुभएको थियो ।
Leave a Reply